समाचार

याक्थुङ मुन्धुम हेन्जिरी हेम्बाेङ्गे थाेबाे कार्यशाला सम्पन्न

३० जनवरी, सुक्खिम । याक्थुङ लिम्बु समुदायका बाल पुस्तालाई सँस्कार, सँस्कृति र मुन्धुमी ज्ञान उद्देश्यले सञ्चालित याक्थुङ मुन्धुम हेन्जिरी हेम्बाेङ्गे थाेबाे कार्यशाला सम्पन्न भएको छ । सुक्खिमकाे आसाम लिङ्जेमा १० दिने कार्यशाला बिहीबार सम्पन्न भएको हाे ।

कार्यशाला सहभागी बालबालिकाहरू ।

पाक्याेङ जिल्लाकाे आसाम लिङ्जेस्थित याक्थुङ युमा माङहिमकाे आयोजनामा गत जनवरी २० तारिखबाट दश दिने कार्यशाला सुरु भएको थियोे । ‘युवा दिमागहरूलाई अनुशासन, भक्ति र बुद्धि सिक्न मद्दत गर्दछ। तसर्थ हामीले याक्थुङ मुन्धुम हेन्जिरी हेम्बोङ्गे थोबो/याक्थुङ मुन्धुम बाल विकास सुरु गरेका थियौँ,’ संयाेजक सन्ध्या सुब्बा सिङ्जाङ्गाेले बताइन्, ‘हाम्रा युवा दिमागलाई याक्थुङ मुन्धुम, रीतिरिवाज, याक्थुङ पा:न, परम्परा र संस्कृतिको आधारभूत ज्ञान सिकाउने उद्देश्यले कार्यशाला राखेका थियौं । तिनीहरूले आफ्नो जरा र पहिचान बारे जान्न आवश्यक छ । तसर्थ, याक्थुङ मुन्धुम र यसको महत्वप्रति केही परिवर्तन ल्याउन र प्रेम र समर्पणलाई प्रज्वलित गर्ने पहिलो प्रयास हाे ।’

कार्यशालामा विद्यार्थीहरू ।

याक्थुङ लिम्बु समुदायका नयाँ पुस्तालाई लक्षित गरी सुरु गरिएको यो १० दिने कार्यशाला पहिलो पटक हो । कार्यशालामा वीर बहादुर सिङ्जाङ्गाे र इङ्सा याेङहाङ रहेका थिए । सिङ्जाङ्गाे असाम लिंग्जे सिनियर सेकेण्डरी स्कुलका लिम्बु भाषा शिक्षक हुन् । त्यस्तै, याेङहाङ राजनीतिशास्त्रमा एमए अध्ययनरत युवा लेखक र अभियन्ता हुन् । स्राेत व्यक्तिहरूले याक्थुङ मुन्धुम, पेलिफाङ्साम, माङहिम, के:(च्याब्रुङ), माङ्गेन्ना अनुष्ठान, तुम्याहाङ प्रणाली आदिबारे प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रममा सहभागी, प्रशिक्षक र संयाेजक ।

साना बालबालिकाहरूकाे जाडो बिदाको सदुपयोग गर्न कार्यशाला आयोजना भएको थियोे । हरेक बिहान ९ बजेदेखि एक घण्टा याक्थुङ समुदायका विविध विषयमा २६ जना सहभागीहरूले जानकारी प्राप्त गरेकाे सहयोगी बिन्दु सुब्बाले जनाइन् । समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र साथै प्रशिक्षकद्वय र सहयोगीलाई अभिनन्दन पत्र हस्तान्तरण गरिएको थियोे ।

Related Articles

Back to top button