ओझेलमा धनकुटाको शिर पटेक डाँडा(भिडियो सहित)
धनकुटा । धनकुटाकै सबै भन्दा अग्लो स्थान हो पटेक डाँडा । २७०२ मिटरको उचाईमा रहेको यो डाँडा धनकुटाको सिरको रुपमा रहेको छ ।
यो स्थान सरकारको १०० पर्यटकिय गन्तव्य सूचीमा समेत सुचिकृत छ । बिभिन्न हिमाल, पुर्बका अधिकाशं जिल्ला, पहाडको मनोरम दृष्य देखिने मालिङ्गोले घेरेको डाँडो निक्कै आकर्षक छ तर पर्यटकिय सिजनमा पनि पटेक डाँडामा पर्यटक नआउदा प्राय सुनसान हुन्छ । यो सिजनमा पर्यटकहरु बिभिन्न स्थान घुम्न गइरहदा धनकुटाकै ममुख्य पर्यटकिय गन्तब्य पटेक डाँडा भने ओझेलमा परेको छ ।
प्रयाप्त पर्यटकीय पूर्वाधार तथा प्रचारप्रसारको कमीले पटेक डाँडा पर्यटक नआएको स्थानिय मुडु शेर्पा बताउनु हुन्छ । यो डाँडो चार पालिकाको सिमा क्षेत्र पनि हो । धनकुटाको महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाँउपालिका तथा तेर्हथुमको लालिगुराँस नगरपालिका र छथर गाँउपालिका पटेक डाँडामा जोडिएका छन् । चारै पालिकाले बेवास्ता गर्दा पुर्बाधार निर्माण र प्रचारप्रसारको काम हुन नसकेको शेर्पाको भनाई छ ।
कोशी राजमार्गमा पर्ने सिधुवा बजार नजिकै रहेको यो डाँडामा करीब ३० मिनेटको पैदल यात्रा पुग्न सकिन्छ । त्यस्तै नुनथलावाट समेत पुग्न सकिन्छ । प्रदेश सरकारको सहयोगमा महालक्ष्मी नगरपालिकाले नुनथला वाट तथा छथर जोरपाटीले सिधुवा वाट सिढी निर्माण गरे पनि पुरा हुन सकेको छैन । दुबै तर्फका सिढी आधा मात्र निर्माण भएका छन् । थप पुर्बाधार निर्माणको लागि बजेट माग गर्दा नआएकोले पुर्बाधार निर्माणको काम थप अघि बढ्न नसकेको पालिका प्रमुखहरुको भनाई छ ।
डाँडामा नेपाल टेलिभिजन, नेपाल टेलिकम आदिका टाबर राखिएको छ । ति टाबर सुरक्षार्थ नेपाली सेनाले राखेको तार समेत ननिकाल्दा त्यहाँ पुग्ने पर्यटक समस्यामा पर्ने गरेको स्थानियको गुनासो छ । पटके डाँडा धनकुटाको सबैभन्दा बढी उचाइ भएको स्थान हो । यो डाँडाबाट मकालु र कुम्भकर्ण हिमश्रृंखलासहित पुर्बका बिभिन्न जिल्लाको अधिकाशं स्थान देख्न सकिन्छ । यो डाँडा खासगरी सूर्योदय र सूर्यास्त अवलोकनका लागि प्रख्यात छ ।