अन्तर्राष्ट्रिय

अफगानिस्तानको उत्तरपूर्वी पहाडमा विमान दुर्घटना

काबुल, ७ माघ (रासस/एएफपी) :अफगानिस्तानको उत्तरपूर्वी पहाडी क्षेत्रमा एउटा विमान दुर्घटनाग्रस्त भएको प्रान्तीय सरकारका अधिकारीले आइतबार बताएका छन् ।

चीन, ताजिकिस्तान र पाकिस्तानसँग सीमा जोडिएको बादख्शान प्रान्तको हिमाली क्षेत्रमा विमान दुर्घटना भएको तर दुर्घटना भएको स्थान भने खुल्न नसकेको बताइएको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले रूसी उड्डयन प्राधिकरणका अनुसार अफगानिस्थानमा दुर्घटनाग्रस्त विमान रूसको हो र विमानमा छ जना रहेका छन् । दुर्घटनापछि उनीहरूको अवस्थाबारे समाचार तयार पार्दासम्म जानकारी प्राप्त हुन सकेको छैन ।

प्रान्तीय सूचना विभागका प्रमुख जबीहुल्लाह अमिरीले एएफपीसँग भन्नुभयो, विमान दुर्घटनाबारे बिहान स्थानीय प्रत्यक्षदर्शीले हामीलाई खबर गरेका थिए ।”

“हिमाली क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ तर स्थान भने खुल्न सकेको छैन । हामीले खोजीका लागि टोली पठाएका छौँ । उनीहरूबाट थप जानकारी प्राप्त हुनसकेको छैन ।”

घटनास्थल दुर्गम पहाडी क्षेत्रमा रहेको भन्ने प्रत्यक्षदर्शीको प्रारम्भिक जानकारी आएकोले उद्धार टोली घटनास्थल पुगेर सूचना पठाउन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।

अफगानिस्तानको सबैभन्दा अग्लो ७,४९२ मिटर (२४,५८० फिट) कोे हिमाल नोशाक रहेको हिन्दूकुश पर्वत शृङ्खला वादख्शानमा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button