समाचार

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

टक्सार (भोजपुर), १४ पुसः पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन् ।

अघिल्लो निर्वाचनको तुलनामा अहिले जिल्लामा मतदाताको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो निर्वाचनसम्म यहाँको कूल मतदाता सङ्ख्या एक लाख २३ हजार तीन सय ७९ जना मात्र थियो । अहिले भने दुई हजार तीन सय ८७ जना मतदाता थप भएका हुन ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिकसँगै जिल्लाको कूल मतदाता एक लाख २५ हजार सात सय ६६ जना कायम भएको जानकारी दिनुभयो । यस अनुसार पुरुषको सङ्ख्या ६५ हजार सात सय ८८ जना र महिला ५९ हजार नौ सय ७७ र एक अन्य मतदाता रहेको उहाँले जानकारी दिनुभयो ।

निर्वाचन कार्यालयको विवरण अनुसार जिल्लाको पालिका अनुसारको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् । स्थानीय तह अनुसार भोजपुर नगरपालिकामा २० हजार एक सय ८९ जना, षडानन्द नगरपालिका– २१ हजार आठ सय ९६, अरुण गाउँपालिका– १२ हजार छ सय ४३, आमचोक गाउँपालिका– १२ हजार चार सय ४४, पौवादुङमा गाउँपालिका– १० हजार छ सय ६३, टेम्केमैयुङ गाउँपालिका– १३ हजार पाँच सय ५७ मतदाता कायम छन् ।

यस्तै रामप्रसाद राई गाउँपालिका– ११ हजार नौ सय, साल्पासिलिछो गाउँपालिका– आठ हजार सात सय २४ र हतुवागढी गाउँपालिका १३ हजार सात सय ५० जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख सुवेदीले बताउनुभयो । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले पनि आवश्यक तयारी गरिरहेको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
–––

Related Articles

Back to top button