बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

सन्तोष गौतम / रासस
म्याग्दी, १५ असोजः बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापाले लत्ताकपडा, भाँडाकुँडा र खाद्यान्न खेतमा तरकारी खेती गर्न बनाइएको प्लास्टिक थुपार्नुभएको छ । घरभित्र पसेको बाढीको हिलो पन्छाउँदै बचेका सामान घाममा सुकाउनु उहाँको पछिल्लो चार दिनयताको दैनिकी बनेको छ ।
कालीगण्डकीमा यही असोज ११ गते आएको बाढीले आनन्दबगरका आठ वटा घरभित्रै पसेर ठूलो क्षति पु¥यायो । बाढीले केही सामान बगायो भने बाँकी सामान हिलाम्मे भएका छन् । भिजेका छन् । चार दिन बितिसक्दा पनि घरभित्रका सामान निकालेर सफा गर्ने काम सकिएको छैन ।
“तीन भाइका सँगै रहेका तीन वटा घरको आधा तलासम्म बाढी पसेको थियो,” रुद्रबहादुरले भन्नुभयो, “केही सामान बगायो । बचेका सामान खोजेर सरसफाइ र संरक्षण गर्ने काम चार दिनसम्म पनि सकिएको छैन । अब कहाँ बस्ने भन्ने टुङ्गो छैन ।”
व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका रुद्रबहादुरको समय अहिले खेतमा भन्दा बाढीले क्षति पु¥याएको घर र सामान व्यवस्थापनमै बितिरहेको छ । कालीगण्डकीमा फेरि बाढी आउने त्रासले साँझ आफन्तको घरमा गएर सुत्ने र बिहान आनन्दबगर फर्किएर घरभित्रको हिलो पन्छाउने उहाँको दिनचर्या बनेको छ ।
रुद्रबहादुरको जस्तै पीडा भोजबहादुर जिसी, पम्मी जिसी, सविना जिसी र मानबहादुर खत्रीलगायत आनन्दबगरवासीको पनि छ । नदी किनारदेखि करिब २० मिटर दूरीमा रहेको बस्तीमा यसअघि यसरी बाढी पसेको आफूलाई थाहा नभएको ६० वर्षीया कमला जिसी बताउनुहुन्छ ।
“कालीगण्डकीमा मैले थाहा पाएदेखिकै ठूलो बाढी आयो,” उहाँले भन्नुभयो, “बाढीले भिजाएका सामान त धोइपखाली गरौँला तर बस्ती नै छोडेर जानुपर्ने अवस्था आउला भन्ने चिन्ताले सताएको छ ।”
जीवनभरको मेहनत खर्चिएर बनाएको घर बाढीले पुरिएर बस्नै नमिल्ने अवस्थामा पुगेपछि कमलाको मन खिन्न छ । घरमा भएका खाद्यान्न पनि बाढीले बगाएपछि उहाँको परिवारलाई बाससँगै गासको चिन्ता थपिएको छ ।
रातको त्रास
आनन्दबगरका ८० वर्षीय कालुमान थापाका लागि यसपटकको बाढी जीवनभरको सम्झनामा रहेको मध्यको सबैभन्दा ठूलो हो । कालीगण्डकीको बाढी तटबन्ध र सडक नाघेर घरभित्र पसेपछि उहाँले भागेर ज्यान जोगाउनुभयो ।
“बेनीमा रहेका आफन्तले फोन गरेर बाढी आएको जानकारी गराए,” उहाँले भन्नुभयो, “राति करिब १२ः०० बजेको थियो । त्यसपछि भागेर ज्यान बचाउन सफल भयौँ ।” अहिले पनि कालीगण्डकीको बहाव बढेको देख्दा स्थानीयवासी तर्सिन्छन् । दिनभर घर सफा र सामान व्यवस्थापन गरे पनि राति आफ्नै घरमा सुरक्षित भएर सुत्न सकिने अवस्था नरहेको उनीहरुको गुनासो छ ।
तरकारी खेतीबाट आत्मनिर्भर बनेको बस्ती
मालढुङ्गा–बेनी सडक निर्माण हुनुअघि बागलुङ र पर्वततर्फबाट म्याग्दी आवतजावत गर्ने मानिसले आनन्दबगरको पदमार्ग प्रयोग गर्थे । सडक विस्तार भएपछि भने यहाँका बासिन्दाले व्यावसायिक तरकारी खेतीलाई आम्दानीको मुख्य माध्यम बनाएका थिए ।
सानो क्षेत्रफलमा तरकारी खेती गरेर स्थानीय बजारमा बिक्री गर्ने रुद्रबहादुरसहितका किसान स्वरोजगार र आत्मनिर्भर बन्दै आएका थिए तर अहिले बाढीले घरसँगै घरवरपरका करेसाबारीमा लगाएको तरकारी बालीमा क्षति पु¥याएको छ ।
बाढीले आनन्दबगरको खेलमैदान पुरेको छ । बेनीबाट आनन्दबगर जोड्ने सडक पहिरोका कारण क्षतिग्रस्त बनेको छ । खानेपानीको संरचनामा क्षति पुगेपछि स्थानीयवासीलाई थप समस्या भएको छ ।
आनन्दबगरको माथिल्लो बस्ती भने दुई वर्षअघि कालीगण्डकी नदी किनारमा निर्माण गरिएको पक्की पर्खालका कारण बाढी र कटानबाट जोगिएको स्थानीयवासी लालबहादुर थापाले बताउनुभयो । नदी किनारको बस्ती संरक्षणका लागि दीर्घकालीन संरचना निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।
“आनन्दबगरलाई तटबन्ध गरेर सुरक्षित र बस्नयोग्य बस्ती बनाउनुपर्छ,” स्थानीयवासी सविना जिसीले भन्नुभयो, “अहिले घरमा बस्न सकिने अवस्था छैन । बाढीको त्रास पनि उस्तै छ ।”
राहतसँगै दीर्घकालीन संरक्षणको माग
बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले पछिल्लो वर्षापछि आएको बाढीले वडाभित्र सबैभन्दा ठूलो क्षति आनन्दबगरमा भएको बताउनुभयो । उहाँका अनुसार सिममा एउटा र अर्जममा दुई वटा घरमा क्षति पुगेको छ ।
बाढीपहिरो प्रभावित परिवारलाई खाद्यान्नलगायत राहत सामग्री उपलब्ध गराइएको उहाँले बताउनुभयो । खानेपानी आपूर्ति सहज बनाउन नगरपालिकामा पहल भइरहेको र दीर्घकालीन रुपमा बस्ती संरक्षणका लागि सङ्घीय सरकारको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।
“आनन्दबगरमा अल्पकालीन राहतको व्यवस्था मिलाएका छौँ । खानेपानीको समस्या समाधान गर्न पहल गर्छौं,” वडाध्यक्ष थापाले भन्नुभयो, “दीर्घकालीन रुपमा बस्तीलाई सुरक्षित बनाउन तटबन्धलगायत संरचना निर्माणका लागि सङ्घीय सरकारको सहयोग आवश्यक छ ।”
कालीगण्डकीको किनारमा रहेको आनन्दबगरले केही वर्षयता व्यावसायिक तरकारी खेतीबाट आफ्नो पहिचान बनाउँदै आएको थियो तर बाढीले यहाँका परिवारको घर, खाद्यान्न, खेतीपाती र भविष्यप्रतिको भरोसामा नै क्षति पु¥याएको छ ।
बाढीपछि घरको आँगनमा थुप्रिएको हिलो, खेतमा पुरिएको तरकारी र प्लास्टिक घरभित्र थुपारिएका घरायसी सामानले आनन्दबगरवासीको बदलिएको दैनिकी देखाउँछन् । उनीहरुको अहिलेको प्राथमिकता बाढीले बगाउन बाँकी रहेका सामान जोगाउनु र सुरक्षित बासको खोजी गर्नु बनेको छ । दीर्घकालीन रुपमा बस्ती संरक्षण नभए कालीगण्डकीको किनारमा पुस्तौँदेखि बस्दै आएका परिवारलाई आफ्नो थातथलो छाड्नुपर्ने अवस्था आउन सक्ने चिन्ता बढेको छ ।
–––




