प्रवास

स्याण्डहर्स्ट नेपाली समाजको गतिविधि : एक संक्षिप्त जानकारी

✍️ मुकेश राई

गत शनिबार, ३० सेप्टेम्बरको दिन स्याण्डहर्स्ट नेपाली समाजको जमघट कार्यक्रम भव्य र सभ्य रुपले सुसम्पन्न भयो । अध्यक्ष नेत्र थापा, काउन्सिलर प्रिती लिम्बु, संस्थाका सल्लाहकारहरु रामकुमार लिम्बु, थर्क राना, जुरेन्द्र खजुम लगायत स्याण्डहर्स्टमा बसोबास गरिरहेका अवकासप्राप्त, सेवारत गोर्खालीहरु उनीहरुको परिवार लगायत नेपाल र हङकङबाट आएर स्यान्डहर्स्टमा रह्दै आउनु भएका नेपालीहरुको बाक्लो उपस्थितिले कार्यक्रम रोचक र सफल भएको थियो । नेपाल र ब्रिटेनको राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा स्याण्डर्स्ट परिषदमा नेपालीहरुको प्रतिनिधिको रुपमा नव निर्वाचित प्रिती लिम्बु लगायत नेपाली लोक दोहोरी गायिका सानु गुरुङ, समाजका वरिष्ट नागरिक एव समाजसेवी ओम थापा लगायत समाजमा उल्लेखनिय योगदान पुर्याउँदै आउनु भएका व्यक्ति विषेशलाई खदा ओडाइ सम्मान गरिएको थियो ।

कार्यक्रम औपचारिक रुपमा संस्थाका महासचिव शमसेर वनेमले संचालन गर्नु भएको थियो भने सांस्कृतिक कार्यक्रम संस्थाका उपाध्यक्ष रामकृष्ण जिमीले संचालन गर्नु भएको थियो । कार्यक्रममा गायिका सानु गुरुङ, कौशिला थापा लगायत स्थानिय कलाकारहरुले नृत्य प्रस्तुत गरेर सबैको मन जितेका थिए । स्वादिष्ट खानपानको समुचित व्यवस्थापन,  राफल ड्र अनि मनोरन्जनात्मक कार्यक्रमले गर्दा उपस्थित सबैले बेलायतबाट विदा लिदै गरेको गृष्म ऋतुको भरपुर आनन्द उठाएका थिए ।

यस कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिने क्रममा संस्थाका अध्यक्ष नेत्र थापाले समाजको बिषयमा विगत देखी वर्तमानसम्म संस्थाले गरेको कार्यहरुको विस्तृत विवरण सहित केही भावी योजना र रणनितीहरु बारे पनि प्रकाश पार्नु भयो ।

स्याण्डहर्स्ट नेपाली समाज स्थापना हुनुको मुख्य कारण स्वदेशभन्दा टाढा यो कर्मभूमिमा नेपाली समुदायहरुबिच भईपरी आउने जस्तो समुदायभित्र हुने जन्म, विवाह र मृत्यु जस्ता सुख दु:खका कार्यहरुमा आर्थिक र आफ्नो संस्कार, संस्कृति र विधिविधान अनुसार कार्यक्रमहरु गर्न सहयोग गर्ने, परदेशमा रहेर पनि आफ्नो देशको कला, साहित्य, सांस्कृतिक परम्परा भेषभूषा र चाँडपर्वहरु  जगेर्ना गर्ने र नयाँ पिढीमा हस्तान्तरण गर्दै लैजाने रणनीति अनुरुप बर्षमा कम्तिमा एकपल्ट संस्थाले एउटा वृहत भेटघाट कार्यक्रम गर्ने साथै दसैं तिहार लगायतका अन्य चाँडबाडमा पनि भेटघाट र शुभकामनाहरु आदानप्रदान गर्ने कार्यक्रमहरु गर्दै आएको छ ।

यो संस्थाले नेपालीहरुको वार्षिक जमघटमा मात्रै सिमित नरहेर स्याण्डर्स्ट शहर परिषदले आयोजना गर्ने रिमेम्ब्रेन्स डे, च्यारिटी डे, सामुदायिक सरसफाइ अभियान लगायत अन्य विभिन्न कार्यक्रमहरुमा स्ययंसेवकको रुपमा सहभागिता जनाउने गरेको छ ।

स्याण्डहर्स्ट र यहाँ रहेको नेपाली समाज बारे संक्षिप्तमा भन्नु पर्दा ह्याम्पशायर, सर्रे र वर्कशायर काउन्टिको त्रिवेणी स्थल स्याण्डहर्स्ट काउन्सिलको आफ्नै ऐतिहासिक विशेषता रहेको छ र यसमा एरएमएएस अर्थात विश्व प्रसिद्ध रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टले सन १८०२ देखि सेनाका अधिकारीहरूलाई तालिम दिइरहेको छ । पुस्तौँदेखि विश्वभरका उच्च अहोदाका क्याडेटहरूले यहाँबाट प्रशिक्षण लिए पश्चात एकेडेमीको आदर्श वाक्य: ‘सर्भ टु लिड’ लाई पालना गर्ने प्रयास गरेका छन् । तिनीहरूको प्रशिक्षणको मुख्य भाग सधैं सैन्य इतिहासको अध्ययन भएको छ । यसै विशाल प्रशिक्षण केन्द्र आरएमएएस मा गोखाली सेनाको एउटा टुकडीले सदियौँ देखि नै विभिन्न प्रविधिक र लोजिस्टिक कार्यहरुमा सहयोग गर्दै आफ्नो गौरवमय इतिहासलाई कायम राख्दै आएको छ । जब गोर्खालीहरुले बेलायतमा रिटायर्ड भए पश्चात पनि जीवनयापन गर्नको निम्ती आवासिय भिसा पाए त्यहिबेला देखी स्वत: आफ्नै कर्मक्षेत्र नजिक नै रहनसहनको व्यवस्थापन शुरु गरे, जसको कारण बेलायतमा नेपालीहरुको जनसंख्या बढने क्रम शुरु भएसङ्गै विभिन्न संघसंस्थाहरु पनि स्थापना हुन शुरु भयो । यसरी गोर्खालीहरुको बाहुल्यता बढ्दै गए पछि सन् २००७ जुलाईमा नै स्यान्डहर्स्ट नेपाली समाजको आधिकारिक् रुपमा गठन भएको थियो । यहाँ हालसम्म रिटायर्ड र सेवारत करिब ३०० घर जत्ति गोर्खालीहरु रहदै आएका छन् र यो क्रम बढ्दो पनि छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button