युकेमा ‘आदिवासी मेला–२०२६’ झाँकी, खेलकुद र सम्मानसहित सम्पन्न
युके। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले गत ८ अगस्ट २०२६ मा लन्डननजिकै वकिङको ग्याम्बल्स लेनमा ‘आदिवासी मेला–२०२६’ आयोजना गरी ३२औँ विश्व आदिवासी दिवस मनाएको छ।
युकेका लागि नेपाली राजदूत विपिन दुवाडीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष विश्वासदीप तिगेला, एनआरएनए युके राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष प्रेम गाहा मगर, नेपाल पत्रकार महासंघ युकेकी अध्यक्ष विमला सेनेलगायत नेफिनमा आबद्ध १३ वटा जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
मेलाको मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका १४ वटा सांस्कृतिक झाँकी प्रस्तुत गरिएका थिए। झाँकी प्रतियोगितामा किरात राई यायोक्खा युके प्रथम, किरात याक्थुङ चुम्लुङ युके दोस्रो, मगर संघ युके तेस्रो र थारु समाज युके चौथो भएका थिए।
मेलामा विभिन्न जातजातिका परम्परागत खाद्य परिकार, हस्तकला तथा व्यापारिक प्रयोजनका स्टलहरू राखिएका थिए। नेपालबाट आमन्त्रित कलाकारहरू दीपा सुहाङ, राजेन्द्र केरुङ, अस्मिता राना र लक्ष्मण लिम्बूलगायतले विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।
विश्व आदिवासी दिवसका अवसरमा नेफिन युकेका निवर्तमान अध्यक्ष कर्म पहाडी शेर्पालाई ‘वर्ष पुरुष–२०२६’ र निवर्तमान वरिष्ठ उपाध्यक्ष लीला सेलिङ माबोलाई ‘वर्ष महिला–२०२६’ का रूपमा सम्मान गरिएको थियो। त्यसैगरी, प्रमुख अतिथि, अन्य पाहुना, विभिन्न जातीय संघसंस्था, कलाकार तथा समाजमा उदाहरणीय कार्य गरेका व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमको अर्को प्रमुख आकर्षणका रूपमा आयोजित भलिबल प्रतियोगितामा यस वर्ष २६ टोली सहभागी भएका थिए। प्रतियोगिता सहज रूपमा सञ्चालन गर्न छवटा खेलमैदान तयार पारिएका थिए। पुरुष मुख्यतर्फ स्याङ्जा समाज युके विजेता हुँदा ग्रिनविच भलिबल परिवार उपविजेता बनेको थियो। भेट्रानतर्फ ग्रिनविच भलिबल परिवार युके विजेता र मोना भलिबल क्लब युके उपविजेता बनेका थिए। त्यसैगरी, महिलातर्फ मोना युके महिला भलिबल क्लबले उपाधि जित्दा विनचेस्टर भलिबल क्लब युके उपविजेता बनेको थियो।
नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा सम्पन्न समारोहमा आदिवासी महिला महासंघकी अध्यक्ष युमा लिम्बूले स्वागत मन्तव्य दिएकी थिइन् भने महासचिव फारामबहादुर दुराले कार्यक्रम सञ्चालन गरेका थिए। यस बर्ष कार्यक्रमको संयोजन उाध्यक्ष विमला कुमारी राईले गरेकी थिइन् । नेपाल आदिवासी जनजाति महासंघ सन् २००९ मा गठन भई संचालनमा रहेको छ ।
हरेक वर्ष ९ अगस्टमा विश्वभर विश्व आदिवासी दिवस मनाइन्छ। यस वर्षको नारा ‘आदिवासी सुँडेनीहरूको सम्मानः जीवन र कल्याणको संरक्षण’ रहेको थियो।




