रसुवाका बाढीपीडितलाई एनआरएनएले तत्काल पाँच करोड रुपैयाँ सहयोग गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य उपचार तथा पुनःस्थापनाका लागि तत्काल पाँच करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
बुधबार आकस्मिक रूपमा बसेको संघको भर्चुअल बैठकले बाढी प्रभावित क्षेत्रमा राहत सामग्री र स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरेको हो। राहत तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न संघका अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी राहत तथा उद्धार मूल समिति’ गठन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा पुर्याउन एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको सहयोगमा चिकित्सकसहितको विशेष टोली परिचालन गरिने भएको छ। उक्त टोलीले प्रभावित नागरिकको स्वास्थ्य परीक्षण, प्राथमिक उपचार तथा आवश्यक औषधि वितरण गर्नेछ।
राहत अभियानका लागि आवश्यक रकम जुटाउन कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरिएको छ। त्यसैगरी, उपाध्यक्ष मनोज गोर्खालीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र महासचिव डा. चिरञ्जीवी खड्काको संयोजकत्वमा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) परिचालन समिति गठन गरिएको छ। नेपाल सरकारसँग आवश्यक समन्वय गर्ने जिम्मेवारी संघका प्रमुख कार्यकारी राजेन्द्रकुमार राउतलाई दिइएको छ।
बैठकमा एनआरएनए यूके, क्यानडा, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, जापान, सेसेल्स, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र चीनलगायत विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्हरूले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख संरक्षक बद्री केसीलगायतको सहभागिता रहेको बैठकले विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायलाई यस विषम परिस्थितिमा बाढीपीडितको उद्धार तथा राहत अभियानमा सहभागी हुन आह्वान गरेको छ।
यसैबीच, रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट उत्पन्न गम्भीर परिस्थितिलाई ध्यानमा राख्दै एनआरएनएले आफ्ना पूर्वनिर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णयसमेत गरेको छ।






