समाचार

याक्थुङ सिरिजङ्गा लिपिकाे युनिकाेड तयार

१२ डिसेम्बर, विजयपुर । याक्थुङ भाषा र सिरिजङ्गा लिपिकाे प्रयोगलाई प्रविधिमैत्री बनाउने उद्देश्यले याक्थुङ सिरिजङ्गा लिपिकाे युनिकोड सार्वजनिक भएको छ । युमा साम्याे महासभा नेपालकाे अगुवाइमा युनिकोड तयार भएको हाे ।

याक्थुङ सिरिजङ्गा युनिकोडका विकासकर्ता विरान इजम लिम्बु ।

कम्प्युटर इञ्जिनियर विरान इजम लिम्बु नेतृत्वको टिमले निर्माण गरेको युनिकाेड महासभाका अध्यक्ष देवेन्द्र वनेमले एक कार्यक्रमबीच गत नाेभेम्बर पहिलो साता सार्वजनिक गरेका थिए । उनले युनिकोडले सबै याक्थुङ भाषा र लिपिप्रेमी लाभान्वित हुने विश्वास व्यक्त गरे । सन् २००३ मा माइकल इभेन्सले युनिकोड भर्सन ४.० अन्तर्गत सिरिजङ्गा लिपिलाई लिम्बु लिपिका रूपमा दर्ता गरेका थिए ।

युनिकाेड तयार भएपछि सरल, सहज रूपमा चलाउन प्रयोगकर्ताहरूलाई सुविधा हुनेछ । गत नाेभेम्बर ६ तारिखमा सार्वजनिक भएपछि याक्थुङ सिरिजङ्गा युनिकोड विधिवत रुपमा शुरु भएकाे युनिकोड निर्माणकर्ता विरान इजमले जनाए । ‘अब याक्थुङ भाषी र सिरिजङ्गा लिपि प्रयाेगकर्तालाई सहज हुने गरी युनिकाेड निर्माण भएको छ,’ उनले भने । पछिल्लो युनिकाेड पुरानो वर्णमाला (९ स्वर वर्ण, २४ व्यञ्जन वर्ण, ३ संयुक्ताक्षर, ८ आधा अक्षर) कै अनुसार तयार भएको इजमले बताए ।

युनिकोड प्रयाेग गर्न ल्यापटप प्रयाेगकर्ताहरूले युमा साम्याेकाे ब्लगस्पटमा गएर डाउनलाेड गर्ने सुविधा भएको महासभाका महासचिव डा. रमेश इजमले जनाए ।

झापाकाे ब्याङ डाँडामा रहेको सिरिजङ्गाकाे शालिक ।

लिम्बुवानकाे याङ्वरक थुमकाे सिनाम-तेल्लकमा जन्मिएका सिरिजङ्गा सिं थेबेले निर्माण र प्रयाेगमा अतुलनीय याेगदान दिँदै भाषा र लिपिकै लागि सहादत प्राप्त गरेकोले उनकाे सम्मानमा सिरिजङ्गा लिपि नाम राखिएको अभियन्ताहरूले जनाएका छन् । कतिपय ठाउँमा यस लिपिलाई लिम्बु लिपि, याक्थुङ लिपि भनेर पनि चिनिएको छ ।
_________________________

डाउनलाेड गर्ने ठेगाना(ल्यापटपका लागि) :
https://yumasamyo.blogspot.com/2024/11/blog-post.html

Related Articles

Back to top button