आदिवासी

मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा

मुस्ताङ, २२ भदौः मुस्ताङको घरपझोङ गाउँपालिका–३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले परम्परागत रूपमा मनाउने फालो पर्व आइतबारबाट सुरु भएको छ । हरेक वर्ष भदौ महिनामा मनाइने भएकाले स्थानीय थकाली भाषामा यस पर्वलाई ‘फालो’ भनिन्छ ।

थकाली समुदायको उद्गमस्थलका रूपमा परिचित ठिनी गाउँ ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । स्थानीयका अनुसार थकाली राजाले शासन गरेको यस गाउँमा पुस्तौँदेखि फालो पर्व मनाइँदै आएको छ ।

फालो पर्वका अवसरमा ठिनी गाउँमा दुई दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुन्छन् । पर्वको पूर्वसन्ध्यामा गाउँका लामाले प्रकृतिको विशेष पूजा गरेपछि स्थानीयवासीले उनीहरूबाट आशीर्वाद लिने परम्परा छ ।

प्रकृति पूजा गर्न जाने क्रममा स्थानीय महिलाले लामालाई खादासहित फूलमाला लगाएर सम्मानका साथ बिदाइ गर्ने परम्परा छ ।

स्थानीय लामा श्यामप्रसाद थकालीका अनुसार फालो पर्वमा हिमाललाई साक्षात् भगवानका रूपमा मानेर पूजा गरिन्छ । गाउँमा कुनै अनिष्ट नहोस्, रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस्, प्राकृतिक विपत्ति नआओस् र विश्वमा शान्ति छाओस् भन्ने कामनासहित प्रकृति पूजा गरिने उहाँले बताउनुभयो ।

पछिल्लो समय विपद्का घटना बढ्दै गएको र रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीबाट ठूलो जनधनको क्षति भएको स्मरण गर्दै उहाँले यस्ता घटना नदोहोरिउन् भन्ने कामनासमेत प्रकृति पूजामा गरिने बताउनुभयो ।

ठिनी गाउँका स्थानीयवासी फालो पर्वको पूर्वसन्ध्यामा घोडामा सवार भएर प्रकृति पूजाका लागि नमखुलेक क्षेत्रमा पुगेका छन् । पर्वमा सहभागी हुने लामालाई गाउँका महिलाले परम्परागत रूपमा सम्मानसहित बिदाइ गरेका छन ।

प्रकृति पूजा गर्न गएको टोली दुई दिनपछि गाउँ फर्कनेछ । टोली फर्किएपछि मात्र फालो पर्व औपचारिक रूपमा सुरु हुने स्थानीय बताउँछन् । पर्वमा याक नाच, जोगी नाच, तमाया नाचलगायत सांस्कृतिक झाँकी प्रस्तुत गरिन्छ । दुई दिनसम्म सञ्चालन हुने पर्व धार्मिक विधि तथा परम्पराअनुसार समापन गरिनेछ ।

Related Articles

Back to top button