NRNA Specialसमाचार

सुनिल बाबु खड्काले स्वर्गीय सदीक्षा तामाङको नाममा संकलित १० हजार पाउन्ड किन खान खोजे?

एनआरएनए यूके अब शेष घले प्रमुख संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

लन्डन । गत १९ नोभेम्बर २०२३ का दिन एनआरएनए यूकेले आफ्नो ‘रोडम्याप’ सार्वजनिक गरेको छ । शनिबार अल्डरसटस्थित आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रेम गाहामगरले भावी कार्यक्रमबारे जानकारी दिंदै आफ्ना प्राथमिकता सार्वजनिक गरेका हुन् ।

उनले वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलन दूतावासबाट शुरु गर्ने, अब डा. शेष घले प्रमुख संरक्षक रहेको एनआरएनएसंग आवद्ध हुने, च्यारिटी डिनर गर्ने लगायत जानकारी दिंदै ७० हजार पाउण्ड व्यक्तिका नाममा ट्रान्सफर र एनआरएनए यूकेको आर्थिक घोटालासम्बन्धि मुद्दा खारेज भएको सम्बन्धमा उठेका जिज्ञासाबारे समेत स्पष्टीकरण दिए ।

‘संस्थापन एनआरएनएभित्रको फुट, त्यसका भ्रष्ट र विकृत पदाधिकारी, खस्कंदो साख, संस्था सञ्चालनमा एकलौटी तथा संघलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्ने क्रम बढेपछि एनआरएनए यूकेले माथिका विकृति विसंगतिविरुद्ध लडिरहेको र डा. शेष घलेको प्रमुख संरक्षकत्वमा हुर्किरहेको एनआरएनएमा आवद्ध हुने निर्णय गरेको छ’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘उक्त संस्थाले हाम्रो वंशजको नेपाली नागरिकता निरन्तरता एजेण्डालाई प्रमुख मुद्दा बनाएर बढ्ने भएकाले हामी उहांहरुसंग सहकार्य र आवद्ध हुने निष्कर्षमा पुगेका हौं ।’

अध्यक्ष गाहामगरले बेलायतमा पढ्न आएकी २१ वर्षीया सदीक्षा तामाङको निधनपछि उनको अन्त्येष्टीका लागि उठाइएको १० हजार ५४५ पाउन्ड ३६ पेन्स (करिब १७ लाख रुपैयां) चन्दा उपाध्यक्ष (वर्खास्त) सुनिलबाबु खड्काले कब्जा गरेको समेत आरोप लगाए ।

‘गत ७ जुलाईमा संकलित चन्दा सार्वजनिक गरेपछि सुनिलबाबु खड्काले ‘त्यो पैसा हाम्रो हो’ भनेर बैंकलाई निवेदन दिए । अहिले एचएसबीसी बैंकले विवादका कारण खाता ‘सस्पेन्ड’ गरिदिएको छ’, गाहामगरले भने, ‘मैले बैंकलाई १४ पटक इमेल गरेपनि पीडितको हातमा सहयोग पुगेको छैन् । एकजना दिवंगत मान्छेको नाममा पीडितलाई उठाइएको चन्दा पनि जानीजानी रोकिदिएर सुनिलले ठूलो पाप गरे । अब हामी कानूनी उपचार खोज्नुबाहेक विकल्प रहेन ।’

गत ४ अगष्ट २०२१ मा नयां कार्यसमिति निर्वाचित भएपछि च्यारिटीको ट्रष्टी अध्यक्ष प्रेम गाहामगर थिए । तर, सुनिलबाबु खड्काले नक्कली कागजात पेश गरि च्यारिटी कमिसनमा आफ्नो नाम ट्रष्टी चिअरमेन बनाइ आफूलाई च्यारिटीको ट्रष्टी अध्यक्ष र महासचिव नम्रता घले गुरुङलाई ट्रष्टीबाट हटाएपछि बैंकले खाता निलम्बन गरेको गाहामगरको भनाइ छ ।

उनले एनआरएनए यूकेको च्यारिटी पैसा अहिले पदविहीन सुनिललाई रोक्न कसले दियो भन्ने प्रश्न गर्दै खड्काले एनआरएनए यूकेलाई च्यारिटी संस्थामा दर्ता गर्दा ठेगाना आफ्नै घरको दिएको पनि बताए ।

अध्यक्ष गाहामगरले वंशजका नेपाली नागरिकलाई सधैंकालागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन हुनुपर्छ भनेर एनआरएनए यूकेले अभियान थालिसकेको र यसलाई थप सशक्त बनाउने पनि उद्घोष गरेका छन् । आन्दोलन लन्डनस्थित नेपाली दूतावासबाट शुरु गर्ने उनको चेतावनी छ ।

‘गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीहरुका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन हामीले सशक्त आन्दोलन गर्नुपर्ने आवश्यकता देखिएको छ । हाम्रो यो आन्दोलन अब विश्वभरका नेपालीहरुको सहकार्यमा अगाडि बढ्नेछ । यसमा पत्रकारमित्रहरुबाट साथ सहयोग रहनेछ भन्ने अपेक्षा गरेका छौं’, उनले भने ।

गोर्खा सैनिक तथा उनीहरुको परिवार र विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको अधिकार रक्षाका लागि नेपाल नागरिकता ऐन, २०६३ को दफा १० संशोधन गरि सन् १९४७ को त्रिपक्षीय सन्धिलाई सम्मान गर्न र गोर्खा सैनिक तथा वंशजका नेपाली नागरिकहरुको नागरिकता निरन्तरता हुने गरि कानून संशोधन गर्न एनआरएनए यूकेले नेपाल सरकारसमक्ष विगतदेखि नै जोडदार माग राख्दै आएको छ ।

अध्यक्ष गाहामगरले एनआरएनए यूकेको ७० हजार पाउण्ड निजी खातामा ट्रान्सफर भएको सम्बन्धमा पनि प्रष्टिकरण दिएका छन् । गत फेब्रुअरी ६ तारिख सम्पन्न भएको कार्यसमिति बैठकले ‘माइन्यूटिङ’ गरि उक्त रकम कार्यालय सञ्चालन र अन्य खर्चका लागि कोषाध्यक्ष र सह–कोषाध्यक्षको नाममा ३५/३५ हजार पाउण्डका दरले सारिएको उनले स्वीकारे ।

सुनिलबाबु खेमाका चतुरहरुले सदीक्षाको चन्दा रोकेजस्तै अहिले अध्यक्ष प्रेम गाहामगर, चम्पा थापामगर र नम्रता घले सिग्नेचरीमा रहेको बैंक खाता समेत रोक्न दुष्प्रयास गर्छन् भनेर आफूहरु चनाखो भएको उनको भनाइ छ ।

‘मेरो नेतृत्वको कार्यसमितिले पारदर्शी रुपमा संस्थाको पैसा खर्च गरेको विश्वास दिलाउन चाहन्छु । तपाईं समस्त पञ्जीकृत सदस्यहरु यसप्रति ढुक्क हुनुहोला । हाम्रो कार्यसमिति यसबारे जहां गएर पनि जवाफ दिन तयार छ । विधान अनुसार यसको आर्थिक प्रतिवेदन गएको साधारणसभामा दिइएको थियो भने आउंदो वर्ष २७ जुलाई २०२४ मा पनि दिइनेछ’, विज्ञप्तिमा उल्लेख छ ।


अध्यक्ष गाहामगरले गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को आर्थिक अनियमितता सम्बन्धी मुद्दामा मेलमिलाप भएको पनि जनाए ।

एनआरएनए यूकेको अघिल्लो कार्यसमितिमा आर्थिक अनियमितता भएको भन्दै तत्कालिन चार उपाध्यक्ष प्रेमगाहा मगर, रामचन्द्र पोखरेल, मोहन कार्की र नारायण कंडेल तथा पूर्व उपाध्यक्ष शेरबहादुर सुनार एवं इंग्ल्याण्ड राज्य परिषदका उपाध्यक्ष लालबहादुर गुरुङ (एलबीजेड) ले कानूनी प्रक्रिया अगाडि बढाएकामा गत महिना यो मुद्दा खारेज गरिएको गाहामगरले जनाए । तर, यो केस मिलाएको क्रेडिट पनि सुनिलबाबु खड्काले लिएको भन्दै गाहामगरले आक्रोश पोखे ।

‘करिब दुई वर्षअघि एनआरएनए यूके पूर्व अध्यक्ष पुनम गुरुङलाई विपक्षी बनाइ यूकेको डार्टफोर्ड काउन्टी कोर्टमा मुद्दा दर्ता हुंदा समाज विभाजित भइरहेको थियो । यही मुद्दामा टेकेर एनआरएनए यूकेका तत्कालिन (वर्खास्त) उपाध्यक्ष सुनिलबाबु खड्काले समाज छिन्नभिन्न पार्न खोजे । उनले फोहोरी राजनीति गरेर निवर्तमान अध्यक्ष पुनम गुरुङ र पूर्व अध्यक्ष योग कुमार फगामीदेखि सोझासाझा गोर्खा परिवारलाई दिनुसम्म दुःख दिए । खड्काले ‘म केस मिलाइदिन्छु’ भनेर पूर्व अध्यक्ष योगकुमार फगामीसंग १० हजार पाउण्डसम्म मागे अनि फगामीलाई आफ्नो रेष्टुरेन्टमा बोलाएर जबरजस्ती हस्ताक्षर गर्न लगाउनेसम्मको हर्कत गरे’, विज्ञप्तिमा भनिएको छ, ‘यही परिस्थितिमा वादीका तर्फबाट म एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले डार्टफोर्ड काउन्टी कोर्टमा इमेलमार्फत निवेदन गरेपछि मुद्दा खारेज भयो । सुनिलबाबु खड्काले ‘म केस मिलाइदिन्छु’ भनेर पूर्व अध्यक्ष योगकुमार फगामीसँग १० हजार पाउन्ड मागेपछि मैले मेरो सोलिसिटरलाई तीनपटक इमेल गरेर बेलायतको कानून विपरित बार्गेनिङ भएको हुँदा यो मुद्दा अगाडि नलैजान दवाव दिएपछि यो केश साम्य भएको हो ।’

प्रेस विज्ञप्ति जस्ताको तस्तैः

पत्रकार साथीहरु,

एनआरएनए यूकेको निमन्त्रणा स्वीकार गरि आज प्रेस मिटमा सहभागी हुनुभएकोमा हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौं । विगतदेखि नै यहांहरुबाट निरन्तर प्राप्त सहयोगप्रति हामी आभारी समेत छौं ।

हामी बुंदागत रुपमा आफ्नो धारणा सार्वजनिक गर्न चाहन्छौं । यस सम्बन्धमा तपाईंहरुलाई कुनै जिज्ञासा भए वाचनपछि अध्यक्षज्यू लगायत पदाधिकारीलाई प्रश्न राख्न सक्नुहुन्छ ।

१. स्वर्गीय सदीक्षा तामाङको नाममा संकलित १० हजार ५४५ पाउन्ड ३६ पेन्स चन्दा खान खोजिएको सम्बन्धमा

पत्रकार मित्रहरु,

म गत वर्षको एउटा ह्दय बिदारक घट्ना स्मरण गर्न चाहन्छु । गत वर्ष २६ डिसेम्बर २०२२ मा पढ्न बेलायत आएकी २१ वर्षीया सदीक्षा तामाङले अकालमै ज्यान गुमाउनु परयो । निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै गत १० मेमा सदीक्षाको निधन भयो ।

वि.सं. २०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदीक्षाको असामयिक निधनले परिवारमा ठूलो बज्रपात परयो । आर्थिक अवस्था एकदम न्यून भएकाले सदीक्षाका परिवारले शव नेपाल नै लगिदिन अपिल गर्नुभयो । अन्त्येष्टीको काम अति झन्झटिलो र खर्चिलो पनि छ ।

सदीक्षाका बाबु कृष्ण थोकर तामाङले एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरसमक्ष शव नेपाल पठाई दिनका लागि अपिल गरेपछि गाहामगरले सदीक्षाको मृत्यु भएको दिनबाटै चन्दा संकलन अभियान शुरु गर्नुभयो।

अध्यक्ष गाहामगरको पहलपछि स्वतस्फूर्त रुपमा १७८ जना व्यक्ति र १० वटा संस्थाले कुल १० हजार पाउन्ड, ५४५.३६ (करिब १७ लाख रुपैयां) चन्दा प्रदान गर्नुभयो ।

जब चन्दा संकलन भयो, सुनिलबाबु खड्काले त्यो पैसा मेरो हो भनि बैंकमा कम्प्लेन गरेपछि बैंकले अहिले त्यो खाता ’सस्पेन्ड’ गरेको छ ।

खड्काको यो रवैयाले छोरीको मृत्युवरणपछि विक्षिप्त तामाङ परिवारजनमा अर्को विडम्बनापूर्ण दुःख थपियो । एनआरएनए यूकेका तत्कालिन (वर्खास्त) उपाध्यक्ष सुनिलबाबु खड्काले सदीक्षाको नाममा उठाइएको चन्दा आफैंले खान अहिले बैंक खाता नै ’सस्पेन्ड’ गराएको स्पष्ट छ ।

गत ७ जुलाईमा संकलित चन्दा सार्वजनिक गरेपछि सुनिलबाबु खड्काले ‘त्यो पैसा हाम्रो हो’ भनेर बैंकलाई निवेदन दिए । अहिले एचएसबीसी बैंकले च्यारिटी पैसा प्रयोग गर्न नमिल्ने गरि खाता ‘सस्पेन्ड’ गरिदिएको छ ।

१ जनवरी २०२२ मा च्यारिटीमा दर्ता भएको एनआरएनए यूके (च्यारिटी नम्बर–११९६०१३) को ४ अगष्ट २०२१ मा नयां कार्यसमिति निर्वाचित भएपछि च्यारिटीको ट्रष्टी प्रेम गाहामगर हुनुहुन्थ्यो । तर, एनआरएनए यूकेबाट वर्खास्त भएका उपाध्यक्ष सुनिलबाबु खड्काले नक्कली कागजात पेश गरि च्यारिटी कमिसनमा आफ्नो नाम ट्रष्टी चिअरमेन बनाएर बेलायत जस्तो सभ्य र विकसित देशमा जातीय विभेद गरि एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरलाई च्यारिटीको ट्रष्टी अध्यक्ष र महासचिव नम्रता घले गुरुङलाई ट्रष्टीबाट हटाए ।

बैंकको अहिले पनि सिग्नेचरीमा अध्यक्ष प्रेम गाहामगर, चम्पा थापामगर र नम्रता घले छन्। सुनिलबाबु खड्काले संस्थाको प्रोपर्टी एनआरएनए यूके च्यारिटी आफ्नो घरमा दर्ता गरेका छन् ।

सन् २०२२ मा पुनम गुरुङको नेतृत्वमा च्यारिटी विभागको संयोजक थिए सुनिल । पुनम नेतृत्वको कार्यसमितिले च्यारिटी दर्ता गर्न खड्कालाई जिम्मा दिएको हो तर उनले संस्थाको लागि नभइ आफ्नो स्वार्थ पुरा गर्न आफ्नै घरमा दर्ता गरे ।

एकजना दिवंगत मान्छेको नाममा पीडितलाई उठाइएको चन्दा पनि जानीजानी रोकिदिएर सुनिलले ठूलो पाप गरेको हाम्रो बुझाइ छ । उनमा एउटा सामान्य मानवीय चेत समेत रहेनछ ।

अध्यक्ष प्रेम गाहामगरले बैंकलाई १४ पटक इमेल गरेपनि पीडितको हातमा चन्दा पुगेको छैन् । यो रोकिनुमा सुनिलबाबु खड्काको ठूलो भूमिका छ ।

हामी खड्काको यस अमानवीय, निन्दनीय र गैर कानूनी कार्यविरुद्ध कानूनी बाटो रोज्न तयार छौं । तर, एकजना मरेको मान्छेका लागि उठाइएको पैसामा उनको फोहोरी राजनीति र लोभलालच हामीलाई मात्र होइन, समस्त चन्दादातालाई समेत स्वीकार्य छैन् ।

अहिले कुनै पदमा नभएका खड्काले प्रेम गाहामगर नेतृत्वमा संघको बैंक सिग्नेचरीमा रहेका अध्यक्ष गाहामगर, चम्पा थापामगर र नम्रता घलेलाई फर्काइदिएमा २४ घण्टाभित्र पैसा रिलिज हुन्छ । हामी अदालत जानुअघि सुनिलबाबुलाई विवेक र करुणा दर्शाउन अन्तिमपटक आग्रह गर्छौं ।

एनआरएनए यूकेको च्यारिटी पैसा अहिले पदविहीन सुनिललाई रोक्न कसले दियो ? च्यारिटी संस्थाको ठेगाना आफ्नो घरमा राख्ने अधिकार उनलाई कसले दियो ? अहिलेसम्म पीडितको हातमा रकम नपरेकाले चन्दादाताहरु सबै मिलेर सुनिलको रेष्टुरेन्ट नै घेर्न जानुपर्ने बेला आएको छ । शान्तिपूर्ण प्रदर्शनको नेतृत्व अब एनआरएनए यूकेले गर्नेछ ।

नत्र ६ अगष्ट २०२२ को वार्षिक साधारणसभामा पब्लिकले दिएको म्याण्डेट बमोजिम हामी कानूनी प्रक्रियामा जानुको विकल्प रहन्न ।

२. वंशजको नेपाली नागरिकता सम्बन्धमा

यहांहरुलाई थाहै छ, गैरआवासीय नेपाली नागरिकता दिने प्रावधानसहितको नियमावली नेपाल राजपत्रमा प्रकाशित भएसंगै गैर आवासीय नेपाली नागरिकता दिन थालिएको छ । कुल आचार्य जस्ता नक्कली भुटानी शरणार्थीहरुले माग्दै आएको उक्त नागरिकतामा गैर आवासीय नेपालीले सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार पाउने भनिएको छ । तर, विदेश बस्ने सम्पूर्ण नेपालीहरुले खोजेको यस्तो नागरिकता पटक्कै होइन ।

वंशजका नेपाली नागरिकलाई सधैंकालागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन हुनुपर्छ भनेर एनआरएनए यूकेले अभियान थालिसकेको छ ।

गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीहरुका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन हामीले सशक्त आन्दोलन गर्नुपर्ने आवश्यकता देखिएको छ । हाम्रो यो आन्दोलन अब विश्वभरका नेपालीहरुको सहकार्यमा अगाडि बढ्नेछ । यसमा पत्रकारमित्रहरुबाट साथ सहयोग रहनेछ भन्ने अपेक्षा गरेका छौं।

गोर्खा सैनिक तथा उनीहरुको परिवार र विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको अधिकार रक्षाका लागि नेपाल नागरिकता ऐन, २०६३ को दफा १० संशोधन गरि सन् १९४७ को त्रिपक्षीय सन्धिलाई सम्मान गर्न र गोर्खा सैनिक तथा वंशजका नेपाली नागरिकहरुको नागरिकता निरन्तरता हुने गरि कानून संशोधन गर्न एनआरएनए यूकेले नेपाल सरकारसमक्ष विगतदेखि नै जोडदार माग राख्दै आएको छ ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० ले ‘नेपालको कुनै नागरिकले आफू खुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन भनि किटान गरेको छ।’ नेपालको संविधान २०७२ ले विदेशस्थित नेपालीहरुलाई दोहोरो नागरिकता दिन सकिने कुरा उल्लेख गरेको सन्दर्भमा यो दफा १० संविधानसंग मेल खांदैन । दोहोरो नागरिकताको सिद्धान्त अंगीकार गर्ने विश्वका अन्य मुलुकहरुले पनि आफ्ना नागरिकले स्वेच्छाले नागरिकता नत्यागेसम्म उनीहरुको नागरिकता स्वत खारेज गर्दैनन् । समयको परिवर्तन र देशको अवस्थालाई समय सापेक्ष कानूनले मात्र सम्बोधन गर्ने भएकाले नागरिकता ऐन, २०६३ को दफा १० संशोधन गरि नागरिकता निरन्तरता दिन हाम्रो माग छ ।

३. डा. शेष घले संरक्षक रहेको एनआरएनएसंग आवद्धता सम्बन्धमा

यहांहरुलाई अवगत नै छ, गत १० औं महाधिवेशनपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) छिन्नभिन्न अवस्थामा पुगेको छ । नक्कली भुटानी शरणार्थी कुल आचार्यको द्धैध चरित्रले एनआरएनए त फुट्यो नै, संस्था र तिनका नेतालाई दिल र ज्यान दिएर लागेका हामीजस्ता सयौं अभियन्ताहरुलाई पनि धोका भयो । विविध जटिल परिस्थितिपछि एनआरएनए पूर्व अध्यक्ष तथा संरक्षक डा. शेष घलेले बेग्लै महाधिवेशन गरेर विनोद कुंवरलाई अध्यक्षको जिम्मेवारी सुम्पनु भयो । कुंवर नेतृत्वको विश्व महाधिवेशन आउंदो मार्चमा काठमाडौंमा हुन गइरहेको छ ।

संस्थापन एनआरएनएभित्रको फुट, त्यसका भ्रष्ट र विकृत पदाधिकारी, खस्कंदो साख, संस्था सञ्चालनमा एकलौटी तथा संघलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्ने क्रम बढेपछि एनआरएनए यूकेले माथिका विकृति विसंगतिविरुद्ध लडिरहेको र डा. शेष घलेको प्रमुख संरक्षकत्वमा हुर्किरहेको एनआरएनएमा आवद्ध हुने निर्णय गरेको छ । उक्त संस्थाले हाम्रो वंशजको नेपाली नागरिकता निरन्तरता एजेण्डालाई प्रमुख मुद्दा बनाएर बढ्ने भएकाले हामी उहांहरुसंग सहकार्य र आवद्ध हुने निष्कर्षमा पुगेका हौं ।

४. एनआरएनए यूकेको ७० हजार पाउण्ड ट्रान्सफर सम्बन्धमा

पत्रकार साथीहरु,

अहिले सामाजिक सञ्जालमा केही व्यक्तिले एनआरएनए यूकेको ७० हजार पाउण्ड व्यक्तिगत खातामा ट्रान्सफर भएको भन्दै प्रश्न उठाएका छन् । गत फेब्रुअरी ६ तारिख सम्पन्न भएको कार्यसमिति बैठकले ‘माइन्यूटिङ’ गरि उक्त रकम कोषाध्यक्ष र सह–कोषाध्यक्षको नाममा ३५/३५ हजार पाउण्डका दरले सारिएको हो ।

सुनिलबाबु खेमाका चतुरहरुले सदीक्षाको चन्दा रोकेजस्तै अहिले अध्यक्ष प्रेम गाहामगर, चम्पा थापामगर र नम्रता घले सिग्नेचरीमा रहेको बैंक खाता समेत रोक्न दुष्प्रयास गर्छन् भनेर हामी चनाखो भएकै हो । विधान अनुसार यसको आर्थिक प्रतिवेदन गएको साधारणसभामा दिइएको थियो भने आउंदो वर्ष २७ जुलाई २०२४ मा पनि दिइनेछ ।

अहिले अल्डरसटमा भएको कार्यालयको भाडा मासिक ११०० छ । बिजुली, इन्टरनेटको बिल तिर्नु परयो ।

२० हजार ७०७ सदस्यहरुको पोर्टल बनाउंदा र चुनाव गर्दा धेरै रकम खर्च भएको छ । हामीले गत मे २१ तारिख भएको साधारणसभामा पञ्जीकृत सदस्यहसमक्ष आर्थिक प्रतिवेदन बुझाइसकेका छौं । अपडेटसहित सम्पूर्ण आय व्यव प्रतिवेदन आउने साधारणसभामा पनि प्रस्तुत गरिनेछ ।

मेरो नेतृत्वको कार्यसमितिले पारदर्शी रुपमा संस्थाको पैसा खर्च गरेको विश्वास दिलाउन चाहन्छु । तपाईं समस्त पञ्जीकृत सदस्यहरु यसप्रति ढुक्क हुनुहोला । हाम्रो कार्यसमिति यसबारे जहां गएर पनि जवाफ दिन तयार छ ।

५. गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को आर्थिक अनियमितता सम्बन्धी मुद्दामा मेलमिलापबारे

पत्रकार साथीहरु,

एउटा सकारात्मक प्रसंग पनि यहां उठाउन खोजेका छौं । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को आर्थिक अनियमितता सम्बन्धी मुद्दामा मेलमिलाप भएको छ ।

एनआरएनए यूकेको अघिल्लो कार्यसमितिमा आर्थिक अनियमितता भएको भन्दै तत्कालिन चार उपाध्यक्षहरुमध्ये म एकजना आफैं प्रेमगाहा मगर, रामचन्द्र पोखरेल, मोहन कार्की र नारायण कंडेल तथा पूर्व उपाध्यक्ष शेरबहादुर सुनार एवं इंग्ल्याण्ड राज्य परिषदका उपाध्यक्ष लालबहादुर गुरुङ (एलबीजेड) ले कानूनी प्रक्रिया अगाडि बढाएकामा गत महिना यो मुद्दा खारेज गरिएको छ ।

करिब दुई वर्षअघि एनआरएनए यूके पूर्व अध्यक्ष पुनम गुरुङलाई विपक्षी बनाइ यूकेको डार्टफोर्ड काउन्टी कोर्टमा मुद्दा दर्ता हुंदा समाज विभाजित भइरहेको थियो । यही मुद्दामा टेकेर एनआरएनए यूकेका तत्कालिन (वर्खास्त) उपाध्यक्ष सुनिलबाबु खड्काले समाज छिन्नभिन्न पार्न खोजे । उनले फोहोरी राजनीति गरेर निवर्तमान अध्यक्ष पुनम गुरुङ र पूर्व अध्यक्ष योग कुमार फगामीदेखि सोझासाझा गोर्खा परिवारलाई दिनुसम्म दुःख दिए । खड्काले ’म केस मिलाइदिन्छु’ भनेर पूर्व अध्यक्ष योगकुमार फगामीसंग १० हजार पाउण्डसम्म मागे अनि फगामीलाई आफ्नो रेष्टुरेन्टमा बोलाएर जबरजस्ती हस्ताक्षर गर्न लगाउनेसम्मको हर्कत गरे ।

यही परिस्थितिमा वादीका तर्फबाट म एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले डार्टफोर्ड काउन्टी कोर्टमा इमेलमार्फत निवेदन गरेपछि मुद्दा खारेज भयो । सुनिलबाबु खड्काले ‘म केस मिलाइदिन्छु’ भनेर पूर्व अध्यक्ष योगकुमार फगामीसँग १० हजार पाउन्ड मागेपछि मैले मेरो सोलिसिटरलाई तीन पटक इमेल गरेर बेलायतको कानून विपरित बार्गेनिङ भएको हुँदा यो मुद्दा अगाडि नलैजान दवाव दिएपछि यो केश साम्य भएको हो ।

मैले निवर्तमान अध्यक्ष पुनम गुरुङ र पूर्व अध्यक्ष योगकुमार फगामीलाई कानूनविदसँग भएका सम्पूर्ण इमेलहरु फरवार्ड पनि गरिसकेको छु ।

तर कुनै सरोकार नै नभएका सुनिलबाबु खड्काले केश मैले मिलाएको भन्दै प्रचारबाजी गरेर ‘क्रेडिट’ लिन खोजे । वास्तवमा खड्काजस्ता नाम र पदका भोकाहरुले यो समाज वर्वाद पारेकाले अब तपाईं हामी उनीहरुलाई निमिट्यान्न पार्न सचेत हुन पनि जरुरी भएको छ।

६. एनआरएनए यूकेको भावी कार्यक्रम

एनआरएनए यूकेका प्रारम्भिक दिनहरु विभिन्न चुनौति सामना गर्दै बितेकोबारे सबै जानकार हुनुहुन्छ । केही महिना त हामी कार्यालयमा काटिएको बिजुली र पानी सप्लाई मिलाउन नै अल्झियौं । तर, यस बीचमा पनि हामीले वंशजको नेपाली नागरिकता निरन्तरता वहसलाई कायमै राख्यौं । म आफैं दुई पटक नेपाल गएर प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रीहरु, राष्ट्रिय सभा अध्यक्ष, नेतागण लगायतलाई भेटेर वंशजको नेपाली नागरिकताबारे ज्ञापन बुझाएं । हाम्रो अबको प्राथमिकता नै यसमा रहनेछ । एनआरएनए यूकेले यस मुद्दालाई थप चर्काउने छ । हामी विभिन्न शहरमा गएर अन्तरक्रिया गर्नेछौं । विश्वभरका नेपालीको जनमत जुटाउन हाम्रो पहल रहनेछ । अब हामीले वंशजको नेपाली नागरिकता अभियान नेपाली दूतावास लन्डनबाट शुरु गर्नेछौं ।

एनआरएनए यूके दशैं तिहार कार्यक्रम गर्न पनि सफल भयो । अब आउंदो अप्रिल २०२४ मा हामीले एउटा वृहत च्यारिटी डिनर गर्ने तयारी गरेका छौं । यसमा तपाईंहरुको सहयोग अपेक्षा गरिन्छ। हामी बोलेर भन्दा व्यवहारमा काम गरेर देखाउने जभात छौं । एनआरएनए यूकेको रोडम्याप क्रमशः सार्वजनिक गर्दै लगिनेछ ।

धन्यवाद

विनित

प्रेम गाहामगर
अध्यक्ष,
एनआरएनए यूके

प्रमिला लाबुंग राई
महासचिब
एनआरएनए यूके
१८ नोभेम्बर, २०२३

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button