साहित्य सिर्जना

झ्याक्ने, लौ मलाई थुन ! –कौशल चेम्जोङ

थुन्दै थुन्दै आयौ चार्वाकलाई
सुदाशहरुलाई हिरो बनायौ !
असुर त्यो बरुणलाई सुर बनायौ
इन्द्र त्यो सुरलाई असुर बनायौ
तेत्तीसलाई घरि कोटी र
कोटीलाई घरी तेत्तीस बनायौं
बिचबिचमा शुक्राचार्य जन्मेपछि
अर्कालाई आफ्नो बनायौं
आफ्नोलाई अर्कै बनायौं
किनभने रंग र अनुहार भन्दा
जीउडाल र स्वार्थ
माथि उठ्नै नसकेपछि
इतिहास भन्छ, विश्वास गर्ने तिमीलाई
हनुमान बनायौं ।
तिम्रो निष्ठामा अन्ध उसलाई
बुढी औंला कटायौं
तिम्रै शीष्य उसलाई
वर्वरिक बनायौं ।
खुसीलाई कोशी बनायौं ।
मलाई ढुङ्गा, माटोको भर भए पनि
जीवनको लागि नभै नहुने जल भए पनि
यतिखेर जीवन्त पहिचान चाहिएको छ भन्दा
मलाई चार्वाक बनायौं ?!
खबरदार !
चार्वाकहरुले संसार जित्दैछन्
चीन, जापान, अमेरिका, युरोप हेर ।
यस्तो बेला मलाई
तिमी झ्याक्नेले थुन्ने ?
कवितादेखि तर्सिएर
हत्केलाले सूर्य छेक्ने ।
छेकिदैंन सूर्य अब
हुँदैन आकाश भैरव अब ।
ककसलाई थुन्ने ?
देश छुट्याउने माग थिएन हाम्रो
सबैको पहिचान खुल्ने आस थियो हाम्रो
तिमीले एकोहोरो गर्यो
म भित्ता हुँ सर्न सक्दिन भन्दा
तिमी मलाई जेल ठोक्ने ?
ए झ्याक्ने, तिमी मलाई जेल ठोक्ने ?

निज निवास २०७९।१२।०

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button