स्थानीय

पूर्वको पर्यटकीय केन्द्र बन्दै भेडेटार

नारायणकुमार राई / धनकुटा, १० पुस : सडक सञ्जालले छोएको ४० वर्षपछि धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार पूर्वी नेपालकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।

विसं २०४० मा धरान–धनकुटा कोशी राजमार्ग निर्माणसँगै बेलायतका राजकुमार चाल्र्स यहाँ घुम्न आएपछि भेडेटार पहिलो पटक चर्चामा आएको थियो । विसं २०६८ मा भारतका धनाढ्य राजीव गोयलको विशेष पहलमा अमेरिकी समाचार संस्था सिएनएनले भेडेटार नजिक रहेको नाम्जेको मगर गाउँलाई विश्वका घुम्नैपर्ने १२औँ गन्तव्यको सूचीमा राखेको थियो ।

छिन–छिनमा मौसम परिवर्तन हुने अनौठो यस क्षेत्रलाई विसं २०७५ मा नेपाल सरकारले पनि एक सय नयाँ गन्तव्यमा धनकुटाका तर्फबाट भेडेटार र नमस्ते झरना समावेश गरिसकेको छ । यस्तै, चर्चा र प्रचारले देश तथा विदेशमा परिचित भेडेटार पछिल्लो समय पालिका, जिल्ला र अन्य जिल्ला जाने पर्यटकीय केन्द्रका रुपमा समेत विकास हुँदै गएको गाउँपालिका अध्यक्ष जीतेन्द्र रुम्दाली राई बताउनुहुन्छ । गर्मीमा तराईको गर्मी छल्न र जाडोमा घाम ताप्न मिल्ने वातावरण रहेको चुरे पहाडमा अवस्थित भेडेटार आसपासबाट हिमाल, पहाड र तराईको दृश्य एकैसाथ हेर्न पाइन्छ ।

पूर्वी तराईबाट धनकुटा जाने गौँडाका रुपमा रहेको भेडेटार भोजपुर, सङ्खुवासभा र ताप्लेजुङ जाने केन्द्रका रुपमा समेत रहेको छ । साथै रानी भन्सार विराटनगरबाट चीनको किमाथाङ्कासम्म जोड्ने तमोर करिडोर पनि यसै पालिकाको आहाले र भेडेटार भएर जाने गर्दछ । इलाम र मोरङको पहुँच मार्गका रुपमा रहेको चौबिसे गाउँपालिका हुँदै पाँचथर जोड्न निर्माणाधीन एक सय किलोमिटर लामो भेडेटार, रवी, राँके राजमार्गसमेत भेडेटारबाट सुरु हुन्छ ।

सडक सञ्जालको पहुँचसँगै यहाँ करोडौँको लगानीमा साहसिक खेलका पूर्वाधार, जनजाति पार्क, बौद्ध मन्दिर निर्माणका क्रममा रहेका छन् भने यहाँ प्रशस्त मात्रामा साना ठूला होटल बनेका छन् । महत्वपूर्ण सडक सञ्जाल, पर्यटकीयस्थल र अन्य पूर्वाधारका कारण भेडेटार तराई र पहाडका मानिसको जमघट हुने थलो बन्दै गएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

समुद्री सतहबाट एक हजार चार सय २० मिटरको उचाइ रहेको भेडेटार आएर यसै वडामा रहेका ऐतिहासिक साँगुरीगढी, पाथीभरा मन्दिर, चर्चित नमस्ते झरना र नाम्जे गाउँ जान सकिन्छ । सडक सञ्जालको चौतर्फी पहुँचसँगै यहाँ रहेका धार्मिक, सांंस्कृतिक, ऐतिहासिक र प्राकृतिक पर्यटकीय गन्तव्यका कारण भेडेटार क्षेत्रमा तरुण, ज्येष्ठ र केटाकेटीको घुइँचो लाग्ने गरेको छ । यस क्षेत्रको थप पर्यटन विकासका लागि पालिकाले नयाँ गन्तव्यका रुपमा खुवालुङ– भेडेटार–ध्वजे डाँडासम्मको ६० किमी लामो पदमार्ग (ट्रेकिङ ट्रेल) निर्माणको काम सुरु गर्न लागेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

पालिकाले एतिहासिकस्थल साँगुरीगढी, पाथिभरा र शङ्खेश्वर मन्दिर निर्माण गरेर धार्मिक पर्यटनलाई प्रवद्र्धन गरेको छ । नमस्ते झरना क्षेत्रको थप पर्यटन प्रवद्र्धन गर्न नमस्ते झरना–थुम्कीसम्म करिब तीन किलोमिटर लामो पैदल मार्ग निर्माण गरेको छ । यहाँको होमस्टे प्रवद्र्धनमा सहयोग गरिरहेको पालिकाले भेडेटार घुम्न आउने पर्यटकलाई लक्षित गरेर कोसेली घर निर्माणको काम पूरा गरेको छ । बजेट अभावका कारण पालिकामा भएका अन्य सबै पर्यटकीय गन्तव्यलाई आगामी दिनमा क्रमशः संरक्षण र प्रवद्र्धन गर्दै लगिने अध्यक्ष राईले जानकारी दिनुभयो । जिल्लाको दक्षिण सुनसरीको सिमानासँगै चुरे क्षेत्रमा अवस्थित पालिकाको केन्द्रका रुपमा रहेको भेडेटारमा पूर्वी तराई र भारतको बिहारबाट आउने पर्यटकको पहिलो आकर्षण रहेको छ ।

सुनसरीको धरान बजारबाट १६ किलोमिटरको दूरीमा रहेको भेडेटारमा प्रदेश राजधानी विराटनगर र इटहरी, इनरुवा लगायतका पूर्वी तराईका ठूला सहरबाट दैनिक सयाँै पर्यटक ओइरिने गरेका छन् । भारतको उत्तरप्रदेश, विहारलगायत स्थानबाट समेत यहाँ निजी सवारी लिएर आउन सहज भएकाले भेडेटार र आसपासका क्षेत्र सधँै पर्यटकको चहलपहल देखिने स्थलका रुपमा विकसित भएको छ ।

भेडेटार क्षेत्रमा सञ्चालनमा रहेको दुई सयभन्दा बढी सानाठूला होटलले विभिन्न कार्यक्रम, गोष्ठी, बैठक, सेमिनार गर्न सहज बनाएको छ । यहाँका होमस्टेले सुलभ खाना र बास सेवा दिने गरेका छन् । घुमफिर गरेर थाकेपछि यहाँ आराम र खानपान गर्न होटल तथा होमस्टे सञ्चालनमा रहेकाले पनि पर्यटकको आकर्षण बढेको होटल एसोसिएसन भेडेटारका सचिव रमेश श्रेष्ठले जानकारी दिनुभयो । यहाँ पूर्वी तराई र भारतबाट जाडोमा दैनिक दुई हजारभन्दा बढी र गर्मीमा सात हजारसम्म पर्यटक आउने गरेको उहाँले बताउनुभयो । तराईमा गर्मी हुँदा चिसो वातावरणका लागि यहाँ आउने र जाडोमा तराई क्षेत्रमा हुस्सु लागेर घाम नलाग्दा भेडेटारमा घाम ताप्न पर्यटक आउने उहाँले आफ्नो अनुभव सुनाउनुभयो ।

भेडेटारमा हाल साहासिक खेलतर्फ पर्यटकले जिपलाइन, प्याराग्लाइडिङ र तमोर नदीमा जलयात्रा (¥याफ्टिङ) को आनन्द लिन सक्नेछन् भने निकट महिनामा स्काई वाक, बञ्जी जम्प लगायतको आनन्द लिन पाउनेछन् । भेडेटार स्काई वाक परियोजनाअन्तर्गत रु २० करोडको लगानीमा भेडेटार बजार नजिक चाल्र्स प्वाइन्टमा विभिन्न साहसिक खेल पर्यटनको सुरुआत हुन लागेको छ ।

कोशी प्रदेश प्राधिकरणको अगुवाइ तथा धरान उपमहानगरपालिका र गाउँपालिकाको समन्वयनमा स्काई वाकसहित विभिन्न साहसिक खेलका लागि उक्त आयोजना सम्पन्न हुने चरणमा छ । पन्ध्र रोपनी क्षेत्रफलमा निर्माणाधीन उक्त परियोजना पूरा भएपछि भेडेटार आउने पर्यटकको सङ्ख्या बढ्ने विश्वास गरिएको छ । यसले वार्षिक रु छ लाख यहाँको आय थपिने लक्ष्य रहेको परियोजनाका निर्देशक इञ्जिनीयर सञ्जीव रोकाहाले जानकारी दिनुभयो ।

पाँच रोपनी निजी र ११ रोपनी सरकारी जमिनमा सञ्चालन हुन लागेको यो आयोजना २५ वर्षका लागि भाडामा सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । निर्माण पूरा हुने चरणमा रहेको उक्त परियोजनाअन्तर्गत स्काई वाक, बञ्जी जम्प, मेगा ट्रोल, एज वाक, चिल्ड्रेन एक्टिभिटी, जिप लाइन र स्काई साइक्लिङ खेल रहनेछन् ।

पाँचवटा तलामा रेष्टुराँ रहने स्काई टावरको सबैभन्दा माथिल्लो तलामा पर्यटकले स्काई स्विङ (पिङ) को रोमाञ्चक अनुभव पनि लिन सक्नेछन् । परियोजना सञ्चालनमा आएपछि ५० जनाले प्रत्यक्ष र करिब दुई सय जनाले अप्रत्यक्ष रोजगारी पाउने निर्देशक रोकाहाले जानकारी दिनुभयो । भेडेटारमा हाल प्याराग्लाइडिङ र जिपलाइन सञ्चालनमा रहेका छन् भने थप लगानीको जिप लाइन निर्माणको चरणमा रहेको छ ।

सेन शासनकालमा विजयपुरका लिम्बू राजा सन्यक हाङले आफ्नो राज्य सुरक्षाका लागि विसं १४२१ मा यस साँगुरीगढीको निर्माण गरेको इतिहास रहिआएको छ । जसका कारण यस गढीलाई संन्यक यक (गढी) को नामले पनि चिनिन्छ । हाङले मोरङमा शासन गर्दा आफ्नो राज्यको उत्तरी सीमा सुरक्षाका लागि साँगुरीगढी बनाएको इतिहासमा उल्लेख छ । यस स्थानबाट हिमाल, पहाड र तराइका समथर भूभाग र नागबेली सप्तकोशी नदी बगेको दृश्य देख्न पाइन्छ ।

यस स्थानको अवलोकन गर्न दैनिक पाँच सयभन्दा बढी पर्यटक पुग्ने गरेको वडाध्यक्ष दीपक मगरले जानकारी दिनुभयो । बजारको नजिक धनकुटा जाने कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डमा पर्ने सिम्सुवा गाउँमा नमस्ते झरना रहेको छ । सदाबहार हरियाली जङ्गलको बीचमा करिब ८० मिटर उचाइ रहेको यो झरनामा दैनिक पूर्वी नेपाल र पश्चिम भारतका पर्यटकको ओइरो लाग्ने गर्दछ । यहाँ दैनिक दुई हजारदेखि दुई हजार पाँच सयको हाराहारीमा पर्यटकहरु आउने गरेको स्थानीय दिलीप लिम्बूले जानकारी दिनुभयो । भेडेटारबाट पाँच किलोमिटर भेडेटार–धनकुटा सडक खण्डमा रहेको यो झरनामा साहसिक खेल क्यानोइङ गर्नेहरुको आकर्षणका रुपमा रहेको छ ।

विशेष गरेर ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्षमा यहाँ साना सवारी लिएर आउने भारतीय पर्यटकको अधिक भीडले लाग्ने गरेको छ । विसं २०६४ सम्म सुनसान रहेको यो स्थान अहिले पर्यटकले भरिभराउ हुने गरेको छ । झरना भएको यस स्थानबाट नाम्जे गाउँसम्म करिब तीन किलोमिटर लामो पदमार्गले यहाँको पर्यटन प्रवद्र्धनलाई थप सहयोग पुगेको छ । भेडेटार बजारबाट उत्तर–पश्चिम करिब तीन किलोमिटर चुरे पहाडमा पाथीभरा मन्दिर रहेको छ । यो मन्दिर भेडेटार आउने धार्मिक पर्यटककोे आकर्षणका रुपमा रहेको छ ।

ताप्लेजुङ जिल्लाको ठूलो पाथीभराको शाखाका रुपमा रहेको यो मन्दिरमा आफूले भाकल गरेर मनोकाङ्क्षा पूरा भएपछि कुखुराको भाले तथा बोकाको बलि दिने गरिन्छ । आधा बाटो सवारीसाधन र आधा बाटो पैदल हिँड्नुपर्ने यस मन्दिरमा दैनिक एक सय ५० भन्दा बढी धार्मिक पर्यटक पुग्ने वडा अध्यक्ष मगरले जानकारी दिनुभयो ।

त्यस्तै भेडेटारबाट एक किलोमिटर दक्षिण–पूर्वमा निर्माणाधीन भेडेटार–रवी–राँके सडक खण्डमा मगर संस्कृति र रहनसहनले प्रख्यात रहेको नाम्जे गाउँ छ । गाउँको सडक क्षेत्रमा सहरीकरण बढ्दै गए पनि नाम्जे गाउँका मगर आज पनि खेतीपाती, गोठालो, घाँस दाउरा लगायतका दैनिकीमा व्यस्त देखिन्छन् ।

दुईसय भन्दा बढी सघन मगरबस्ती भएको नाम्जे गाउँले यही दिनचर्यालाई यस क्षेत्रको पर्यटन आकर्षणको आधार बनाएको छ । नाम्जेमा अहिले दैनिक एक सय ५० जनालाई सेवा दिने क्षमताको ३५ वटा मगर जातिको घरबास (होमस्टे) सेवा सञ्चालनमा रहेको छ । जसमा २५ वटा होमस्टेले सक्रिय रुपमा सेवा दिइरहेको नाम्जे थुम्की सामुदायिक होमस्टेका अध्यक्ष अनिल मगरले जानकारी दिनुभयो । होमस्टेमा बसेर यहाँको जीवनशैली हेर्न, गाउँमा उत्पादित अग्र्यानिक सब्जी, खानपान, पेयपदार्थ र हुर्रा नाचका लागि नाम्जेमा पर्यटकको आकर्षण रहेको छ । “गर्मी मौसममा नाम्जेका होटल र होमस्टे खचाखच भरिन्छन्,” मगरले भन्नुभयो, “बस्ने ठाउँ नपुगेर पर्यटक फर्केर जाने गरेका छन् ।”

नाम्जे आउने पर्यटक यहाँ निर्मित आधुनिक होटलभन्दा होमस्टेमा बसेर जान मन पराउने मगरले जानकारी दिनुभयो । जाडोका कारण पर्यटकको कमी आएर होमस्टेमा दैनिक १५÷२० जना आए पनि शुक्रबार र शनिबार भरिभराउ हुने उहाँले जानकारी दिनुभयो । यस गाउँमा बनाइएको मगर जातिका एक सय १३ जनाको सामूहिक समाधिस्थल (आत्मा घर) यस क्षेत्रको अर्को आकर्षण रहेको छ ।

जर्मन आर्किटेक्ट डिजाइनरले यहाँ बस्ती बस्न थालेदेखि विसं २०६५ सम्ममा देहान्त भएका मगर जातिको समाधिलाई एकत्रित गरेर ढुङ्गाबाट संयुक्त समाधि बनाएका छन् । यसका साथै कोशी प्रदेश सरकारको रु एक करोड ४४ लाखमा निर्माणाधीन बृहत् जनजाति पार्क तथा बौद्ध गुम्बाका कारण पनि नाम्जेमा पर्यटकको आकर्षण रहेको स्थानीयवासी टङ्क भुजेलले जानकारी दिनुभयो ।-रासस

Related Articles

Leave a Reply

Back to top button