प्रवास

प्रतिभा नक्षत्र यूकेको सातौँ संस्करणमा नेपाली कला–संस्कृतिको जीवन्त प्रस्तुति

लन्डन। गत १६ अगस्त २०२६ मा साउथ–इस्ट लन्डनको प्लमस्टेड कमनस्थित ग्रीनविच रग्बी क्लबको मैदानमा प्रतिभा नक्षत्र यूकेको सातौँ संस्करण सम्पन्न भएको छ।

बेलायतमा जन्मिएर हुर्किएका नेपाली बालबालिका तथा युवालाई नेपाली कला, संस्कृति, भाषा र परम्परासँग जोड्ने परिचित मञ्चका रूपमा प्रतिभा नक्षत्र स्थापित भएको छ। कार्यक्रममा सहभागी बालबालिका तथा युवाले विभिन्न सांस्कृतिक एवं प्रतिभामूलक प्रस्तुति दिएका थिए।

प्रतियोगितामा बालबालिका तथा किशोरकिशोरी गरी २५ जनाले नृत्य, गायन, वक्तृत्वकला तथा अन्य विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। सहभागीहरूले भगवान् गौतम बुद्ध, विश्वको सर्वोच्च शिखर सगरमाथा तथा नेपालको कला, संस्कृति र पहिचानलाई आफ्ना प्रस्तुतिका विषय बनाएका थिए। नेपाली राष्ट्रिय पोसाक र गरगहनामा सजिएका उनीहरूले मौलिक बाजा, गीत, सङ्गीत र नृत्यमार्फत नेपालीपन झल्काएका थिए।

युवा विधातर्फ ट्रिस्टा एमडी विजेता बनिन् भने विधि बुढाथोकी प्रथम उपविजेता र अल्बर्ट गुरुङ द्वितीय उपविजेता भए। त्यसैगरी, बालबालिका विधातर्फ शेष श्रेष्ठ विजेता, सारा गुरागाईं प्रथम उपविजेता र अभिनव साउद द्वितीय उपविजेता घोषित भए।

प्रतिभा नक्षत्रका संस्थापक निर्देशकमध्येका एक लछुमन गुरुङले स्वागत मन्तव्य दिएका थिए। पासा पुचः गुथि यूकेका अध्यक्ष सुशील प्रजापतिले कुमारी परम्परा र यसको सांस्कृतिक महत्त्वबारे जानकारी गराएका थिए। कार्यक्रममा विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो।

संस्कृतिप्रेमी राजेन्द्र खसको परिकल्पनामा सन् २०१७ मा सुरु भएको प्रतिभा नक्षत्रले डायस्पोरामा रहेका नेपाली बालबालिका तथा किशोरकिशोरीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मञ्च प्रदान गर्नुका साथै उनीहरूलाई नेपालसँग जोड्ने उद्देश्य राखेको छ। यसले नेपाली कला, संस्कृति, भाषा, साहित्य र परम्पराको प्रवर्द्धन गर्दै नयाँ पुस्तामा नेपाली पहिचान हस्तान्तरण गर्ने लक्ष्य लिएको छ।

यस वर्ष कार्यक्रमस्थलमा नमुना नेवारी, थारू र खस घरसहितको ‘प्रतिभा नक्षत्र गाउँ’ निर्माण गरिएको थियो। नेपाली हस्तकला, गरगहना, खानाका परिकार, भेषभूषा तथा परोपकारी संस्थासम्बन्धी विभिन्न स्टल पनि राखिएका थिए। नौमती र धिमे बाजा, र्‍याम्प वाक, प्रश्नोत्तर, नृत्य तथा गायन कार्यक्रम थप आकर्षण बनेका थिए।

कार्यक्रममा नेपाली समुदायसँगै बेलायती तथा अन्य समुदायका व्यक्तिहरूको समेत उल्लेख्य उपस्थिति थियो। यस वर्ष बेलायतबाहेक आयरल्यान्ड, जर्मनी, बेल्जियम र नेदरल्यान्ड्सबाट समेत प्रतियोगी तथा सहभागीहरू आएका थिए। प्रतिभा नक्षत्रकी कार्यवाहक अध्यक्ष विजया दाहालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिन्।

Related Articles

Back to top button