समाचार

उपेन्द्र यादव आँफै सरकारमा जाने तयारीमा

काठमाडौं, २२ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव यसपटक आँफै सरकारमा सहभागी हुने तयारीमा छन् । कांग्रेस–माओवादी गठबन्धनको सरकारमा पनि जसपाको सहभागिता थियो । जसपाबाट अशोक राई र वीरेन्द्र महतोले सरकारमा सहभागिता जनाएका थिए । यस्तै, प्रमिला कुमारी पनि राज्यमन्त्रीको जिम्मेवारीमा थिईन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन हुँदै मन्त्रिपरिषद् पूनर्गठन गर्दापनि अध्यक्ष यादवको सत्तारोहणको चर्चा थियो । उनी कुनै विकास मन्त्रालय लिएर सरकारमा जान आँतुर थिए । तर, यो बीचमा कांग्रेस–माओवादीको गठबन्धन टुट्ने अवस्थामा पुग्दा यादव भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर सम्वादमा थिए ।

हिजोमात्रै एमाले, माओवादी, रास्वपा र जसपाको नयाँ गठबन्धन बनेको छ । प्रधानमन्त्री दाहालले हिजै तीन जना मन्त्री नियुक्त गरेका छन् । तर, पहिलो चरणमा सरकारमा मन्त्री पठाउन भने यादव पछि हटे । उनको दलमा यसपटक मन्त्री बन्नेहरुको होडबाजी चलेको छ । पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन नै खलबलिनसक्ने देखेपछि यादव रोकिएको चर्चा छ ।

जसपाले केन्द्र सरकारमा तीन मन्त्रालयमा दाबी गरेको छ । यादवको दाबीमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली दुवै जना सकारात्मक रहेको बुझिएको छ । तर, यादवको अर्को अडान भनेको मधेश प्रदेश सरकारको नेतृत्वमा आफ्नो दलको निरन्तरता छ । यसमा भने प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ दिन सकेका छैनन् । किनकी आफूलाई साथ दिन तयार रहेको सिके राउत नेतृत्वको जनमत पार्टीले पनि मधेश प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ ।

नयाँ गठबन्धनमा बनेको चार सदस्यीय कार्यदलले सबै विषय टुँगो लगाउने भनिएको छ । उपेन्द्र यादव भने अहिले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम फाईनल गर्नमा व्यस्त छन् । आफू नै सरकारमा जाने भएपछि तीन मन्त्रालय पाउँदा दुई जनाको नाम फाईनल गर्न यादवलाई सकस परेको छ । मन्त्री बन्नको लागि यसपटक दीपक कार्की, रञ्जु ठाकुरदेखि प्रदीप यादवसम्मको दौडधुप चलेको छ । सप्तरीका नवलकिशोर साह पनि मन्त्री बन्ने रेसमा छन् । भर्खरै मन्त्रीको जिम्मेवारीबाट बिदा भएका वीरेन्द्र प्रसाद महतोको पनि नाम चर्चामा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button