समाचार
Trending

याक्थुङ र मैथिली भाषा लागू गराउन प्रदेशसमक्ष माग

संघीय लिम्बुवान प्रान्तीय मञ्च र याक्थुङ चुम्लुङले बुझायो पत्र

१४ जुलाई, विराटनगर । याक्थुङ(लिम्बु) र मैथिली भाषालाई प्रदेश एकको सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गराउन प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइएको छ । अन्य प्रदेशमा भाषा लागू भएसँगै प्रदेश एकलाई समेत दुई भाषालाई तत्कालै कामकाजी भाषा बनाउन सराेकारवालाले दबाब दिएको हाे ।

मङ्गलबार अरुणपूर्वका नाै वटै जिल्लामा संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चले ज्ञापनपत्र बुझाएको छ । प्रत्येक जिल्लाकाे प्रमुख जिल्ला अधिकारीमार्फत प्रदेश एकका मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र बुझाएको मञ्च  अध्यक्ष कुमार लिङ्देन ‘मिराक्’ले जनाए ।

ज्ञापन पत्रमा नेपालको संविधानको धारा २८७ को उपधारा ७ मा रहेको ‘प्रदेशले प्रदेश भित्रका भाषाहरूलाई सरकारी कामकाजको भाषा बनाउन सक्ने ‘ प्रावधान कार्यन्वयन गर्न गराउनको लागि नेपाल सरकारले २०७३ भदौ २३ गते भाषा आयोग गठन गरेको स्मरण गराइएको छ । उक्त भाषा आयोगले प्रदेश एकमा लिम्बु र मैथिलीलाई प्रदेश सरकारले सरकारी कामकाजको रुपमा प्रयोग गर्नु भनी किटान सिफारिससहित २०७८ भदौ २१ गते तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवालाई प्रतिवेदन बुझाएको हुनाले त्यसलाई प्रयोग गर्न माग गरिएको छ ।

भाषा आयोगको सिफारिस अनुसार प्रदेश तीन र चारले विधेयक पारित गरिसकेका छन् । सिफारिसप्रति प्रदेश एककाे सरकार उदासीन रहेको प्रति घोर आपत्ति जनाउँदै कामकाजी भाषाको रुपमा लागू गरियोस् भन्ने उल्लेख छ । यसका लागि संसदमा दुई महिनाभित्र विधेयक दर्ता गर्न माग गरिएको छ । ज्ञापनपत्रमा अध्यक्ष कुमार लिङदेन ‘मिराक, महासचिव भूपेन्द्र सुन्दर लाओती, सहसचिव एवम् मातृभाषा प्रमुख हाङसागर केरुङ सिक्साम्बाकाे हस्ताक्षर रहेको छ ।

सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चको पत्र ।

पार्टीले ताप्लेजुङमा सचिव उमेश लिम्बु, नवीन पोमु, मुक्साम लाबुङ, रिता मादेन लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई बुझाएका थिए । झापामा जिल्ला अध्यक्ष राजा आङथुपाे ‘निस्सेहाङ’, सुनसरीमा जिल्ला उपाध्यक्ष राज बहादुर लिम्बु, तेह्रथुममा कावा अध्यक्ष देवी बहादुर सम्बाहाङ्फे, माेरङमा कावा अध्यक्ष राम खुदाङकाे नेतृत्वमा ज्ञापनपत्र बुझाइएको थियोे ।

याक्थुङ चुम्लुङले भेट्याे प्रदेश प्रमुख र मुख्य सचिव

यसैगरी, कामकाजको भाषाका रूपमा याक्थुङ (लिम्बु) भाषा अबिलम्ब लागू गराउन भन्दै याक्थुङ चुम्लुङ (याचु) ले प्रदेश प्रमुख परशुराम खापुङसँग भेटघाट गरेको छ ।

याचुकी महासचिव इन्दिरा मेन्याङ्वाेले प्रदेश एकमा सरकारी कामकाजी भाषाको रुपमा याक्थुङ/लिम्बु भाषालाई चाँडो लागू गर्न गराउनका लागि मङ्गलबार प्रदेश प्रमुख खापुङलाई भेटेर ज्ञापनपत्र बुझाएको बताइन् ।

याक्थुङ चुम्लुङकाे ज्ञापनपत्र ।

उनले साेही दिन एक प्रदेश एकाका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यलयाका मुख्य सचिव चन्द्रकला पौडेललाई पनि केन्द्रीय समितिको तर्फबाट ज्ञापनपत्र बुझाएकाे सञ्जालमार्फत पुष्टि गरिन् । ज्ञापनपत्रमा अध्यक्ष दिलसिङ मेन्याङ्वाे र महासचिव इन्दिरा मेन्याङ्वाेकाे हस्ताक्षर रहेको छ ।

उनले भेटकाे सिलसिलामा मुख्य सचिव पौडेलले प्रदेशको नीति तथा कार्यक्रममा समेत आइसकेको हुँदा  केही गृहकार्यपश्चात् चाँडै लागू गर्न प्रतिबद्धता समेत व्यक्त गरेको जनाइन् ।

Related Articles

Back to top button