साहित्य सिर्जनास्थानीय

विमल गुरुङ कृति पुरस्कारका लागि २१ कृति छनाेट

राष्ट्रिय कविता महाेत्सवका लागि दश कविताहरू छानिए

विजयपुर, २९ सेप्टेम्बर । कवि विमल गुरुङ स्मृति पुस्तकालयले प्रदान गर्ने विमल गुरुङ कृति पुरस्कारका २१ कृति छनाेट गरिएको छ । त्यस्तै, राष्ट्रिय कविता महाेत्सवका लागि उत्कृष्ट दश कविताहरू छानिएका छन् ।

धरान बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कृति पुरस्कार र कविता प्रतियोगिताबारे जानकारी गराइएको थियोे । विमल गुरुङ कृति पुरस्कार २०७९ का लागि प्राप्त १ सय १ कृतिमध्येबाट पुस्तकालयले उत्कृष्ट २१ कृति सार्वजनिक गरेको हो । यसैगरी राष्ट्रिय कविता महोत्सव २०८० का लागि प्राप्त ७४ कवितामध्ये उत्कृष्ट १० कविता र कवि छनोट गरिएको पुस्तकालयका संरक्षक एवम् अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।

राष्ट्रिय कविता प्रतियोगिताका लागि अविनाश भट्टराईको ‘आवाजहरु ! ओ आवाजहरु’, अजित वियोगीको ‘म त्यही छोडिए छु’, एलिसा एकलासको ‘वेवारिसे प्रश्न’, छविना लुङ्गेली मगरको ‘मजदुर’, निशान निष्कर्षको ‘स्वतन्त्रताको एउटा अध्याय’, भीम विरही राईको ‘पहिला म मरू या मेरो देश?’, मौलश्री लिम्बूको ‘बुख्याँचा’, वीरेन्द्र ग्यावा तामाङको ‘इजार’, सन्ध्या सिङ्जाङ्गो सुब्बाको ‘अन्तिम लडाइँ’ र भोजराज श्रेष्ठको ‘यो साइनो कस्तो?’ कविता उत्कृष्ट १० छनोट भएका हुन् ।


२१ कृतिबाट छनोट भएको एउटा कृतिलाई २ लाख रुपैयाँ राशीको ‘विमल गुरुङ कृति पुरस्कार २०७९’ प्रदान गरिने छ । यस्तै उत्कृष्ट १० कविताबाट छनोट भएका उत्कृष्ट तीन कवितालाई प्रथम, दोस्रो, तेस्रो गरी क्रमशः २१ हजार रुपैयाँ, १८ हजार रुपैयाँ र १७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने छ ।

यस अघि काङमाङ नरेशको कृति ‘तेप्लायु’ ले ‘विमल गुरुङ कृति पुरस्कार २०७८’ प्राप्त गरेको थियो । यो संस्करणको पुरस्कार आगामी कार्तिक १९ गते आयोजना गरिने ५२औ कवि विमल गुरुङ जन्मजयन्ती तथा ३२ औं राष्ट्रिय कविता महोत्सवमा प्रदान गरिने छ ।

यसैगरी, साेही अवसरमा कालेबुङ भारतका कवि विशाल नाल्वाेलाई ‘विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान २०८०’ प्रदान गरिने छ । हाल पुस्तकालयमा कृति पुरस्कारका लागि प्राप्त १ सय १ कृतिबाहेक नेपाली, अङ्ग्रेजी, हिन्दीलगायत स्थानीय भाषाभाषीका ९७ हजार १ सय २४ थान पुस्तकहरु रहेका छन् ।

 

Related Articles

Back to top button