लेख

आदिवासी जनजाति झुण्डको आत्माघाती भूमिकाको उपज कोशी नामाङ्करण – विश्वास दीप तिगेला

मंगोल नेशनल अर्गनाइजेशन र युमा साम्यो भिन्नभिन्नै प्रकृतिको संगठन हुन तर उस्ताउस्तै भूमिकामा पदार्पण भएका छन् । मंगोल नेशनलको मुख्य मुद्धा अर्थात उनीहरुको चर्को सुनिने आवाज भनेको हामी आदिवासी जनजाति होइनौ मुलवासी हौ । यो आवाज सरकारको विरुद्ध, सरकारको रबैयाको प्रतिकार हो भन्ने देखिन्दैन बरु लामो कालखण्डबाट स्थापित आदिवासी जनजाति पहूँच तथा पहिचान माथिको आक्रमण अर्थात प्रतिकार देखिन्छ । जसोतसो आदिवासी जनजाति भनिने विरासत माथि मंगोल नेशनलको निरन्तर आक्रमण देखिन्छ । हक अधिकारको कुरा नगरी धुरुन्धर हामी आदिवासी जनजाति होइनौ मुलवासी हौं भन्ने बर्षौबर्ष देखिको रटान छ ।

कुनैपनि शब्दको अर्थ– भाषा, सम्प्रदाय र समयअनुकुल परिभाषा सुधार एवं विकास हुने गरेको छ । हिजो घृण्णाको अर्थ लाग्ने मधेशी शब्द आज गर्वको अर्थ लाग्ने भएको छ त्यसैले संस्कृत भाषामा यो भन्यो त्यो भन्यो महत्वपूर्ण कुरा होइन कुन सन्दर्भमा ति शब्द प्रयोग गरिएको हो त्यो ठूलो कुरा हो । नेपालको राजनैतिक शक्ति अर्थात अधिकार र अवसरको सवालमा आदिवासी जनजाति शब्द स्थापित भएको हो । अहिले जसरी आदिवासी जनजाति एकै ठाँउमा लेखिन्छ शुरुमा त्यसरी लेखिन्न थियो आदिवासी र जनजाति बेग्लाबेग्लै जनाउने गरि लेखिन्थ्यो र अहिले पनि त्यहि बुझ्नु पर्ने हुन्छ तर मंगोल नेशनलको निरन्तर विरोधले समग्र आदिवासी जनजाति आन्दोलन नै कमजोर बन्दै गयो । आदिवासी जनजाति शब्दको प्रयोग कुन सन्दर्भमा भन्ने भन्दा पनि अमुक परिभाषा गलत भयो भनी विरोध गर्नु आत्माघाती भएन र? मुलवासी भनेपनि प्राप्त हुने/गरिने हक अधिकार प्राप्त भयो वा आदिवासी जनजाति भनेपछि प्राप्त हुनुपर्ने हकअधिकार प्राप्त भयो भने त्यो शब्द संग किन आपत्ति? मुसा मार्नु परयो बिरालोको रंग संग के मतलब? तर, किन मंगोल नेशनल चाहि आदिवासी जनजाति शब्द माथि निरन्तर जाईलाग्छन?

समाजका इन्जिनियर अर्थात शिपका काम गर्नेहरु दमाई, कामी, सार्की आदिलाई अब सम्मान जनाउने शिल्पी जाति भनौ भनेर नेपालका समाजवादी नेताहरुले नयाँ सोच ल्याए, सहि सोच पनि हो तर शिल्पी भित्रकै केही विद्धवानहरुले सो शब्द प्रयोग गर्न मानेनन त्यसको कारण के थियो भने दलित शब्द आन्दोलनबाट स्थापित शब्द हो र दलित शब्द नै प्रयोग नगर्ने हो भने दलितको आन्दोलनको विरासत नै हराउछ भनेर प्रयोग गरेन्न । शिपको काम गर्नेहरु शिल्पी शब्द अति सुहाउने शब्द हुदाहुदै पनि उनीहरुले प्रयोग गर्न चाहेनन तसर्थ शब्द आन्दोलन, त्याग, योगदान संग जोडिएर आएको हुन्छ अर्थात स्थापित हुने भएकोले अरुले अर्थ यो लगायो र त्यो लगायो महत्वपूर्ण कुरा होइन रहेछ भन्ने कुरा शिल्पी र दलित शब्दको इतिहासले सिकायो ।

नियमित राजनीतिमा प्रयोग हुने शब्दमा कति शक्ति हुन्छ र कसरी पतन हुन्छ भन्ने कुराको अर्को उद्धाहरण पनि नेपालकै संसद एवं अभ्यासमा हेरौः नेपालका आदिवासी जनजातिहरुको उग्र माग र आन्दोलनले गैर आदिवासीहरुमा डर घृण्णा चरम विन्दुमा पुग्यो । आदिवासीहरुको राजनैतिक आवाजमा विशुद्ध राजनैतिक आवाज मात्र नभई उनीहरुको पीडा र सिमान्तकृत अवस्थाको कारण कुण्ठा र आक्रोस पनि मिसिने भएकोले गैर आदिवासी जनजातिहरुलाई पटकपटक त्यहि सुनिरहदा घृण्णा र आक्रोस आउने भएको कारण अब आदिवासी जनजातिहरुको आन्दोलनलाई कसरी निष्तेज पार्ने भन्ने लक्ष्यका साथः युवा नेता गगन थापाले नेपालको संविधानसभा हलमै बोलेका थिए, हामी यो सदन भित्र आदिवासी जनजाति शब्द कहिल्य प्रयोग नगरौ भने– तब डा. बाबुराम भट्टराईले कलष्टर भन्ने अंग्रेजी शब्द प्रयोग गर्न थाले, उपेन्द्र यादव लगायतले नश्लवादी भन्ने शब्द ल्याए धेरैले त्यहि शब्दको सिको गरे हुदाहुदै नेपालको संविधानसभा र अहिलेको संसदमा आदिवासी जनजाति शब्द नै उच्चारण हुन छोड्यो र त्यसको असर आदिवासी जनजातिको आन्दोलनको रापताप पनि घट्यो । आन्दोलनबाट स्थापित शब्दलाई प्रयोग नगरि अर्को शब्द प्रयोगको प्रभाव हामीले देखि सक्यौ । यसर्थ मंगोल नेशनलका मित्रहरु शब्दको अर्थ भन्दा कुन सन्दर्भमा आदिवासी जनजाति भनिएको हो ख्याल गर्न आवश्यक छ की? यहाहरुको मुलवासी शब्दको रटान सहि हुदाहुदै पनि आत्माघाति पो भईरहेको छ की? तर शब्दकै विरोध गर्दै आदिवासी जनजातिकै किन विरोध गर्नुहुन्छ, किन हतोत्साहित बनाउनु हुन्छ?

बुझ्नुपर्ने कुरा के हो भने संयुक्त राष्ट्र संघ लगायत अन्तराष्र्टि«य समुदायले चासो गर्दा, खोजी गर्दा नेपाली ईण्डिजिनियस पिपल भन्दछन, आदिवासी जनजाति भन्दैनन र मुलवासी भनेर पनि सोधीखोजी गर्दैनन । त्यसैले अब ईण्डिजिनियस शब्दलाई स्थापित गर्ने पहल सहि निकास हुन सक्दछ ।

ठूठूला, लामो आन्दोलन आरोहअवरोहबाट स्थापित शब्द हुन आदिवासी जनजाति यसको विरोध गर्नु आत्माघाती छ, नेपाल भित्रको सन्दर्भका यहि आदिवासी जनजाति शब्दलाई नै टेकेर अगाडी बढनु सान्दार्भिक हुन्छ, राज्यको हरेक निकाय र संविधान, ऐन, कानुन, विधान, नियमावली लगायत सरकारी कार्यालयमा आदिवासी जनजाति नै प्रयोग गरिसकिएको छ, आदिवासी जनजाति शब्दको सट्टामा मुलवासी शब्दले बदल्नु पहिलो असम्भव छ दोस्रो अनावश्यक छ ।

अन्य मुलुकहरुमा पनि ईण्डिजिनसहरुको सवाल सन्दर्भहरु झनै तड्कारो र ब्यवस्थित भएको पाइन्छ । क्यानडामा फष्ट नेशन भनिन्छ र उनीहरु आफैले राज्यको संसदमा फष्ट नेशनको साँसदहरु चुनेर पठाउछन र आफ्नै बेग्लै सदन पनि छ । न्यूजिल्याण्डमा माउरी कम्युनिटी ग्रुपबाट ७ प्रतिशत सांसद छानेर संसदमा पठाउने ब्यवस्था छ, अष्ट्रेलियामा एभर्जिन कम्युनिटी, चिलीका मापुचे र ब्राजिलमा इण्डिजीनिस आदि भनेर चिनिने गरेको पाइन्छ जहाँ जसरी चिनिए पनि उनीहरुको मौलिक र विशेष अधिकार लिने सवाल हो तथापी संयुक्त राष्ट्र संघले ईण्डिजिनीयस भन्ने गर्दछ भने ईण्डिजिनीयसको सवाललाई अत्यन्तै महत्वको सवाल लिई नेपालको अर्थ मन्त्रालय, गृह मन्त्रालय भने झै छिमेकी भारतमा एकजना ट्राइबल/ईण्डिजिनीयस मन्त्री र दुईजना राज्यमन्त्री, चीनले पनि एकजना एथ्नीक/इण्डिजिनियस मन्त्री र एकजना राज्यमन्त्री बनाएको पाइन्छ तसर्थ ईण्डिजिनीयस सर्वमान्य शब्द नै हो । प्राप्त जानकारी अनुसार इण्डिनिनियसहरुको संवैधानिक ब्यवस्था राम्रो भएको मुलुकमा न्यूजिल्याण्ड, क्यानडा, चीन र भारतलाई पनि मान्न सकिन्छ ।

मंगोल नेशनल अर्गनाइजेशनको दावी मुलवासी भनिएको छ, मुलवासी भनेको मुख्यरुपमा बसोबास गर्ने समुदाय अर्थात संख्याको पनि सवाल हुन्छः मानि लिनुहोस एक गाँउमा धेरै एक जाति र थोरै संख्या अर्को जाति बस्दछ भने त्यहाँको मुलवासी कसलाई मानिन्छ? पक्कै पनि धेरै जनसंख्या भएको जातिलाई मुलवासी भनिन्छ त्यसैले मुलवासी शब्द पनि निर्विकल्प होइन । यसर्थ स्थापित भईसकेको शब्दको रातदिन विरोध गर्नु र मंगोल नेशनलले नै संघीयताको विरोध गर्नु सहि होइन । मानव सृष्टि पछि यो भूमिका सबैभन्दा पहिला आवाद गरेर बस्ने आदिम जाति आदिवासी र मानव विकासको चरण जाति हुनुअघिको चरण हो जनजाति यो कोणबाट बुझ्ने हो भने आदिवासी जनजाति शब्द प्रयोग गर्नु कहाँ गलत छ?
उस्तै भूमिकाको युमा साम्यो लिम्बु जाति भित्र भर्खरै स्थापित एउटा संगठन हो । यसका धेरै राम्रा पक्ष होलान त्यता नजाऔ तर पछिल्लो समयमा प्रदेश न १ नामाकरण कोशी गरिए पछि पटकपटक मन पोल्नेक्रममा बल्झिरहने पीडा हो युमा साम्योको भूमिका । माङ्सेबुङ लारुम्बालाई केन्द्र मानेर सत्यहाँङ विधीबाट पुजाआराधना गर्ने धर्मालम्बिहरुलाई किरात धर्मालम्बि भन्ने गरिन्छ । युमालम्बिहरुलाई सत्यहाँङ पुजाआराधना विधि त मन परेन त्यो स्वभाविक थियो त्यो भन्दा बढि किरात शब्दको अर्थ कोट्याउदै– हामी किरात होइनौ भनेर यो प्रदेश १ को नामाकरणको पूर्वसन्ध्यामा खुबै अभियान गरे, गत बर्षको राष्ट्रिय जनगणना ताका पनि युमा धर्म भनी खुबै जुटे, अनेक कोणबाट हेर्दा युमालम्बिहरुको एउटै लक्ष्य किरात शब्दको विरोध देखियो जुनकुराले किराँत धर्मलाई घटाउने, किरात प्रदेश नामाकरण हुन नदिने प्रपन्च जस्तो देखियो अन्ततः अहिले प्रदेश १ को नामाकरण किरात रहेन, युमालम्बिहरुको एक माग त पुरा भएको देखिन्छ तर कोशी नामाकरणले युमालम्बिहरुलाई समेत घातक हुदै गर्दा अहिले आत्माघाती पहल गरिएछ भन्ने महशुस हुन्छहुदैन उनीहरु नै जानुन ।

लारुम्बाको किरात धर्मालम्बिहरु आफूले मान्ने किरात धर्मको कारणले होइन हिजोको किराँत सभ्यताको आधारमा प्रदेश १ नामाकरण किरात–सागरमाथा हुनुपर्छ भनी रहदा युमालम्बिहरुले चाहि एकहोरो किरात शब्दकै विरोध गरे । ठूलो जनसंख्या रहेको राईहरुले पनि १ नम्बर प्रदेशको नामाकरण किरात सभ्यताकै आधारमा किरात प्रदेश हुनुपर्छ भने, राईहरुले लारुम्बामा किरात धर्म छ त्यसकारण किरात प्रदेश हुनुपर्छ कहिल्य भनेन, जो लारुम्बाकृत छन उनीहरुले पनि सभ्यताकै आधारमा किरात प्रदेश नामाकरणको माग गरे तर युमालम्बिहरुले चाहि किरात धर्म हो र धर्मको नाममा प्रदेशको नामाकरण हुनुहुन्न निरन्तर भनी रहे ।

गजब चाहि तिब्बेतबाट शुरु हुने यार्लङ ताङपो नदि बगेर जब भारतको आसम प्रवेश गर्छ तब ब्रम्हपुत्र भनिन्छ र त्यहि नदि बगेर जब बंगलादेश पुग्छ तब त्यसैलाई गंगा नदि भनिन्छ त्यस्तै अहिले नेपालबाट बगेर भारत पस्ने अरुण, तम्मोर नदी जब भारत पस्छ तब भारतीयहरुले त्यहि नदिलाई कोशी भन्दछन त्यहि भारतीय हिन्दु नाम कोशी रहदा अहिले युमालम्बिहरुलाई कस्तो महशुस भईरहेको होला? भारतीय रिषी कौशिकाको नामबाट रहेको कोशी नदिको नामबाटै प्रदेशको नाम कोशी रहनु र भारतकै विहार राज्यको सिमाना विराटनगरमा प्रदेशको राजधानी हुनु संयोग मात्रहोस । उता विहारीहरुको प्रतिक्रिया सायद निक्कै उल्लासपूर्ण नै होलान ।

अहिले प्रदेश न १ को नाम विधिवत रुपबाट नामाकरण भईसके पछि पूर्ननामाकरणको माग सहित आन्दोलन उठेको छ । आन्दोलनकर्मीहरु पहिचान सहितको नामाकरण गराउन र स्थानीय तहलाई तुरुन्त कोशी प्रदेश नलेख्न आब्हान गरिरहेका छन, एकैपटक सर्वस्वीकार्य नामाकरण पछि मात्र स्थानीय तहहरुले साईनबोर्ड बनाउन दबाब दिईरहेका छन । पटकपटक आन्दोलन गरिरहेका छन । रोचक चाहि यस अघि कहिल्य पनि एकैठाँउ नआएको लिम्बु र राई विशेषत यसपटक संस्थागत रुपमै एकैठाँउमा उभिएका छन । लिम्बुहरुले प्रदेशको नाम लिम्बुवान किरात हुनुपर्ने माग राखिराखेको बखत राईहरुले किरात मात्र भनेको लिम्बुवान नभनिदिदा चित्त दुखाएकाहरु अहिले एकै ठाँउमा छन । राईहरुले खम्बुवान मात्र भनेको भए चित्त दुखाउने ठाँउ रहन्थ्यो तर किरात भन्दा त लिम्बु लगायत १० जाति किरात भित्रै पर्ने भएकोले किरात मात्र भन्यो भनेर चित्त दुखाउने ठाँउ छैन । राई जातिलाई खम्बु भनेर पनि चिनिन्छ, खम्बुहरुले मागेको खम्बुवान र लिम्बुवानवासीले मागेको लिम्बुवानको भूगोल कतै बाँडिएको छैन, आज नामाकरण भएको कोशी भोली कुनैपनि समयमा किरात बन्न सक्छ, लिम्बुवान बन्न सक्छ र गैर किरातहरुले कोशी ल्याए उनीहरुको पनि विरासत स्वीकार्नै पर्ने हुन्छ तसर्थ अब किरात–कोशी–लिम्बुवान अर्थात किरात–कोशी नामाकरणले सबैलाई समेट्दछ । भोली कालन्तरमा लिम्बुवान बेग्लै प्रदेश बनेको खण्डमा किरात कोशी सान्दार्भिक हुन सक्दछ ।

प्रकृया पूरा गरेरै कोशी प्रदेश नामाकरण भईसकेको भएपनि जनउभार अर्थात आन्दोलनले पूर्ननामाकरण गराउन सक्दछ । विधिसम्मत जानुमात्र ठूलो कुरा होइन, जनआंकाक्षा उठेको खण्डमा सरकार अर्थात राजनैतिक पार्टीहरुले सम्बोधन गर्न बाँध्य हुनुपर्दछ तर आन्दोलन चाहि उठनुपर्दछ । आन्दोलनको दबाब केन्द्रमा विशेषतः नेकपा एमाले र काँग्रेसमा दबाब पुग्ने र लबिङ जाने हो भने तुरुन्तै किरात प्रदेश वा किरात–कोशी पूर्ननामाकरण गर्न सम्भव छ । सबैलाई समेट्न एमाले र काँग्रेसको नेतृत्व तयार भए, अनआंकाक्षालाई समेट्न सके तिनै ठूला पार्टीलाई सधै फाइदा हुनेछ ।

राजनैतिक तथा समाजिक जीबनमा शब्द चयन, शब्दको प्रयोगको ठूलो प्रभाव रहन्छ । जस्तो की आदिवासी जनजातिहरुले यो बेईमान गर्यो बाहुनले त्यो बेईमान गर्यो बाहुनले भनी गाली गरिरहेका हुन्छन, हेक्का रहोस उनीहरुले यो बाहुन शब्द मात्र प्रयोग गर्न छोड्ने हो भने झण्डै २० प्रतिशत बाहुनको दबदबा घटेर जान्छ । शब्द चयनको ससानो कुरामा ध्यान नपुग्दा, सहि ठाँउमा प्रयोग नहुदा र चाहिने भन्दा बढि प्रयोग हुदा धेरै खति भईरहेको छ । आफैलाई आत्माबल बढाउने हामी जेठो शासक, सृष्टिको उत्कृष्ट प्रडक्ट भनी गर्व नगर्नु पनि आदिवासी मंगोलहरुको कमजोरी हो । अन्य बर्णलाई असर नहुनेगरि कलात्मक शैलीमा मानव निर्माणको सन्दर्भमा मंगोल उत्कृष्ट प्रडक्ट हो भन्ने सन्दर्भ कहिल्य ओकेलिन्न जो अरु बर्णकाले ओकलेका छन । जंगलमा बस्ने गुरिल्ला जस्तै निखुर कालो रंगको निग्रोइड काला हब्सी पहिलो प्रडक्ट र जंगलमै बस्ने बाँदर जस्तै धेरै रौं र वनावट भएको अर्को बर्ण ककेसियस दोस्रो प्रडक्ट र मंगोल बर्णको रुप नत गुरिल्ला संग मिल्दछ, नत बाँदर संग मिल्दछ दुवै संग मिल्दैन, जंगलमा बस्ने कुनै प्राणी संग मिल्दैन तसर्थ अन्तिम र उत्कृष्ट मानव प्रडक्ट हुन मंगोल बर्ण । यिनीहरुको रौं, जुंगादारी अत्यधिक हुदैन, त्यो आधारमा मानव निर्माण गर्दा उत्कृष्ट प्रडक्ट मंगोल हुन भन्ने सन्देशको कहिल्य साहित्य लेखिन्न, भाष्य निर्माण गरिन्न केवल वर्णाश्रमले शुद्र भन्यो आदि भनेर गाली मात्र गरिरहेका हुन्छन । राष्ट्रिय विरासत निर्माणका अनेक पाटाहरु छन, आयामहरु छन जुन कुरा आदिवासीहरुले उपयोग कहिल्य गरेका छैनन केवल विरोध चिच्याहट र विद्रोह मात्र हुनु विडम्बना हो ।

अर्को सानो उद्धाहरण– विदेशमा बसेर एक नेताले स्टाटस लेखे– फलानो शहरमा घना किराँती बसोबास छ तर कोशी नामाङुकनलाई अस्वीकार गर्दै पूर्ननामाङ्कनको आन्दोलन त्यहा उठेन । यो वाक्यले निरुत्साहित गर्दछ, आन्दोलन नगरौ भन्ने शंन्देश जान्छ तसर्थ ति विद्धवान नेताले मेरो शहरमा आन्दोलन विस्तारै शुरु हुदैछ, भोली झनै ठूलो स्वरुपमा उठ्ने पक्का छ भनी दिएको भए शंन्देश कस्तो जानेथियो होला? अर्को रोचक चाहि दिनभर खटछन, घण्टौ भाषण गर्छन, कार्यक्रम भब्य सफल बनाउछन र भोली पल्ट हाम्रो आन्दोलन नेपाली मिडियाले छापेनन, लेखेनन भनेर लामो गुनासो लेख्छन तर त्यतिधेरै योगदान गर्न सक्ने तर दुईतिन वाक्यको छोटो न्यूज बनाएर सोसल मिडियामा पोष्ट गर्न सक्दैनन, सोसल मिडियामा स्टाटस मात्र न्यूज फर्मेटमा के, कहिले, कसकसले के भने, आयोजक को थियो आदि मात्र लेखेर एकदुई फोटो सहित दुईतिन मिनेट खर्चेर स्टाटस पोष्ट गरे त अन्य मिडियाले टिप्छन अर्थात न्यूज बनाई हाल्छन किन यति बुद्धि नआएको होला?

अन्तमा, आदिवासी जनजाति आन्दोलनमा केही तारतारम्य मिल्न बाँकी नै देखिन्छ । म ताक्छु मुढो बन्चरो ताक्छ घुडो भन्ने उखान छ त्यस्तै कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने जस्तै भलो नै चिताए पनि ससानो कुराको सन्दर्भमा मंगोल नेशनल र युमालम्बिहरुको भूमिका पूर्नरोवलोकन हुन बान्छानिय देखिन्छ । मंगोल नेशनलले निरन्तर आदिवासी जनजाति आन्दोलनलाई कमजोर बनाउने अनावश्यक कदम र संघीयता सम्बन्धिको विचार विचारणीय छ भने मौलिकताको कसीबाट किरात शब्दको विरोध र प्रतिकारको समग्र परिणाम कोशी प्रदेश आएको छ, यो प्रतिउत्पादक परिणाम आउनुमा युमालम्बिहरुको प्रत्येक्ष, अप्रत्येक्ष र थोरै भएपनि भूमिका छ, पक्कैपनि कोशी आएकोमा युमालम्बि पनि खुसि त छैनन तसर्थ भोली के परिणाम आउन सक्छ भनेर सोचविचार गरेर अभियानहरु शुरु गरेको भए आज यसरी पछुताउनु पर्ने, आत्माघातीको शिकार हुनुपर्ने थिएन । आन्दोलनको आँधीबेहरी ल्याऔ र आन्दोलन अनन्तः सम्म पनि जान सक्दछ, त्यसैले रणनीतिक हिसाबबाट र हरेक कोणमा तयार रहौं । ससानो शब्द चयन, कुनै शब्दको बन्देजले सिंगो जनजाति आन्दोलन खस्किएको कुराहरु ख्याल गर्दै अघि बढौ, आदिवासी जनजाति शब्द आन्दोलनबाट स्थापित गौरवमय शब्द हो यसलाई सहि ठाँउमा अत्यधिक प्रयोग गरौ । यहि आन्दोलन संगै न्यूजिल्याण्ड र क्यानडाको जस्तै संसदमा आदिवासी जनजातिको प्रतिनीधिसांसद जनजाति आफैले अर्थात नेपाल आदिवासी जनजाति महासंघ वा जनजाति आयोगबाट वा तेस्तै संरचनाबाट चुन्ने ब्यवस्था लागु गर्ने तर्फपनि सोचौ, तब हाम्रो आन्दोलन स्वतः शक्तिशाली बन्नेछ शक्तिको लागि राजनैतिक पार्टीमा धाउने प्रथाको अन्त हुनेछ । फेरीपनि रुखको हाँगामा बसेर फेद नै काट्ने कालीदास बन्नुपर्ने छैन । समान हक अधिकारको अभियान एवं आन्दोलन सफलतान्मुख छ, भविश्य हामी सबैको पक्कै उज्यालो छ । निरन्तर अघि बढौ ।

biswasdip@ymail.com
१४ मार्च २०२३

Related Articles

Leave a Reply

Back to top button