जनता समाजवादी पार्टीको विचारधारा र समाजवादको पुनर्भाष्य- डम्बर खतिवडा

एकातिर नेकपा छ । विशालकाय संगठन र करिब दुइतिहाईको प्रचण्ड बहुमतसहित सत्तारुढ । व्यवहारमा के–के गर्दैछ, सत्ता र शक्तिको कसरी दुरुपयोग गर्दैछ, त्यसको भिन्नै हिसाबकिताब छ । सिद्धान्त ‘समाजवाद’ नै भन्छ । मार्क्सवादी–लेनिनवादी समाजवादको कुरा गर्दछ ।

अर्कोतिर नेपाली कांग्रेस छ । लामो इतिहास र राम्रै जनमत भएको प्रमुख प्रतिपक्षी दल । २०४६ पछि उसले कस्तो आर्थिक नीति लियो, त्यसका आधारमा समाजवादी भन्न मिल्ने हो कि हैन, त्यसको पनि भिन्नै हिसाबकिताब छ, तर सिद्धान्त ‘समाजवाद’ दावी गर्छ । बीपी विचारमा आधारित प्रजातान्त्रिक समाजवादको कुरा गर्दछ ।

समाजवादीहरु (तथाकथित ?) को यो होडमा, यो दौडमा, यो भीडमा ‘तेस्रो वैचारिक ध्रुव’ बनाउन चाहनेहरुले, ‘राष्ट्रियताहरुको मुक्तिका लागि बहुराष्ट्रिय–राज्य’ स्थापना गर्न चाहनेहरुले, जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, लैंगिक, भौगोलिक आदि विभेद अन्त्य गरी सीमान्तकृत समुदायको मूलप्रवाहीकरण गर्न चाहनेहरुले, ‘समावेशी–समानुपातिक सहभागितामुलक लोकतन्त्र’ को ढाँचा अपनाउन चाहनेहरुले, उत्पादक शक्तिको विकास, उत्पादनशील अर्थतन्त्र, चुस्त र कामकाजी प्रशासन यन्त्रमार्फत् सुशासन र समृद्धि प्रत्याभूत गर्न ‘वैकल्पिक विचार र शक्ति’ निर्माण गर्न चाहनेहरुले फेरि आफूलाई किन ‘समाजवादी’ नै भन्नु पर्‍यो ?

जनता समाजवादी पार्टीको नाम मै ‘समाजवाद’ छ । समाजवादका के कस्ता परिभाषा र अर्थ छन् ? जसपाले भन्ने गरेको समाजवादको अर्थ र परिभाषा कहाँकहाँनेर भिन्न छ वा छैन ? कतै यो नेकपा र कांग्रेसकै जस्तो समाजवाद त हैन ? यदि हैन भने किन र कसरी ? यी प्रश्न निसन्देह अहम् छन् ।

मुख्य राजनीतिक विचारधाराहरु

यो बहसको अन्तर्यसम्म पुग्न राजनीतिक विचारधाराहरुको सामान्य ज्ञान हुन जरुरी छ । ती विचारधाराबीच तुलनात्मक अध्ययन हुनु पर्दछ । विचारधाराहरु बीच मिल्ने/नमिल्ने विषय वस्तुको भेद गर्नु पर्दछ । मिल्ने र संगतिपूर्ण चिजहरु फरक विचारधाराबाट पनि लिन सकिन्छ । असत्य, गलत र अनौचित्यपूर्ण भए आफैसँगका चिजहरु पनि छोड्नु पर्ने हुन्छ । सत्यको खोज र विनिर्माण गर्ने तरिका यही हो ।

अन्ततः दिक–काल सम्बन्ध (स्पेश एण्ड टाइम रिलेसन) का आधारमा विचारधाराको सृजनशिलतालाई पुनर्भाष्यीकरण गर्नुपर्ने हुन्छ । सैद्धान्तिक तवरले जसपाको समाजवादलाई बुझ्न यी प्रक्रियाबाट जसकसैले गुज्रिने साहस गर्नु पर्दछ । त्यो पनि निर्ममतापूर्वक । सत्यले कुनै मोलाहिजा स्वीकार गर्दैन ।

विश्व राजनीतिमा आजसम्म देखा परेका मुख्य विचारधारालाई उदारवादी (लिवरल), सम्वर्द्धनवादी (कन्जर्भेटिभ), साम्यवादी (कम्युनिष्ट), समाजवादी (सोसलिष्ट), राष्ट्रवादी (नेशनाष्टि), फासीवादी (फासिष्ट), धार्मिक कटट्रतावादी (रिलिजियस फन्डामेन्टालिष्ट), संघवादी (फेडेरालिष्ट) जैविकतावादी (इकोलजिष्ट), अराजकतावादी (अनार्किष्ट), महिलावादी (फेमिनिष्ट) गरी मुख्य ११ भागमा बाँड्न सकिन्छ ।

उदारवाद (Liberalism) दार्शनिक रुपले उपयोगितावाद तथा प्रयोजनवादको राजनीतिक अभिव्यक्ति हो । ‘लिवरल’ ल्याटिन भाषाको ‘लिवर’ बाट बन्यो । अर्थ हुन्छ– ‘फ्रि’ अर्थात् स्वतन्त्र । ‘लिवरलिज्म’ लाई नेपालीमा ‘उदारवाद’ भन्ने चलन छ । लिवरल विचारधाराको सार तत्व– फ्रिडम अर्थात् स्वतन्त्रता हो । त्यो पनि मूलतः राजनीतिक स्वतन्त्रता, आर्थिक, सामाजिक, सांस्कृतिक स्वतन्त्रतालाई यस अवधारणाले राम्ररी समेट्न सक्दैन ।

उदारवादका मुख्य दुई तत्व छन् । फ्रि म्यान (स्वतन्त्र व्यक्ति) र फ्रि मार्केट (स्वतन्त्र बजार) । सँगसँगै केही सिद्धान्त जोडिएर आउँछन् । जस्तै, व्यक्तिको सार्वभौमसत्ता, विचार अभिव्यक्ति र संगठनको स्वतन्त्रता, बहुलवादी राजनीति र दलीय स्वतन्त्रता, वालिक मताधिकार र आबधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको वैधानिक विपक्ष, निजी सम्पत्तिको अधिकार, पेशा/व्यवसाय छनौट, अबलम्बन र परित्यागको अधिकार, योग्यतातन्त्र, विधिको शासन, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायालय, सामाजिक विविधताप्रति सहिष्णुता, धार्मिक स्वतन्त्रता अझ कतिपय देशमा धर्म निरपेक्षता आदि ।

जसरी उदारवादको सारतत्व ‘स्वतन्त्रता’ हो, त्यसरी नै सम्वर्द्धनवाद (Conservatism) को सार तत्व ‘परम्परागत संस्कृति, समाजको मौलिक चरित्र र रुढीवादी नैतिक मूल्यको संरक्षण’ हो । सम्वर्द्धनवादले दैवी शक्ति वा निरपेक्ष परमशक्तिमा विश्वास गर्छ । शक्तिको एकत्वका विश्वास गर्दछ । वैयक्तिक पराक्रमले सामाजिक आर्दश स्थापना गर्ने धारणा राख्दछ । सम्वर्द्धनवादी नैतिकता र मूल्यपद्धति स्वतन्त्रता र समानतामा आधारित हुँदैन । त्यसले सामाजिक तप्का र परम्परागत पदसोपानक्रमलाई सामाजिक मूल्यप्रणालीको आधार मान्दछ ।

क्रान्तिले परम्परागत मर्यादा, नैतिक पद्धति र सामाजिक पदसोपानक्रमलाई नष्ट गर्दिने चिन्ताबाट सम्वर्द्धनवादको जन्म भएको थियो । विशेषतः बेलायती गौरवमय क्रान्तिबाट आत्तिएका कुलिनहरुले यो चिन्तन अगाडि बढाए । राजनीतिमा ‘टोरी दल’ बन्यो । सन् १८३० देखि यसलाई ‘कन्जर्भेटिभ पार्टी’ भन्न थाले । प्रारम्भमा सम्वर्द्धनवाद लोकतन्त्र विरोधी थियो । प्रकारान्तले बहुदलीय व्यवस्था स्वीकार गर्ने तर आर्थिक, सामाजिक नीति पुरानै कायम राख्ने गरियो । यसरी ‘नवसम्वर्द्धनवाद’ को जन्म भयो ।

युरोप र क्रिश्चियन समाजमा मात्र हैन, मुस्लिम, बुद्धिष्ट, हिन्दू समाजमा पनि सम्वर्द्धनवादको गहिरो प्रभाव छ । अधिकांश मुस्लिम जनसंख्या बहुल देशले संविधानमा ‘इस्लामिक राष्ट्र’ लेखेकाछन् । जापानको ‘लिवरल डेमोक्र्याटिक पार्टी’ले ‘जेन बुद्धिज्म’लाई दार्शनिक आधार मान्दछ । बर्मिज तथा श्रीलंकाली राजनीतिमा बुद्धिज्मको प्रभाव हुन्छ । भारतको जनसंघ तथा शिवसेना राजनीति, विजेपीको उदय र नेपालमा राप्रपा सम्वर्द्धनवादका उदाहरण हुन् ।

सम्वर्द्धनवादले भन्छ– ‘समाज हिजो ठीक थियो, राम्रो थियो, आज बिग्रियो । स्वतन्त्रता खोज्ने, समानता खोज्ने, नयाँ चिज खोज्ने, क्रान्ति गर्ने नाममा पुराना मान्यता भत्काइए । पुराना संस्था र प्रणाली फ्याँकिए । पुराना मान्यता, नैतिक मूल्य र आदर्शहरु भत्काइँदा समाज समाजजस्तो रहेन । आज समाज जसरी पथभ्रष्ट छ, दुःखी र खिन्न छ, त्यो क्रान्तिको परिणाम हो । क्रान्ति नराम्रो चिज हो । क्रान्ति हुनु नै समाजको दुर्भाग्य हो । आधुनिकताबाट प्रविधिलाई मात्र लिनु पर्छ, समाज र राज्यको चरित्र, संस्था र संस्कृति पुरानै हुनु पर्दछ, पुरानोमा फर्कियौं भने समाज फेरि राम्रो हुन्छ ।’

तेस्रो विचारधारा साम्यवाद (Communism) हो । कार्ल मार्क्सको ‘द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद’ को दर्शनबाट यो विचारधारा निसृत हुन्छ । साम्यवाद प्रारम्भमा समाजवादी आन्दोलनको एक सानो र कमजोर अंश थियो । सन् १९१७ मा ब्लादिमिर इल्युच उल्यानोभ अर्थात् लेनिन नेतृत्वको ‘रुसी सामाजिक जनवादी मजदूर पार्टी (बोल्शेभिक)’ रुसको सत्तामा पुग्यो । लेनिनले पार्टीको नाम परिवर्तन गरी ‘सोभियत संघको कम्युनिष्ट पार्टी’ बनाए । विश्वभरिनै लेनिनवाद समर्थकले यसको सिको गरे । समाजवादी तथा मजदुर पार्टीहरुको नाम परिवर्तन गरी ‘कम्युनिष्ट पार्टी’ राखियो ।

समाजवादी र साम्यवादीहरु बीचको मुख्य भिन्नता यहीनेरबाट शुरुवात भएको हो । समाजवादीहरुले ‘सर्वहारा अधिनायकत्व’, ‘एकदलीयता’ र ‘सोभियत सत्ता’ लाई स्वीकार गरेनन् । उनीहरुले ‘लोकतन्त्र विनाको समाजवाद कल्पना गर्न नसकिने’ देखे । सन् १९१९ मा कम्युनिष्ट पार्टीहरुको विश्व संगठन ‘कोमिन्टर्न’ बन्यो । अहिले अस्तित्वमा भएका ४६ देशमा साम्यवादी शासन स्थापित थिए । तर, सन् १९८९–१९९१ को लहरले अधिकांश देशमा कम्युनिष्ट शासनको पतन भयो । चीन, उत्तर कोरिया, भियतनाम, लाओस् र क्युवामा अझै कायम छन् ।

उदारवादको सारतत्व ‘स्वतन्त्रता’, सम्वर्द्धनवादको सारतत्व ‘परम्पराको संरक्षण’ भएजस्तै साम्यवादको सारतत्व ‘आर्थिक समानता’ हो । साम्यवादले ‘मानव समाजको उत्पत्ति निजी सम्पत्तिविहीन, वर्गविहीन र राज्यविहीन अवस्थाबाट भएको थियो, कुनै दिन फेरि निजी सम्पतिविहीन, वर्गविहीन र राज्यविहीन अवस्थामा पुग्ने’ विश्वास गर्दछ ।

साम्यवादले– ‘राज्य वर्गीय हुन्छ, राज्य वर्गीय दमनको हतियार हो, राजनीतिमा वर्गीय दमन अपहिरार्य आवश्यकता हो, पुँजीवादी राज्यले सर्वहारा वर्गको दमन गर्दछ, सर्वहारा राज्यले बुर्जुवा वर्गको दमन गर्नु पर्दछ, यो संघर्ष निर्मम वर्गसंघर्ष हो, यो संघर्ष कुनै दिन वर्गविहीनतामा पुग्दछ, त्यसपछि दमनको आवश्यकता नै रहँदैन’ भन्ने धारणा राख्दछ । साम्यवादले मुनाफालाई अतिरिक्त मूल्य भन्दछ । अतिरिक्त मूल्यलाई शोषण भन्दछ । मानवमुक्तिका लागि अतिरिक्त मूल्यहीन अर्थतन्त्रको कल्पना गर्दछ ।

चौथो विचारधारा समाजवाद (Socialism) हो । समाजवादको सारतत्व ‘समानता र स्वतन्त्रताको अविभाज्यता’ हो । स्वतन्त्रताको अभिव्यक्तिका रुपमा ‘लोकतन्त्र’ र समानताको अभिव्यक्तिका रुपमा ‘समाजवाद’ अक्षुण हुन्छन् । समानता, स्वतन्त्रता, सम्पन्नता र समावेशिताको ‘साझा सिद्धान्त’ लाई समाजवाद भनिन्छ । समाजवादी स्वतन्त्रताभित्र उदारवादको जस्तो राजनीतिक स्वतन्त्रता मात्र पर्दैन, आर्थिक, सामाजिक, सांस्कृतिक स्वतन्त्रता पनि पर्दछ ।

समाजवादले उदारवादले जस्तो स्वतन्त्रता वा साम्यवादले जस्तो समानताको एकाङ्की कुरा गर्दैन । स्वतन्त्रता र समानतालाई एकअर्काबाट छुट्याउनै नसकिने, एउटा नभए अर्को पनि नहुने शर्तका रुपमा हेर्दछ ।

सन् १८२७ देखि बेलायतबाट ‘सोसलिष्ट’ शब्द प्रयोग हुन थाल्यो । सन् १८३० पछि बेलायतका रबर्ट ओवेनवादी र फ्रान्सका सेन्टसाइमनवादीले आफूलाई औपचारिक ‘सोसलिष्ट’ घोषणा गरे । ‘सोसलिष्ट’ शब्द ल्याटिन भाषाको ‘सोसियर’ बाट बनेको हो, अर्थ हुन्छ– संयुक्त वा साझेदारी । व्यक्ति र समाज, सामुहिकता र निजत्त्व, निजी र सार्वजनिक, राज्य र नागरिकको संयुक्त साझेदारी र सहभागिता भएको भएको शासन व्यवस्थालाई ‘समाजवाद’ भनिन्छ ।

पाँचौ विचारधारा राष्ट्रवाद (Nationalism) हो । यो विचारधाराले एकातिर साम्राज्यवाद तथा उपनिवेशवाद विरोधी स्वाधिनता आन्दोलनलाई प्रेरित गर्दछ, अर्कोतिर बलिया, शक्तिशाली र प्रतिस्पर्धी राज्यहरु निर्माण गर्ने अभियानलाई संकेत गर्दछ ।

राष्ट्रवादको सारतत्व ‘देशप्रेम’ र ‘राष्ट्रिय स्वाधिनता’ हो । जाति, भाषा, धर्म, संस्कृति, अर्थतन्त्र, ऐतिहासिक परिबन्ध र मनोविज्ञान समान भएको मानव समूह र उनीहरुले अधिनमा राखेको भूगोललाई ‘राष्ट्र’ भनिन्छ । राष्ट्रको सम्प्रभुतालाई मुख्य मान्ने राजनीतिक विचारधारालाई ‘राष्ट्रवाद’ भनिन्छ । ‘राष्ट्रवाद’ को अतिशयोक्तिकरण हुँदै गए भने यो अन्धराष्ट्रवाद हुँदै, प्रभुत्ववाद र साम्राज्यवादतिर प्रवृत हुन्छ । राष्ट्रवादी चिन्तनमा नागरिक राष्ट्रवाद, नृजातीय राष्ट्रवाद र बहुसांस्कृतिकतावादी राष्ट्रवाद मुख्य तीनवटा धार हुन्छन ।

नागरिक राष्ट्रवाद राज्य– राष्ट्रको अवधारणामा बनेको हुन्छ । ठीक उल्टो नृजातीय राष्ट्रवाद राष्ट्र–राज्यको अवधारणाबाट बनेको हुन्छ । बहुराष्ट्रिय राज्य भने राज्य–राष्ट्र र राष्ट्र–राज्य दुवै भन्दा फरक बहुसांस्कृतिकतावादी राष्ट्रवादको अवधारणा हो ।

छैठौं– विचारधारा फासीवाद (Fascism) हो । फासीवाद ल्याटिन भाषाको ‘फासेस’ बाट बन्यो । रोमन साम्राज्यले ‘फलामे डन्डीको बिटोमा बन्चरो बाँधिएको’ चिन्ह प्रयोग गर्थ्यो त्यसलाई इटालियन भाषामा ‘फासियो’ भनिथ्यो । यो चिन्ह रोमन साम्राज्यमा शासकको शक्ति, प्राधिकार र एकत्वको प्रतिक थियो । फासीवाद ‘नृजातीय राष्ट्रवाद’ कै एक अतिवादी धार, अतिवादी विस्तार हो ।

सन् १९३२ मा प्रकाशित बेनिटो मुसोलिनीको ‘फासीवादको सिद्धान्त’ (The Doctrine of Fascism) लाई यस विचारधाराको घोषणापत्र मानिन्छ । फासीवादको सारतत्व कुनै राज्य–राष्ट्रभित्र कुनै नश्लीय वा सांस्कृतिक अनुवंशको सर्वोच्चताको दावी हो । फासीवादले– ‘श्रेष्ठ जातिहरुले नै श्रेष्ठ राज्य, श्रेष्ठ साम्राज्य र श्रेष्ठ सभ्यता निर्माण गर्न गर्दछन् । जुन जातिहरुले त्यस्तो राज्य र सभ्यता निर्माणमा ऐतिहासिक भूमिका गरेका हुन्छन्, उनीहरुको सर्वोच्चता र अग्राधिकार कायम हुनु पर्दछ’ भन्ने मान्यता राख्दछ । अर्थात् फासीवादले कुनै खास मानव समुदायलाई ‘श्रेष्ठ’ र अन्य मानव समुदायलाई ‘निकृष्ट’ ठान्दछ ।

जर्मन आर्यहरु श्रेष्ठ जाति हुन्, यो जाति विश्वविजेता हुन लायक छ भन्ने हिटलरको विचार थियो । मुसोलिनीको फासीवाद रोमन जातिको सर्वोच्चता र हिटलरको नाजीवाद जर्मन जातिको सर्वोच्चतामा आधारित थियो ।

सातौं– विचारधारा धार्मिक कट्टरतावाद (Religious Fundamentalism) हो । यस विचारधारामा ‘राष्ट्र निर्माण र राज्यसंचालनको नैतिक प्राधिकार धर्मबाट उत्पति हुन्छ’ भन्ने विश्वास गरिन्छ । यो विचारधाराले ‘विपरित धर्मसँगको प्रतिरोध विना धर्म रक्षा र विस्तार गर्न सकिन्न । तसर्थ ‘धर्मयुद्ध’ इस्लामिक शब्दमा ‘जेहाद’ स्वभाविक र जायज हो भन्ने धारणा राख्दछ । निश्चित धार्मिक भावनाबाट अभिप्रेरित राज्य र समाज नैतिक रुपमा बलियो हुन्छ, त्यस्तो राज्यले राम्रो विकास र प्रगति गर्न सक्छ’ भन्ने धारणा राख्दछ ।

धार्मिक कटटरतावाद र सम्वर्द्धनवाद झटट् हेर्दा उस्तैउस्तै लाग्दछन् । तर अन्तर्यको भिन्नता हुन्छ । सम्वर्द्धनवादले कुनै खास देश वा राज्यमा बहुमत जनताले मान्दै आएका धर्म, संस्कृति र परम्परालाई राज्यले विशेष महत्व दिनुपर्ने धारणा राख्दछ । तर अल्पमत धर्म र संस्कृतिसँग ‘जेहाद’ नै चलाउनु पर्ने आवश्यकता ठान्दैन । सम्वर्द्धनवाद अल्पसंख्यक धर्मालम्बीप्रति तुलनात्मक रुपमा उदार र सहिष्णु हुन्छ । तर धार्मिक कट्टरतावादी विचारधाराले ‘जुनसुकै मूल्यमा धर्मरक्षा गर्नु नै राजनीतिको सार तत्व हो’ ‘धर्म–युद्ध नै मानव जातिको इतिहासको सार हो’ भन्ने विश्वास गर्दछ ।

आठौं विचारधारा– संघवाद (Federalism) हो । संघवादले भन्छ– ‘सबै समाज वा राज्य एकसाथ उत्तिकै समरुप हुँदैनन् । जाति, भाषा, धर्म, संस्कृति, इतिहास, भूगोल र मनोविज्ञानको भिन्नता हुन्छ । राज्य बहुसांस्कृतिक अस्तित्व हो । जातीय, भाषिक र सांस्कृतिक समूहहरुको कूलयोग नै देश हो । राज्यले राष्ट्र निर्माण गर्दैन, राष्ट्रले राज्य गठन गर्दछ । राष्ट्र जस्तो छ राज्य त्यस्तै हुनु पर्दछ । सबै राष्ट्रिय समूहको योगदान र सहभागिताले राज्य बन्दछ, देश बन्दछ ।’ तसर्थ राष्ट्रिय समूहले आआफ्नो विशिष्टतामा स्वशासन पाउनुपर्दछ । प्रादेशिक तहमा ‘स्वशासन’ र केन्द्रमा ‘साझेदारी शासन’ संघवादको मूल मर्म हो ।

नवौं– विचारधारा जैविकतावाद (Ecologism) हो । जैविकतावादले सामाजिक बेथिति र मानवीय दुःखको मुख्य कारण वातावरणीय विनाश र प्राकृतिक असन्तुलनलाई मान्दछ । आर्थिक विकासको लोभमा हुने तीव्र औद्योगिकीकरण, त्यसका लागि प्राकृतिक स्रोतसाधनको असन्तुलित दोहन, जैविक असन्तुलन, कार्बन उत्सर्जन, जलवायु परिवर्तनआदि आधुनिक मानव सभ्यताका ठूला समस्या ठान्दछ । पृथ्वी, प्रकृत्ति, प्राणी र मान्छे बीच सन्तुलित सम्बन्ध निर्माण गर्नु राज्य र राजनीतिको दायित्व मान्दछ ।

जैविकतावादी राजनीतिक आन्दोलनको शुरुवात् सन् १९७० मा अष्ट्रेलियाबाट भएको थियो । सन् १९७२ मा गठन भएको ‘युनाइटेड तासमानिया ग्रुप’ विश्वकै पहिलो ‘ग्रिन पार्टी’ थियो । सन् १९८० जनवरी १३ मा ‘जर्मन ग्रिन पार्टी’ गठन भयो । जैविकतावादले भन्छ– ‘प्रकृति आजको एक पुस्ता मानिसको भोगाधिकारको वस्तु हैन, भविष्यमा जन्मिने पुस्ताको समेत अधिकारको विषय हो । सन्तुलित प्रकृति र स्वास्थ्य पृथ्वी नयाँ पुस्तालाई हस्तान्तरण गर्नु राज्यको कर्तव्य हो ।’

दशौं– राजनीतिक विचारधारा अराजकतावाद (Anarchism) हो । वलियम गुडविन (१७७६–१८३६) पियरे–जोसेफ प्रुधो (सन् १८०९–१८६५) जस्ता चिन्तकले यो विचारधारा अगाडि ल्याए । ‘अनार्कीको अर्थ हो– सबै प्रकारका प्राधिकारबाट स्वतन्त्र वा मुक्त हुनु’ ।

‘अनार्की’ ग्रिक भाषाको शब्द हो, यसको अर्थ हुन्छ– शासन नभएको । अराजकतावादले धार्मिक, सामाजिक, राजनीतिक संस्था वा राज्यको अस्तित्वलाई मानवीय संकटको कारण मान्दछ । मान्छेमाथि कुनै प्राधिकारपूर्ण विचार, बन्धन लाद्न जरुरी ठान्दैन । मान्छे स्वअनुशासित प्राणी हो । स्वअनुशासनमा मात्र वास्तविक स्वतन्त्रता हुन सक्दछ, त्यो नै लोकतन्त्रको उच्चतम् अवस्था हो भन्ने धारणा राख्दछ ।

एघारौं– विचारधारा महिलावाद (Feminism) हो । राजनीतिमा महिला सरोकारका विषयको प्रवेश र शसक्तिकरण गर्ने वैचारिक धारलाई महिलावाद भन्ने गरिन्छ । महिला विभेदको अन्त्य, महिला मताधिकार, महिला शिक्षा, सम्पतिमा महिलाको हक, वंश परम्परा, विवाह, बसाईसराई तथा अन्तर्देशीय विवाहमा महिला नागरिकताको प्रश्न, प्रजनन स्वास्थ्य तथा गर्भपतनको अधिकार, रोजगारीमा महिला आरक्षण र सुरक्षा, महिला कार्यघण्टा र महिलाजन्य विदा तथा सुविधा, महिला विरोधी प्रथा र अन्धविश्वास विरुद्धको सामाजिक जागरण, प्रेम विवाह र सम्बन्धविच्छेदको अधिकार, स्त्रीभूण हत्या विरुद्धको आन्दोलन र गर्भसुरक्षा, राजनीतिमा महिला सहभागिताआदि महिलावादी राजनीतिका मुख्य एजेण्डा हुन ।

जसपाको समाजवाद

जसपाको समाजवाद उपरोक्त विचारधाराहरुबाट पूर्णतः स्वतन्त्र र मुक्त एकल विचारधारा हैन । उपरोक्त विचारधाराका राम्रा पक्षहरु आफूमा समाहित गरेको र नराम्रा पक्षहरु परित्याग गरेको एक नव संस्कारित रुप हो । विनिर्मित तथा पुनर्भाष्यीत रुप हो ।

जसपाको समाजवादले संघवाद, जैविकतावाद र महिलावादलाई आफूमा पूर्णतः स्वीकार र समाहित गर्दछ । अर्थात् जसपाको समाजवाद भनेको संघवाद पनि हो, जैविकतावाद पनि हो, महिलावाद पनि हो । जसपाको समुन्नत संघीय समाजवादमा राजनीतिक विचारधाराका ४ आयामहरु समाजवाद, संघवाद, जैवितकतावाद, महिलावाद संगतिपूर्ण र समन्वयतात्मक सम्बन्धमा एकीकृत भएका हुन्छन् ।

जसपाको समाजवादले सम्वर्द्धनवाद, फासीवाद, अराजकतावाद र धार्मिक कट्टरतावाद भने पूर्णतः अस्वीकार र परित्याग गर्दछ । सम्वर्द्धनवादले जस्तो यसले क्रान्तिलाई खराबीको कारण मान्दैन । क्रान्ति, परिवर्तन र रुपान्तरणलाई दायित्व र कार्यभार मान्दछ ।

क्रान्ति बिना सामाजिक, आर्थिक, राजनीतिक परिर्वतनहरु हुँदैन । समाजको गति, विकास र समुन्नतिका लागि, शक्तिसन्तुलनको परिवर्तन र नयाँ चरणमा सामाजिक सम्झौताको नविकरणमा लागि निरन्तर क्रान्ति भइरहनु पर्दछ । आज नेपाली समाजको दुर्भाग्यको कारण क्रान्ति हैन, क्रान्ति अझै पुरा नहुनु, अधुरो रहनु हो ।

क्रान्तिको अर्थ केवल राजनीतिक सत्ता परिवर्तन गर्नु हैन । आर्थिक, सामाजिक र साँस्कृतिक सत्ता परिवर्तन गर्नु क्रान्तिको मुख्य उद्देश्य हो । नागरिक तहमा सहभागिता, आत्मसम्मान, सुशासन र समृद्धि प्रत्याभूत गर्नु क्रान्तिको मुख्य उद्देश्य हो ।

जसपाको समाजवादले नृजातीय राष्ट्रवादमा विश्वास गर्दैन तसर्थ फासीवादमा विश्वास गर्दैन । कुनै जाति श्रेष्ठ र कुनै जाति निकृष्ट हुन्छ भन्ने सोच आफैमा विभेदकारी सोच हो । आधुनिक लोकतान्त्रिक राज्यमा कुनै एक जाति, भाषा, धर्म र संस्कृतिको श्रेष्ठता वा सर्वोच्चताको सिद्धान्त स्वीकार्य हुनै सक्दैन ।

राज्य, विचार र संस्कृतिक प्रभाव विनाको मानव समाज व्यवहारिक रुपमा पुष्टि छैन, तसर्थ अराजकतावाद दार्शनिक तहमै संदिग्ध छ । यसलाई मान्न सकिन्न । धार्मिक कट्टरतावाद त झनै खतरनाक हो, त्यो मान्नै सकिन्न । यो विचारधाराले तालेवान, बोको हरामजस्ता अतिवादी संगठनहरु जन्माउँछ ।

जसपाको समाजवादले उदारवाद, साम्यवाद र राष्ट्रवादका राम्रा पक्ष ग्रहण गर्दछ, नराम्रा पक्ष त्याग गर्दछ । समाजवादले उदारवादको स्वतन्त्रता र लोकतन्त्रको अवधारणा मान्दछ तर निरपेक्ष बजारवादको अवधारणा मान्दैन । यहाँनेर ध्यान दिनुपर्ने कुरा के छ भने उदारवादीहरु परम्परागत प्रतिनिधिमुलक संसदीय लोकतन्त्रलाई लोकतन्त्रको आर्दश मान्दछन् । तर जसपाको समाजवादले लोकतन्त्रको नयाँ ढाँचा– ‘समावेशी, समानुपातिक र सहभागितामुलक लोकतन्त्र’को आदर्श स्थापना गर्दछ ।

उदारवादको खुल्ला बजार अर्थतन्त्रको साटो जसपाको समाजवादले सामाजिक बजार अर्थतन्त्रको मान्यता राख्दछ । यसको अर्थ बजारको स्वतन्त्रता नागरिक सर्वोच्चता वा उपभोक्ताको सर्वोत्तम हितको अधिनस्थ हुन्छ भन्ने हो । खुल्ला बजार अर्थतन्त्र र सामाजिक बजार अर्थतन्त्रबीच अन्तर्यको भिन्नता हुन्छ । खुल्ला बजारले मुनाफालाई हरहालतमा केन्द्रभागमा राख्दछ । सामाजिक बजार अर्थतन्त्रमा उपभोक्ताहितको अधिनस्थ मुनाफा हुन्छ ।

अर्को कुरा– उदारवादले अर्थतन्त्रका सबै क्षेत्रलाई खुल्ला बजारका लागि छोडी दिन्छ । सामाजिक बजार अर्थतन्त्रले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षाजस्ता आधारभूत मौलिक अधिकारका क्षेत्र खुल्ला बजारमा छोड्दैन, त्यसको दायित्व राज्यले लिन्छ ।

समाजवादले साम्यवादको श्रमिक वर्गको हित र आधारभूत आर्थिक समानताको सिद्धान्तलाई स्वीकार गर्दछ । साथै दार्शनिक तहमा ‘द्वन्द्ववादी विश्लेषण पद्धति’ लाई पनि सकारात्मक मान्दछ । तर बाँकी कुराहरु मिल्दैन । समाजवादीहरु ‘श्रमिक’ शब्द प्रयोग गर्दछ जबकी साम्यवादीहरु ‘सर्वहारा’ शब्द प्रयोग गर्दछन् । ‘श्रमिक’ र ‘सर्वहारा’ सतहमा उस्तैउस्तै लागे पनि अन्तर्यमा व्यापक भिन्नता भएका अवधारणा हुन । ‘श्रमिक’ भित्र ‘सर्वहारा’ पनि पर्दछ । तर ‘सर्वहारा’ भित्र सबै श्रमिकहरु पर्दैनन् ।

समाजवादले साम्यवादको एकल वर्गीय राज्यको सिद्धान्त, वर्गीय दमनको सिद्धान्त, एकदलीय प्रणालीप्रतिको वैचारिक तथा ऐतिहासिक विरासत, सर्वहारा अधिनायकत्व, सर्वहारा राज्य, राज्यविहीनता, वर्गविहिनता, निजी सम्पतिविहीनता, मुनाफाविहीनताजस्ता सिद्धान्त स्वीकार गर्दैन । साम्यवादले अमुक एक विचारलाई एक मात्र सही सिद्धान्त र बाँकी सबै विचार, सिद्धान्त गलत भन्ने एकांकी धारणा राख्दछ । समाजवादले वैचारिक तहमै बहुलता र विविधतालाई स्वीकार गर्दछ ।

त्यसैगरी समाजवादले राष्ट्रवादको स्वाधिनता र देशभक्तिको अवधारणा आफूमा समाहित गर्दछ । तर नागरिक राष्ट्रवाद, नृजातीय राष्ट्रवाद, एकल राष्ट्रिय राष्ट्रवाद, अन्धराष्ट्रवाद, प्रभुत्ववाद र साम्राज्यवादजस्ता मान्यताहरु मान्दैन । जसपाको समाजवाद– बहुसांस्कृतिकतावाद (मल्टिकल्चरालिज्म) का आधारित छ, यो सतही तबरले विरोधीहरु भने जस्तो ‘जातीय राज्य’ को अवधारणा होइन । ‘जातीय राज्य’ नृजातीय राष्ट्रवादको अवधारणाबाट निसृत हुन्छ । बहुराष्ट्रिय राज्य बहुसांस्कृतिकतावादको अवधारणाबाट निसृत हुन्छ । नृजातीय राष्ट्रवाद र बहुराष्ट्रिय राष्ट्रवाद भिन्न मात्र हैन, विल्कुल विपरित कुरा हुन् ।

उपरोक्त कारणहरुले आजको समाजवाद भनेको परम्परागत समाजवादको जस्ताको तस्तै फोटोकपी वा अन्धानुकरण हैन, यो विचारधाराको पुनर्भाष्य, पुनर्जन्म हो ।

समाजवादको काल–चिन्तन

आज हामी एक्काइशौं शताब्दिमा छौं । हाम्रा समय एक्काशौं शताब्दि हो । मार्क्सेली समाजवाद वा प्रजातान्त्रिक समाजवाद उन्नाइसौं र बीसौं शताब्दिका विचारधारा थिए । ती त्यतिखेरको चेतना र मानव ज्ञानका हिसाबले ठीकै थिए होला तर एक्काइशौं शताब्दिको मानव ज्ञान र चेतनाका लागि अपर्याप्त मात्र हैन, कतिपय हिसाबले असान्दर्भिक समेत छन् ।

एक्काइशौं शताब्दिसँग उन्नाइसौं र बीसौं शताब्दिका अनुभवहरुको समीक्षा गर्ने सुविधा छ । पछिल्लो करिब २ सय वर्षको ज्ञान, विज्ञान, प्रविधि, विचारधारा, राजनीतिक संघर्ष र राज्य सञ्चालनका अभ्यासहरुको समीक्षा गर्ने अवसर उपलब्ध छ । एक्काइशौं शताब्दिमा विगत शताब्दिका सिद्धान्त जस्तोको त्यस्तै अबलम्बन गर्नु हुँदैन ।

एक्काइशौं शताब्दिको काल चेतना र चरित्रअनुरुप समाजवादको पनि पुनर्भाष्य हुन्छ । जसपाको समाजवाद एक्काइशौं शताब्दिको समाजवाद हो । नेकपा र नेकाको जस्तो उन्नाइसौं वा बीसौं शताब्दिको समाजवाद हैन ।

समाजवादको स्पेश–चिन्तन

हाम्रो काल एक्काइशौं शताब्दि हो भने हाम्रो स्पेश दक्षिण एशिया र नेपाल हो । उन्नाइसौं वा बीसौं शताब्दिमा यूरोपको स्पेशमा बनेका समाजवादी चिन्तनहरु यहाँ लागू हुन सक्दैनन् । युरोपेली स्पेश वर्णव्यवस्थाविहीन थियो । दक्षिण एसियामा ‘वर्ण’ र ‘वर्ग’ एकअर्कामा छुट्याउनै नसकिने गरी टाँसिएका छन् । अझ कतिपय अवस्थामा ‘वर्ग’ भन्दा ‘वर्ण’ महत्वपूर्ण भएर आएको छ ।

बेष्टफालिया घोषणामा आधारित सरलीकृत ‘राष्ट्र–राज्य’ दक्षिण एशियामा सम्भव हुँदैन नत ‘राज्य–राष्ट्र’ को अवधारणाले नै यहाँको विविधतालाई सम्वोधन गर्न सक्दछ । दक्षिण एशिया वर्ग वा वर्ण आधारित मात्र छैन, यहाँ ‘राष्ट्रिय समुदाय’हरुको यति बाक्लो उपस्थिति छ कि उनीहरुको जाति, भाषा, धर्म, संस्कृति, इतिहास, मनोविज्ञान र आत्मसम्मानलाई मूलप्रवाहीकरण नगरिकन ‘राष्ट्रिय एकता’ हासिल हुन सक्दैन । राष्ट्रिय एकता र समान सहभागिताविना सुशासन, आर्थिक विकास र समृद्धि सम्भव नै हुँदैन ।

दक्षिण एशिया उत्पादक शक्ति र आर्थिक विकासमा पिछडिएको क्षेत्र हो । यहाँको उत्पादन सम्बन्ध युरोपको जस्तो सरलीकृत औधोगिक–उत्पादन सम्बन्ध हैन । युरोपमै पनि चौथो औधोगिक क्रान्तिसम्म आइपुग्दा पहिलो औधोगिक क्रान्ति ताकाका सिद्धान्तहरु आफैं असान्दर्भिक भएका छन् । दक्षिण एशियाली अर्थतन्त्रमा ग्रामिण तथा अनौपचारिक अर्थतन्त्र, विप्रषण र सेवागत क्षेत्रहरुको आफ्नै प्रकारको भूमिका छन् । कृषि मजदुर र गाउँले गरिब तथा सुकुम्बासीहरुको आफैं प्रकारको समस्या छ, जो औद्योगिक सर्वहाराको अवधारणासँग मेल खाँदैन । अर्थतन्त्रको दृष्टिकोणबाट पनि दक्षिण एशियाको स्पेश युरोपको भन्दा फरक हो ।

दक्षिण एशियाका आफ्नै दार्शनिक परम्परा र मूल्यमान्यता छन् । पूर्वीया दर्शनका कयौं आध्यात्मिक चिन्तन र क्रान्तिकारी चेतनाबाट युरोपेली समाजवादी धारणा लाभान्वित छैनन् । हाम्रो स्पेशमा यो अवसर उपलब्ध छ । यहाँ ध्यान, योग, आयुर्वेद, विपश्यना, मनोसाधनाजस्ता आत्मिक शुद्धी पद्धतिहरु छन् । अर्कोतिर बुद्ध, महावीर, कपिल, चार्बाकजस्ता भौतिकवादी चिन्तकहरुको प्रभाव छ । दक्षिण एशिया सयौं प्रकारको रैथाने संस्कृति र ज्ञान परम्पराका कारण युरोपभन्दा फरक छ । आर्थिक दृष्टिकोणले गरिब भए पनि आत्मिक दृष्टिकोणले समृद्ध छ ।

नेपालमा समाजवादको कुरा गर्दा युरोपेली शास्त्रीय समाजवादका सिद्धान्त पढ्ने, रट्ने र मार्गदर्शक भन्दै पछ्याउने हैन । हामीले दक्षिण एशियाली समाजको विशिष्टता र ज्ञान परम्पराको आलोकमा आफ्नो सिद्धान्तलाई पुनर्भाष्यीकरण गर्नु पर्दछ ।

निष्कर्षः समुन्नत संघीय समाजवाद

नेपालमा समाजवादको कुरा गर्दा जैविकतावाद, संघवाद र महिलावाद यसैमा समाहित छ भन्ने बुझ्नु पर्दछ । लोकतन्त्रको अझ लोकतान्त्रिकरण गर्नुपर्ने दायित्व अर्थात् परम्परागत प्रतिनिधिमुलक लोकतन्त्रलाई समावेशी–समानुपातिक–सहभागितामुलक लोकतन्त्रमा परिणत गर्नुपर्ने दायित्व यसैभित्र छ भन्ने बुझनु पर्दछ । निरपेक्ष बजारवादको साटो सामाजिक बजार अर्थतन्त्रको आर्थिक ढाँचा समाहित छ भन्ने बुझ्नु पर्दछ ।

एकदलीय सर्वहारावादी साम्यवादको परम्परा र विरासतबाट यो पूर्णतः मुक्त छ भन्ने बुझनु पर्दछ । यसले सम्वर्द्धनवाद, अराजकतावाद, फासीवाद र धार्मिक रुढीवादको विरोध गर्दछ भन्ने बुझ्नु पर्दछ । राष्ट्रवादलाई देशभक्ति, स्वाधिनता र बहुराष्ट्रिय राज्यको अवधारण अनुरुप ग्रहण गर्दछ भन्ने बुझ्नु पर्दछ ।

तसर्थ नेपालमा समाजवादको बहस कुनै परम्परावादी बहस हैन । यो एक सृजनशील बहस हो । ‘मार्क्सवादी– लेनिनवादी समाजवाद’ वा ‘प्रजातान्त्रिक समाजवाद’ अबको दुनियाँमा समाजवाद नै हैन । ती समाजवादको खोल ओडेर समाजवादकै बदनाम गर्ने असफल ऐतिहासिक प्रयत्नहरुको विरासत मात्र हुन् । विश्वभरि त ती असफल पुष्टि नै भएका छन्, नेपालमा पनि लगभग असफल भइसकेका छन् । बाँकी बचेको आशा तीव्र क्षयीकरण भइरहेको छ ।

नेपालमा समाजवाद एक फरक, मौलिक र सृजनशील अवधारणा हो । यो निष्कर्षको प्रतिबिम्ब हो– समुन्नत संघीय समाजवाद । जनता समाजवादी पार्टीको समाजवाद सम्बन्धी धारणा यसरी अरुको भन्दा बिल्कुल फरक, मौलिक, सामयिक र औचित्यपूर्ण छ ।

– Source courtesy: www.sajhapost.com