समाचार

धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि खुल्न थाले तमोर करिडोरमा नयाँ होटल

धनकुटा, २५ माघ : तमोर करिडोरअन्तर्गत धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि अहिले यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका छन् ।

सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत धनकुटाको मूलघाटबाट पाँचथरसम्मको एक सय १२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ । भारतको जोगवनीबाट पूर्वी नेपाललाई चीनको ओलाङ्चुङसँग जोड्ने यस करिडोर भएर दैनिक पूर्वी तराईलाई र पहाडका जिल्ला आवतजावत गर्न साना–ठूला सवारी साधन चल्ने गरेका छन् ।

करिडोरमा यातायातको चहलपहल बढेपछि अहिले धनकुटाको साँगुरी गाउँपालिका र चौबिसे गाउँपालिकामा पर्ने २८ किलोमिटर करिडोर सडक किनारमा होटल सञ्चालन गर्ने क्रम बढेको हो । पच्चीस वर्षअघि शिक्षा र अवसरका लागि धनकुटा सदरमुकाम आउनुभएका चौबिसे गाउँपालिका–३ का केशर लिम्बू अहिले आफ्नै ठाउँमा होटल गर्न फर्कनुभएको छ । उहाँले चौबिसे–४ फलामेटारमा यही महिनादेखि त्रिवेणी होटल सञ्चालन गर्नुभएको हो ।

दश वर्षका लागि जमिन र घरभाडामा लिएर रु २५ लाखको लागतमा होटल र लज सेवा सुरु गरेको लिम्बूले जानकारी दिनुभयो । हाल कच्ची सडक भएको अवस्थामा करिडोरबाट दुई सयभन्दा बढी साना–ठूला सवारी साधन आवतजावत गरिरहेका छन् । “हाल यस क्षेत्रमा दिन प्रतिदिन होटल थपिने क्रम बढेको छ”, उहाँले भन्नुभयो ।

यस्तै करिडोरको व्यापारिक सम्भावनालाई देखेर सोही स्थानमा जोरपाटी गाउँपालिका–४ का हरि ओझाले घरभाडामा लिएर रु सात लाख लागतमा होटल सञ्चालन गरिरहनुभएको छ । उहाँले दैनिक रु १५ हजारदेखि रु ३० हजारसम्म व्यापार गरिरहनुभएको छ । करिडोर कालोपत्र हुने भएपछि अहिले उक्त क्षेत्रमा होटलको सङ्ख्यामा वृद्धि भइरहेको उहाँले जानकारी दिनुभयो ।

चौबिसे–४ सदमटारकी ४३ वर्षीया सुस्मिता लिम्बू (राउत)ले पनि होटल सञ्चालन गर्नका लागि रु २० लाख खर्चेर पक्की घर बनाउनुभएको छ । कृषि पेसामा आबद्ध उहाँले सडक कालोपत्र भएपछि सानोतिनो होटल व्यवसाय सञ्चालन गर्ने मनस्थिति बनाउनुभएको छ ।

त्यस्तै साँगुरीगढी गाउँपालिका–१ का जीवन देवानले पनि धरान–धनकुटा कोशी राजमार्गको मुलघाटस्थित पाँचथर जाने करिडोर प्रवेशद्वार लाबरबोटेमा होटल व्यवशाय थाल्नुभएको छ । निर्माण व्यवसायी राईले यात्रु तथा यातायात व्यवसायीको सुझावमा आफ्नो दाजुसँगको सहकार्यमा यही माघदेखि रु १० लाखको लागतमा होटल व्यवशाय सुरु गर्नुभएको हो ।-रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button