स्थानीय

‘पञ्चकन्या जाल्पादेवी’ मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै

भोजपुर, १७ वैशाखः भोजपुरको हतुवागढी गाउँपालिका-४ कटहरे लुङथुङमा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पञ्चकन्या जाल्पादेवी मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण डाँडाकाँडाबीच रहेको यो देवस्थल स्थानीयवासीको गहिरो आस्था र विश्वासको केन्द्र भए पनि यसको प्रभावकारी प्रचारप्रसार नहुँदा पहिचान अझै विस्तार हुन सकेको छैन । स्थानीयवासीका अनुसार पञ्चकन्या जाल्पादेवी अत्यन्तै शक्तिशाली देवीका रूपमा पूजिँदै आएकी छन् ।

यहाँ हरेक वर्ष वैशाख पूर्णिमाको पञ्चमी र मङ्सिर पूर्णिमाको पञ्चमीमा विशेष पूजाआजा तथा भव्य मेला लाग्ने गर्दछ । उक्त अवसरमा आसपासका गाउँहरू मात्र नभई टाढाटाढाबाट पनि भक्तजनको उपस्थिति रहने गरेको छ । स्थानीयवासी जनक कार्कीले देवीप्रतिको आस्था निकै गहिरो रहेको बताउनुभयो ।

“पञ्चकन्या जाल्पादेवी अत्यन्तै शक्तिशाली देवी हुनुहुन्छ”, उहाँले भन्नुभयो, “यहाँ पूजा तथा दर्शनका क्रममा लापरबाही गरिएमा तत्कालै कुनै न कुनै विपत्ति आइपर्ने जनविश्वास छ ।” उहाँका अनुसार विशेष गरी विदेश यात्रा गर्नुअघि, नयाँ कामको थालनी गर्दा वा कुनै महत्वपूर्ण निर्णय लिनुअघि यहाँ वर (आशिष्) माग्ने चलन रहिआएको छ ।

देवस्थल आसपास रहेका शिलाहरूमा हल गोरु, हलो, नाग तथा विभिन्न देवीदेवताका आकृतिहरू प्रष्ट रूपमा देख्न सकिन्छ । यी आकृतिहरूले यो स्थानको धार्मिक तथा सांस्कृतिक महत्वलाई अझ बलियो बनाएको स्थानीय बताउँछन् । कतिपयले ती आकृतिलाई प्राकृतिक रूपमा बनेका दिव्य चिन्हका रूपमा लिने गरेका छन् भने कतिपयले यसलाई प्राचीन सभ्यता र संस्कृतिसँग जोडेर व्याख्या गर्ने गरेका छन् ।

प्राकृतिक रूपमा शान्त र मनोरम वातावरणमा अवस्थित यो मन्दिर धार्मिक पर्यटनको दृष्टिले पनि अत्यन्तै सम्भावना बोकेको क्षेत्रका रूपमा लिन सकिन्छ । यहाँबाट देखिने ग्रामीण जीवनशैलीले जो–कोहीलाई आकर्षित गर्ने क्षमता राख्दछ । तर, आवश्यक पूर्वाधारको अभाव, सडक पहुँचको सीमितता र प्रचारप्रसारको कमीका कारण यो क्षेत्र अझै ओझेलमै परेको छ ।



मन्दिरको संरक्षण तथा विकासका लागि वडा कार्यालयले पहल गरिरहेको वडाध्यक्ष चन्द्रबहादुर विष्टले जानकारी दिनुभय । उहाँका अनुसार आफू निर्वाचित भएपछि २०७६ सालदेखि बजेट विनियोजन गरी मन्दिर क्षेत्रको संरक्षण कार्य सुरु गरिएको हो ।

“पञ्चकन्या जाल्पादेवी हाम्रो वडाको महत्वपूर्ण धार्मिक सम्पदा हो”, वडाध्यक्ष विष्टले भन्नुभयो, “सीमित स्रोतसाधनका बाबजुद पनि हामीले घेराबारा निर्माण, सरसफाइ तथा सामान्य संरचना निर्माणजस्ता काम गरेका छौँ, तर अझै धेरै काम गर्न बाँकी छ ।”

वडा कार्यालयको बजेट तथा स्थानीयवासीको श्रमदानसमेत गरी करिब रु १० लाखको लागतमा मन्दिर क्षेत्रको घेराबारा तथा संरक्षण कार्य सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो । आगामी दिनमा थप पूर्वाधार विकास, पदमार्ग निर्माण, सूचना बोर्ड स्थापना तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि पहल गरिने पनि उहाँले बताउनुभयो ।

स्थानीयवासीले समेत यस धार्मिकस्थलको संरक्षण, प्रवर्द्धन र उचित व्यवस्थापनमा सरोकारवाला निकायको ध्यान जानुपर्नेमा जोड दिएका छन् । स्थानीयका अनुसार यदि यस स्थानको उचित प्रचारप्रसार तथा पूर्वाधार विकास गर्न सकिएमा यो क्षेत्र धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्न सक्नेछ ।

Related Articles

Back to top button

This will close in 0 seconds