आदिवासी

मैथिलीमा पनि समाचार सेवा सञ्चालन गर्नुपर्नेमा जोड

राजविराज (सप्तरी), ३ फागुन । राष्ट्रिय समाचार समिति(रासस)को ६३ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

रासस जिल्ला कार्यालयले आयोजना गरेको ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयक अन्तरक्रियामा मधेस प्रदेशका प्रदेशसभा सदस्य एवं अर्थ तथा योजना समितिका संयोजक सतिशकुमार सिंहले सरकारी मिडियाले पनि भ्रष्टचारविरुद्ध निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने उल्लेख गर्दै उहाँले समयमा पारिश्रमिक नपाउँदा पत्रकार पेशाबाटै पालयन हुनुपरेकामा चिन्ता व्यक्त गर्नुभयो ।

रासस मधेस प्रदेशका प्रमुख टिकाराम सुनारले जनतालाई सुसूचित गर्न रासस प्रतिबद्ध रहेको बताउनुभयो । मधेसका विकास–निर्माणका समाचारलाई राससले प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्षा श्रवणकुमार देवले राससले सङ्घीयता कार्यान्वयनमा राससले गरेको कामको सराहना गर्दै अवधी भाषामा समाचार सम्प्रेषण हुनु सुखद भएको बताउनुभयो । उहाँले मैथिलीमा पनि राससले समाचार सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारिता पेसा संवेदनशील भएकाले जिम्मेवारीपूर्वक पत्रकारले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

प्रेस स्वतन्त्रता सैनानी एवं वरिष्ठ पत्रकार बैद्यनाथ झाले पत्रकरिता जिम्मेवार हुनुपर्ने बताउदै ‘राससले पहिले सरकारको मात्र समाचार दिन्थ्यो तर अहिले युग परिर्वतन भएसँगै जनताका समाचार पनि लेख्न’ थालेको छ भन्नुभयो ।

मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेशकुमार झाले राससले अवधी भाषामा समाचार सम्प्रेषण सुरु गरेकोले मैथिलीमा पनि समाचार सेवा सुरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मैथिली भाषामा समाचार सम्प्रेष गर्न परिष्दले सहयोग गन बताउनुभयो ।

पत्रकार महासङ्घका सल्लाहकार मनोहर पोखरेलले विपक्षीका समाचारलाई पनि राससले प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो । राससका पूर्वप्रतिनिधि राजेशकुमार झाले पनि राससबाट मैथिली समाचार सेवा प्रारम्भ भएमा मधेसका ग्राहक त्यसबाट लाभान्वित हुने बताउनुभयो ।

रासस जिल्ला कार्यालय सप्तरीका प्रमुख शम्भुप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुधा देव, प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने, जनता समाजवादी पार्टी(जसपा) नेपालका जिल्ला अध्यक्ष केदारप्रसाद यादव, जिल्ला समाचारदाता अरुणकुमार यादव,नानीमैया कटवाल, लहान कार्यालय प्रमुख सुदीप राउत, समाचारदाता लोकेन्द्रप्रसाद यादवलगायत उपस्थित हुनुहुन्थ्यो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button