समाचार

गुरुङ सम्पदा पदमार्गमा थपिँदै पूर्वाधार

गण्डकी, २५ वैशाखः कास्कीको मादी गाउँपालिकाका सिक्लेस, ताङतिङका साथै लम्जुङ जिल्लाका घनपोखरा लगायतका गन्तव्यबाट मनाङको तिमाङसम्म जोडिने गुरुङ सम्पदा पदमार्गमा पूर्वाधार थपेर त्यसलाई यात्रा पर्यटनको आकर्षक गन्तव्य बनाइने भएको छ ।

सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हराउने र छोटिने क्रम बढिरहेको अवस्थामा गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको सक्रियतामा यसको प्रवद्र्धनसँगै पूर्वाधार निर्माणको काम अघि बढाइएको हो । यस अघि चरणगत रुपमा स्थलगत अध्ययन अनुसन्धानपछि सो पदमार्गको औपचारिक घोषणा गरिएको थियो ।

प्रकृति, संस्कृति र इतिहासको सङ्गमका रुपमा रहेको यो पदमार्ग हुँदै गुरुङ बस्तीको कुरा गुरुङ समुदायको ‘प्ये ल्हु ताँ’ मा उल्लेख भएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका सल्लाहकार एवं गुरुङ सम्पदा पदमार्ग खोज तथा अन्वेषण कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले जानकारी दिनुुभयो । क्होलासोँथारमा विभिन्न चरणमा स्वदेशी तथा विदेशी विशेषज्ञहरूले गरेको पुरातात्विक अध्ययनले पनि यहाँको ऐतिहासिकता पुष्टि गरेको उहाँको भनाइ छ ।

क्होलासोँथरको पुरातात्विक महत्वका भग्नावशेषहरुको संरक्षण गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकेमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न सकिने उल्लेख गर्दै संयोजक गुरुङले सो पदमार्गसँग जोडिएका कास्की र लमजुङका गाउँमा अझै पनि भोटबाट नुन बोक्दाका कथा व्यथा सुन्न पाइने बताउनुुभयो । सङ्घले प्रवद्र्धन गरिहेको यो पदमार्ग नै तत्कालीन समयको नुनको व्यापारिक बाटो भएको उल्लेख गर्दै उहाँले वर्तमानमा पनि पदमार्गमा भेटिने बिसौनी तथा चौतारी नुनको व्यापारिक मार्गको जीवन्त साक्षी बनेका उहाँको भनाइ छ ।


खोज तथा अनुसन्धानका क्रममा सङ्घले एउटा मूल पदमार्गसहितका आवश्यकता र चाहनाअनुसार सञ्चालनमा ल्याउन सकिने सहायक पदमार्ग पहिचान गरेको छ । यी पदमार्गमा पर्यटकले पाँचदेखि १० दिनसम्म बिताउन सक्ने संयोजक गुरुङले बताउनुभयो । पछिल्लो समयमा यहाँको प्रवद्र्धनसँगै पूर्वाधार विकासका लागि विभिन्न प्रयास निरन्तर अघि बढीरहेको जिकिर गर्दै उहाँले अत्यावश्यकीय पूर्वाधार तयार भएपछि आगामी असोजदेखि सो पदमार्गलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी छ ।

गण्डकी प्रदेश सरकारले सो पदमार्ग क्षेत्रका चौरुबाट तप्रो, तप्रोबाट तिउँजे ताल, हेगुबाट क्होलासोंथारसम्म पदमार्गको मर्मत तथा स्तरोन्नतिका लागि रु २० लाख बिनियोजन भइ काम अघि बढाउन लागिएको उहाँले बताउनुभयो । पदमार्ग क्षेत्रकै कर्पु डाँडादेखि क्होलासोंथार हुँदै कोरी ठूलीलेकसम्म अन्नपूर्ण संरक्ष्ण क्षेत्र आयोजना (एक्याप) को रु चार लाख लागत सहयोगमा सङ्केत चिन्ह राखिएका बोर्ड राख्ने तयारी छ ।

पदमार्ग क्षेत्रकै सिक्लेस, ताङतिङ, कर्पु डाँडा, याङ्जाकोट, सिङ्दी, पसगाउँ, भुजुङ, घनपोखरा, घलेगाउँ र पुमा गाउँमा नेपाल पर्यटन बोर्डको सहयोगमा गुरुङ सम्पदा पदमार्गको नक्साङ्कनसहितको सूचना पाटी राख्ने तयारी छ । पदमार्गमा जाने पर्यटकका लागि मोवाइल सम्पर्कलाई सहज बनाउने उद्देश्यले यस क्षेत्रको फुर्जु देउराली र कोरीमा नेपाल टेलीकमले टावर राख्न पहल गरिरहेको संयोजक गुरुङले बताउनुभयो ।


उक्त पदमार्गको विभिन्न चरणमा गरिएको खोज तथा अनुसन्धानपछि पहिचान गरिएका अत्यावश्यक पूर्वाधार विकास सङ्घको प्राथमिकतामा रहेको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले बताउनुभयो । अत्यावश्यकीय पूर्वाधार विकास भएसँगै यो पदमार्ग पदयात्रा पर्यटनको महत्वपूर्ण विकल्पका रुपमा स्थापित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Related Articles

Back to top button