लेख

देउसी, भैलोको ईतिहास – टेक बहादुर थापा ‘बुद्धप्रिया’ 

देउसी, भैलो प्रत्यक बर्ष तीन फरक -फरक तिथि, मितिमा खेलिन्छ |पहिलो देउसी, भैलो कार्तिक कृष्ण पक्ष अर्थात गाई तिहारको दिनबाट खेलिन्छ |दोश्रो भैलो कर्णाली खसान क्षेत्रमा मङ्सिरे पुर्णिमाका दिन खेलिन्छ जसलाई सानो भैलि भन्ने चलन छ, भने अर्को भैलो कर्णाली खसान क्षेत्र र सुदुरपश्चिम खसानका केही क्षेत्रमा पुस महिनाको औंसीदेखि पुर्णिमासम्म भैली खेलिन्छ जसलाई पुसे भैलो अर्थात ठुलि भैलो भनिन्छ भने कुनै ठाउमा पुसे औंसीदेखि पञ्चमीसम्म ५ दिनमात्र भैलो खेलिन्छ । १६ वर्षमुनिकाले खेल्ने भैलि लाई सानी भैली र वुढापाकाहरुले खेलिने ठुली भैलीलाई छाँट भैली भन्ने गरिन्छ । महिलाहरुले फरिया लगाउने, आँचला हाल्ने, पिठियौमा उचला लगाउने लठ्ठी हातमा लिएर र पुरुषले दौरा, शुरुवाल, भोटो लगाउने र हातमा पाखु काट्ने गर्दछन |महिलाहरुले भैलो लामो लयमा मागल गाए जस्तो गरि गाउने गर्छन भने पुरुषहरुले छोटो तरिकाले भैलो गाउने चलनछ । मंसिर पूर्णिमा र पुसे औंसीको दिनदेखि पाँच दिनसम्म खेलिएको भैलोबाट उठेको चामल, पैसा, खाने कुरा आदि जम्मा गरेर त्यसको एक दुई दिन पछि नजिकैको चउर वा सार्वजनिक जग्गामा गएर सामुहिक भोज आयोजना गरिन्छ, जसलाई पाठेभात भनिन्छ। पुसे भैलोको बेला विवाह गरेर गएकी छोरीलाई माइतीमा बोलाएर भैलो खुवाएर पठाउने चलन रहेको मुगू बामगाउँकी बैसाखी बोहराले बताइन् । उनका अनुसार माइतीमा आएका छोरीलाई रातो चामलमा मासको दाल मिसाएर खिचडी बनाएर खुवाउने परम्परा छ | मंसिर पुसमा खेलिने भैलो अहिले भने कार्तिक कृष्ण पक्ष अर्थात गाई तिहारको दिन देखि पनि खेलिन्छ |देउसी -भैलो नेपालबाहेक अन्य देशमा खेल्ने प्रचलन नभएको हुँदा यो विशुद्ध खस र मगरहरुको संस्कृति हो। भैलोको उत्पत्तिस्थल जुम्ला राज्य नै हो।


तिहार वा त्योहार

तिहार भन्नाले कुनै निश्चित तिथि, मिती वा कुनै समयमा मनाइने पर्वलाई बुझाउछ | जस्तै, चैतेदशै,बडादशै,उभौली,उधौली, ल्होसार, पिठा पर्व,आदि | तिहार शब्द, हिन्दीको ‘त्योहार’ शब्द अपभ्रम्स भएर तिहार भएको हो भन्ने गरिन्छ | नेपाली भाषा खस बोलीबाट बनेको भन्ने गरिन्छ तर खस बोली वा सिन्जाली खस भाषामा तिहार भन्ने शब्द छैन त्यसैले तिहार शब्द हिन्दीबाट नै आएको देखिन्छ | बहुसास्कृतिक मुलुकमा हाम्रा यती धेरै पर्वहरु हुँदाहुँदै पनि कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म मनाइने चाँढलाई मात्रा तिहार भन्दछौ र बाँकी तिहारलाई चाँहि पर्व वा उत्सब भन्ने गर्दै आएका छौ तर तिहार भन्नु र पर्व भन्नु उस्तै नै हो | अत तिहार वा पर्व मात्र भन्नाले कुन चाँढ हो भनेर बुझिदैन त्यसैले काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार, र भाई तिहार भनिन्छ, भरातको उत्तराखन्णमा पनि हरेला त्योहार भन्ने गरिन्छ अर्थात पहिला पर्वको नाम र त्यसपछि तिहार जोडिन्छ | त्यसैकारण तिहार मात्र भन्नाले अर्थ पूर्ण हुँदैन | काग तिहार, भाई तिहार भने पनि पाँच दिन मनाउने तिहारलाई एकै शब्दले बोलाउने उपयुक्त शब्द प्रयोग नभएको हुँनाले तिहार मात्र भनेर कार्त्तिक कृष्ण पक्ष त्रयोदशी देखि कार्त्तिक शुक्ल पक्षको द्वितीयासम्मलाई बुझ्दछौ |यसरी कार्त्तिक कृष्ण पक्ष त्रयोदशी देखि कार्त्तिक शुक्ल पक्षको द्वितीयासम्मलाई तिहार मात्र भनेर बुझ्नु भन्दा कुनै उचित नाम दिनु उत्तम हो | लिम्बु जातीले वलिहाङ तङ्नाम ( वलिराज तिहार ) भनेर नाम दिए पनि राज्यले यसलाई स्वामित्व ग्रहण गरेको छैन | उल्टै राज्यले जवर्जस्ती ‘यम पञ्चक’ तिहार बनाउन खोजेको देखिन्छ तर कार्त्तिक कृष्ण पक्ष तिहारमा जोडिएको यमराजको मिथक शास्त्रीय होइन बरु वलिराजको मिथक चाहिँ सहि देखिन्छ|त्यसो हुनाले कार्त्तिक कृष्ण पक्षको तिहारसँग वलिराजको नाम जोडेर ‘वलिराज तिहार’ अथवा ‘वलिराज तङ्नाम’ भन्दा सर्बस्विकार्य हुने देखिन्छ |

वलीराज वा वलिहाङ

देउसी, भैलो भट्याउँदा वलिराज नामक राजाको नाम पुकारिन्छ | ‘बलिराजले सिन्जामा चलाया भैलो चलन’ भन्ने कथन पनि भैलो खेल्दा आउछ |हामी त्यसै आएका होइनौ वलिराजले पठाएको भन्ने चलन पनि छ |वास्तवमा बलिराज वा बलिहाङ को होलान भन्ने प्रश्न पनि छ | वलीको अर्थ बलवान, शक्तिसाली भन्ने हुन्छ | वली नाम गरेका राजा नेपाल र भारत दुबै देशमा रहेको इतिहास छ |भारतमा वलिराज नामका राजा मध्ये हिरण्यकशिपुका पनाति, प्रह्लादका नाति र विरोचनका पुत्र त्रेतायुगका बलिराजा एक हुन भने चाहमानस नड्डुला राजवंशका राजा हाल राजस्थान राज्यको पाली जिल्लामा पर्ने नाडोलका राजा थिए अर्का वलिराज | नेपालमा जुम्लाका कल्यालवंशी १४औं शताब्दीको अन्त्यतिर सन् १३९८ आसपासका बलिराज रावल (शाही ) र अर्का वली अर्थात वलिहाङ पाल्पा बल्ढेङगढी क्षेत्रका मगर राजा थिए, उनी पनि इस्बी सम्बत् १४औ शतब्दी तिरका मानिन्छन |उल्लेखित वलिराजहरु मध्ये विरोचनका पुत्रसँग दिपावली, जुम्लाका खस राजा वलिराज रावल(शाही)र पाल्पाका वलिहाङ रानामगरसँग देउसी,भैलो जोडिएको भेटिन्छ |

वलिराज र दिपावली

कार्तिक कृष्णपक्ष औशीका दिन नेपाल र भारतमा दिपावली गर्ने गरिन्छ | नेपालमा उक्त दिन गाई पुज्ने र बेलुका लक्ष्मी पुज्ने र घर-घरमा दिपावली गर्ने चलनछ |भारतमा यस दिनलाई दिपावली तिहार भन्ने गरिन्छ भने नेपालमा गाई तिहार भन्ने चलनछ |दिपावाली तिहारसँग बिरोचनका पुत्र वलिराजको सम्बन्ध जोडिएको देखिन्छ |हिन्दू ग्रन्थहरुमा जे जसरी उल्लेख गरिएको भएता पनि बिरोचनका पुत्र वलिराज दक्षिण भारत केरालातिरका अबैदिक राजा भएको देखिन्छ किनकी हिन्दू शास्त्र बिष्णुपुराणमा बलिराजालाई दैत्यराज, असरदेव भनिएको हुँदा उनी अवश्य अनार्य वा गैरवैदिक जाति थिए भन्ने पुष्टि हुन्छ |उनै वलिराज र बैदिकहरु बिच युद्ध हुँदा वलिराजलाई कब्जागरी बन्दी बनाएका थिए तर प्रत्ययक वर्ष कार्तिक औशीका दिन उनलाई जेल मुक्त गर्दिने र उक्त दिन जम्बुदिपभरी वलिराजको शासन चल्ने सर्त थियो |त्यही सर्त अनुसार कार्तिक औशीका दिन जेलमुक्त भएका प्रजावत्सल्य राजा वलिराजको स्वागतमा दीपोत्सव गरिएको उल्लेख विश्व प्रसिद् फ़ारसी विद्वान लेखक अबु रेहान मुहम्मद बिन अहमद अल-बयरुनीले सन् १०३१ तिर लेखिएको ‘अल्बेरुनिका भारत यात्रा’तहकिक ए हिन्द नामक पुस्तकमा पाईन्छ |दिप र वली शब्द सन्धि भएर दिपावली भएको अर्थात वलीराजको स्वागतमा बालिएको दिप भन्ने गरिन्छ|महावाली पातललोकबाट प्रिथ्बी लोकमा आउने दिनको उपलक्षमा भरातको केरलामा ‘ओणम’ नामक तिहार मनाइछ |ओणमलाई मलयालम भाषामा थिरुवोणम पनि भनिन्छ,यो तिहार मलयालम पात्रो अनुसार वर्षको पहिलो महिनामा पर्दछ, यो महिना प्रायगरी अगस्ट-सेप्टेम्बरमा पर्दछ ओणम तिहार दश दिनको हुन्छ, यस पर्बमा पनि फुलको रंगोली बनाइछ जसलाई ‘पूक्क्लम’ भनिन्छ |त्यसैगरी महावलिको प्रतिमा बनाइछ र दशौदिनका दिन दीपोत्सव तथा दानी राजा वलिराजको सम्मान तथा सम्झनामा गरीब तथा अनाथहरुलाई दान दिने र नाचगान गरेर थिरुवोणम मनाइछ |ओणमका अलाबा भारतमा ‘अहोइ’ अष्टमी पनि कार्तिक महिना दिपावलीको ठीक एक हप्ता अगाडि दीपोत्सव तथा आफन्त र वालबच्चाहरुलाई शुभकामना दिएर मनाउने गरिन्छ |
दीपको अर्थ प्रकाश,ज्ञान,बिद्या,आलोक,उज्यालो ,ज्योति इत्यादि हुन्छ |यो उज्यालोको प्रतिक दिप बाल्ने परम्परा अनादि परम्परा हो |यस्तो परप्परा सबै खाले सभ्यतामा देखिन्छ |मष्टधर्म परम्परामा दियो नै मष्ट ( शक्ती ) को प्रतिक मानिन्छ |बौद्ध परम्परामा पनि दीपोत्सव गर्ने परम्परा चलिआएको पाईन्छ र बौद्धहरुबाट नै सिकेर अरु सभ्यताले पनि दीपोत्सव गर्न थालेको भन्ने बौद्धहरुको विश्वास रहेको देखिन्छ|

दिपावली र बौद्ध

गौतम बुद्धले सम्यकसम्बुद्ध ज्ञान प्राप्त गरी प्रथम पटक कपिलबस्तु नगर पाल्नु भएको अबसरमा नगरवासीले भगवान बुद्धको कपिलबस्तु आगमनलाई स्वागत गर्न नगरभरी दिप जलाएर नगरलाई झिलीमिली बनाइ दीपोत्सव गरेको र त्यस्तै दीपोत्सव सम्राट अशोकले बुद्धधर्ममा शरणागत भै सकेपछि ८४ हजार चैत्य, बिहार, पाटि, पौवा , तलाउ तथा सरोवरहरु निर्माण गरी त्यसैदिन दिपहरु प्रज्जोलित गरि ” दीप दानोत्सब “मनाएको गौरवमय बौद्ध इतिहास पाइन्छ भनी बौद्ध ईतिहासका जानकार योगराज दाहालले लेख्नु भएकोछ |यही बौद्ध दीपोत्सव परम्परा नै अहिलेको दिपावली गर्ने सँस्क्रित हो भन्ने भनाइ बौद्धहरुमा पाईन्छ |कार्तिक औशीका दिन दिपावलीका साथै भैलो खेल्ने पनि परम्परा छ,भैलो खेल्ने परम्पार चाँही जुम्लाका वलिराज रावल र पाल्पाका राजा वलिहाङ रानामगरसँग जोडिएको देखिन्छ |

भैलो र वलिराज

भैलोको अर्थ भलो होस् भन्ने हो | भैलो खेल्दा भट्याउनेले घरबेटीलाई सम्बोधन गरेर लामो कारुणिक गाथासङै भैलो अर्थात भलो होस् भनिन्छ । भैलो खेल्ने परम्पराको थालनि जुम्लाका कल्यालवंशी राजा वलिराज रावल( शाही )का पालाबाट शुरु भएको हो |वलिराजले शुरु गरेको भैलोलाई पुषे भैलो भनिन्छ | यो भैलो हिउद याममा सबै फसलहरु थन्क्याइ सके पछि फुर्सदमा मनाइने पर्ब हो जसलाई खस सँस्क्रितीको महत्वपूर्ण पर्व मानिन्छ | पुषे भैलो खसान क्षेत्रमा कहिलेबाट किन खेल्न थालियो भन्ने बारेमा लेखक तथा अध्ययता चन्द्रप्रकाश बाँनिया भन्नुहुन्छ- ” भैलो खेल्दा स्मरण गरिने बलिराजा वैदिक साहित्यका पात्र अर्थात पौराणिक बलि होइनन । वैदिक समाजमा भैलो देउसी खेल्ने, गाउने चलन देखिदैन |खसराजा अभयमल्लको कालपछी खस साम्राज्यको पतन भयो । खासगरेर डोटी र तिब्बतले विद्रोह गरेपछी साम्राज्यको विखण्डन प्रारम्भ भयो । बलिराज नामक दरवारीया ज्वाईले राज्यको बागडोर हातमा लिएर खस साम्राज्य जोगाउने प्रयत्न गरे । त्यही सन्दर्भमा गाउँ, गाउँ र बस्ती वस्तीहरुमा राज्यले सांस्कृतिक टोली खटाएर जनतामा राष्ट्रियभाव जगाउने र अर्थ संकलन गर्ने अभियानको रुपमा भैलो खेलिन थालेको इतिहास छ ।” भाषाशास्त्री तथा ‘खस जातिको ईतिहास’का लेखक बालकृष्ण पोखरेल भैलो खेल्ने चलनका बारेमा उनी फरक धारणा राख्दछन, उनी भन्छन -“बलिराजको शासनकाल शुरू हुँदा मङ्गोल योद्धा तैमूरले भारतमा विध्वंस मच्चाइरहेका थिए । तैमूर–इ–लङ्ग र ‘तैमूर द लेम’ अर्थात् लङ्गडो तैमूर भनिने ती लडाकू भारत विजय गर्ने उद्देश्यले हाल उज्वेकिस्तानमा पर्ने समरकन्दबाट आएका र दिल्लीलाई ध्वस्त बनाएर उत्तरतिर लागेका थिए। तैमूरले गरेको आक्रमणलाई जुम्लाको खस राज्य समेतले सामना गरेको र त्यसकै लागि खर्च उठाउन वलिराजले भैलो खेल्न आफ्ना पैकलाहरु ( सेना )लाई घर- घरमा पुगेर रितु जनाउनु, मोहर पैसा माग्नु, अन्न माग्नु भनि पठाएकाथिए |” त्यसैबेला देखि भैलो खेल्ने परम्पराको शुरुवात भएको बताइन्छ |” तैमुरले दिल्ली आक्रमण गरेको समय सन् १३९८ तिर मानिन्छ र वलिराजले जुम्लामा शासन गरेको समय पनि सन् १३९८ कै आसपास नै भएकाले पोख्रेलको भनाइ सहि हुनसक्ने देखिन्छ |भैलो जुम्लाबाट नै शुरु भएको मान्न सकिने अर्को आधार हो, भैलो भट्याउदा ऐतिहासिक सिंजा साम्राज्यको सम्पूर्ण नालिबेली आउछ |सानी भैलोको ठिक १५ दिनपछि औँसीको दिनबाट पाँच दिनसम्म कर्णाली क्षेत्रमा ठूली भैलो खेलिन्छ। यसमा भैलोको उत्पत्तिदेखि पुग्ने ठाउँसम्मको वर्णन गरिएको हुन्छ। जसका शब्दहरुले उतिबेलाको शक्तिशाली सिंजा साम्रज्यको यथार्तता झल्काउँछ, त्यसैले भैलो पर्वको सम्बन्ध खस साम्राज्यको विरासतसँग जोडिएको देखिन्छ |

कसरी पुगाड्दछन पुषे भैलो

काँ उब्जी आया- भैलो
काँ निब्जी आया – भैलो
काँ र जन्म्यो कविलास- भैलो
भैलो चलन, कसले चलाया – भैलो
बलिराजले सिन्जामा चलाया भैलो चलन – भैलो
रिथिथिति थाम्नलाई चलाया भैलो चलन भैलो
बलिराजले भैलेरा मानसरोवर पठाया- भैलो
सरबर नुहाई कविलास घुम्या भैलो- भैलो
कविलास उब्जी आय जुम्लामा भैलो – भैलो
कविलासको भैलोले क्या कै खान्की पायो-भैलो
कबिलासको भैलोले तामा खान्की पाया -भैलो
कबिलासको भैलो सरोबर आया – भैलो
सरोबरको भैलोले क्या खान्की पाया – भैलो
सरोबरको भैलोले राज खान्की पाया – भैलो
सरोबरबाट तक्लाखार आयो भैलो – भैलो
ऐंर देखि भैलो ताक्लाखार आयो – भैलो
ताक्लाखार भैलाले क्या को खान्की पायो ? – भैलो
ताक्लाखार भैलोले सुन खान्की पायो – भैलो
पैकला सबका खान्की खुलाउन – भैलो
सिँजामा आया भैलो चलन – भैलो
सिँजामा वलिराजले भैलो ल्याँ – भैलो
ताक्लाखर उठ्या भैलो सहर गुम पुग्यो- भैलो
सहर गुमका भैलाले जिम्मुवाली पायो – भैलो
सहर गुमदैै उठ्या भैलो जुम्ला चौधान पुग्यो- भैलो
चौधान चौरका भैलाले क्यौ क्यौ खानगी पायो- भैलो
चौधान चौरका भैलाले अड्डा खानगी पायो- भैलो
एर बाट सिँजामा भैलो आया – भैलो
सिँजामा भैलोले क्या खान्की पाया – भैलो
सिँजामा भैलोले फुलमाला पाया – भैलो
पैकला सबका खान्की खुलाउन- भैलो
सिँजामा आया भैलो चलन – भैलो
कइल्या खेल्न्या सिजा को भैलो
आइपुनीका वा औसी वार- भैलो
कोही खेल्न्या पुषमा कोही मंसिरमा – भैलो
ऋतु जनाउन आएहुँ हामी – भैलो
पैकला सबका खान्की खुलाउन- भैलो
सिँजामा आया भैलो चलन -भैलो
हे !औसी बार दर बुध बार- भैलो
दमारे खोेली बाँसमा जोली- भैलो
बाँसयभित्र आग्याँन ताप्या- भौलो
पिपुल ढाल्या पिपल पाती- भैलो
रायकी छाती राय जमाउनु- भैलो
बाखरी खानु यो बाखरी- भैलो
कसु सुहाल भैलो सुहाला-भैलो
भैलेरा आया ऋतु जनाया-भैलो
ऋतुकी मार्‍या हाम्री खेल्नी चाया-भैलो
चार्‍या पैचार्‍या ढाल मौरु ढाल-भैलो
काट पुरबाल भेडी जङ्गल-भैलो
भैलाका रात्री चौथमी छेडो-भैलो
पच्यामी घोडो घोडा घोडाउली-भैलो
छेडो छेडाउली भैलो गयो दाङ-भैलो
अरु क्यै नमाग मोहर पैसा माग-भैलो
ताई तल जाउला छ्याई छ्याई गनौला-भैलो
कस्ले दिया भनौला- भैलो
जिम्मुवालले दिया भनौला-भैलो
नामै चलाउला नामैकी माया-भैलो
हाम्री खेल्नी चार्‍या चार्‍या पैचास्या-भैलो
दुवाजन जेलिया पाथाजन भरिया-भैलो
पिप्ल जन गाज्या लाख बर्ष बाँच्या-भैलो
घार मौरा आइवाज-भैलो
ल्हास घोडा शिर ताज-भैलो
अन्न भैलो दिन्यालाई अनिकाल नपरोस्-भैलो
मोहर पैसा दिन्यालाई दाल्दले डेरा नगरोस्-भैलो !

निष्कर्ष:

वलिराजले सिँजामा शुरुवात गरेको भैलो नै सुर्खेत, दाङ हुँदै पाल्पा पुगेको र त्यही जुम्ली भैलोलाई मगर राजा वलिहाङले देशभरि फैलाएको हुनसक्ने देखिन्छ | जुम्लाको वलिराजको शासन भन्दा पछिल्लो शासन मानिन्छ वलिहाङ राना मगरको शासन | खस, ठकुरी र मगर बिच सास्कृतिक निकटता रहेको इटालीका इतिहासकार प्रोफेसर जोसेफ टुचीले बिक्रम सम्बत् २०१३ सालतिर डोल्पा-तिब्रिकोट, जुम्ला, दुल्लु, सुर्खेतको अन्वेषण यात्रा गरेर आफ्नो अवलोकनको वर्णन ‘प्रलिमिनरी रिपोर्ट अन टू साइन्टिफिक एक्सपिडिसन इन नेपाल सन् १९५६’ मा उल्लेख गरेका छन |उनले तिब्रिकोट हालको डोल्पा तिर खस, मगर र ठकुरीको बसोबास रहेको र तिनीहरुले एउटै देवतालाई सामुहिकरुपमा पुज्ने गरेको उक्त प्रलिमिनरी रिपोर्टमा लेखेकाछन |हुन पनि ठकुरिका थर हराए मगर बस्तिमा जानू भन्ने गरिन्छ |खसको बिबाहमा मगर जन्ती, मगरको बिहेमा खस जन्ती भन्ने आँखार पनि छ |डोरबहादुर विष्टको’पिपुल्स अफ नेपाल ‘ नामक पुस्तकमा तनहुँ, स्याङ्जा, पाल्पा लमजुंग तिरका ठकुरीको वंशज मगर हो भनिएको छ। शाह वंशको कुल पुजा स्याङ्जाको आलमदेवीको मन्दिर, गोर्खाको मनाकामाना मन्दिर, तनहुँको ढोरवाराही मन्दिरको पूजारीहरु पनि मगर नै हुने परम्परा छ|जुम्ला क्षेत्रबाट भैलो खेल्ने चलनको उत्पती भए पनि देउसी खेल्ने चलन भने लुम्बिनी, राप्ती र भेरीका मगर बस्तीहरुबाट विकाश भएको मानिन्छ किनभने जुम्ला तिर देउसी खेल्ने प्रचलन धेरै पछी मात्र पुगेको स्थानिय वासीहरु बताउछन | भैलो पुगाड्दा (भट्याउँदा) सिंजा साम्राज्य भित्रका अधिकतम स्थानका नामहरु उल्लेख हुनु र जुम्लामा वलिराजले कबिलास ( कैलाश) बाट भैलो ल्याए भन्नुले भैलो खसान क्षेत्रको सस्क्रिती हो भन्नेकुरामा दुइमत हुनसक्दैन | यहाँका कतिपय स्थानमा मंसिर पूर्णिमालाई भैलो पूर्णिमा भन्ने चलन रहेको छ |

#लेखक, खस अन्तरराष्ट्रिय समन्वय समाजका केन्द्रिय सम्योजक हुन |

Related Articles

Leave a Reply

Back to top button