गुल्मेली मेला सबै नेपालीको बृहत भेला, ४ अगष्टमा हुदै
गोमा राना,
लण्डन, हरेक बर्ष हुने गुल्मेली भेलाको १६ औं संस्करण अागामी अगष्ट महिना ४ तारिख अाईतबार फेल्थाम युकेमा आयोजना हुंदैछ ।
लन्डन फेल्थामको ट्युडोर पार्क लिजर सेन्टरको मैदानमा बिहान ११ देखि बेलुका ९ बजेसम्म हुने कार्यक्रम आयोजकले जानकारी दिएका छन्।
कार्यक्रमबारे बिस्तृत जानकारी दिन मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष रुद्रबहादुर थापाले बेलायतवासी सबै नेपालीलाई कार्यक्रममा निमन्त्रणा गरेका छन्।
‘आयोजक मात्र गुल्मेली हौं, कार्यक्रम बेलायतका सबै नेपालीको लागि हो’, अध्यक्ष थापाले भने, ‘हामी आशा गर्छौं गैरगुल्मेली नेपालीहरुलाई पनि स्वागत गर्न पाउनेछौं । मौलिक गुल्मेली कला, संस्कृतिका प्रस्तुति हेर्ने र मनोरञ्जन लिने अवसर सदुपयोग गर्नुहुन सबैलाई आव्हान गर्दछौं ।’
कार्यक्रममा यस वर्ष पहिलोपटक गुल्मी जिल्लाका स्थानीय निकायका प्रमुखहरुलाई निम्त्याइएको अध्यक्ष थापाले जनाए । गुल्मेली जनप्रतिनिधिहरुलाई यहाँका स्थानीय सरकारसंग सम्पर्क स्थापना तथा अन्तरक्रिया गर्न समन्वय गरेर नेपालको विकास र समृद्धिका लागि समेत सहयोग पुर्याउने योजना रहेको उनले बताए ।
कार्यक्रममा विगतमा जस्तै नेपालबाट आएका राष्ट्रिय कलाकारका प्रस्तुति, मौलिक सांस्कृतिक कार्यक्रम, नौमति बाजाको प्रस्तुति, राफल ड्र र बालबालिकाका लागि बाउन्सी क्यासल, आइसक्रिम भ्यानलगायत आकर्षण रहने जानकारी संयोजक मञ्जु भन्डारीले बताइन्।
कार्यक्रमस्थलमा प्राथमिक उपचारको व्यवस्था रहने तथा खाना, शौचालय लगायतमा लामो लाइन बस्नु नपर्ने गरी सबैलाई सहज तरिकाले व्यवस्थापन मिलाइएको समेत संयोजक र महासचिवले जानकारी दिएका छन्।
कार्यक्रममा साउथ इष्ट लन्डन, मिडल्यान्डसहितका कयौं क्षेत्रबाट कोचहरु नै बुकिंग गरेर समेत सहभागीहरु आउने तयारी छ ।
कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल रहनेछन् भने बेलायतस्थित अन्य विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरु पनि अतिथिका रुपमा आमन्त्रित छन् ।
कार्यक्रमको टिकट शुल्क वयस्कहरुका लागि २५ पाउण्ड तथा ६ देखि १२ वर्षमुनिका बालबालिकाका लागि १२ पाउण्ड छ । टिकटमा तीन कोर्स खानाको ब्यबस्था हुने जानकारी दिएका छन् भने सदस्यता फारम पनि उपलब्ध हुनेछ।
पत्रकार सम्मेलनमा बेलायतस्थित नेपाली मिडियाका एक दर्जन बढी सञ्चारकर्मीहरु सहभागी थिए।
अन्त्यमा अध्यक्ष थापाले गुल्मेली गैर -गुल्मेली सबैलाई हार्दिक निमन्त्रणा गर्दै कार्यक्रम सफल पार्न अहोरात्र खटिनु हुने कार्यसमिति गुल्मेली सदस्य लगायत सन्चारकर्मीहरुलाई धन्यबाद दिएका थिए।