लेख

महाकवि विद्यापतिको स्मृतिमा लक्ष्मण संवत् को चर्चा

–राकेशप्रसाद चौधरी/काठमाडौँ, १९ मङ्सिर (रासस) : नेपाल विभिन्न भाषा र धर्म मान्नेहरुको साझा थलो हो । यसै साझा फूलबारीमा मैथिली भाषाले आफ्नो छुट्टै विशिष्टता देखाउँदै आएको छ । नेपालभित्रको मिथिला, तराईभित्रको मिथिला वा मधेसभित्रको मिथिला जे भनिए पनि कुनै समयमा यो एउटा स्वतन्त्र र सार्वभौम रुपमा सत्ता सञ्चालन गरेको मात्र नभई गणराज्यमै रहेको थियो ।

मैथिली संस्कृति, भाषा, साहित्य अथवा परम्पराको चर्चा महाकवि विद्यापतिको योगदानबिना असम्भव प्रायः छ । विद्यापतिको इतिहासको चर्चा गर्नेले पटकपटक लक्ष्मण संवत्को चर्चा गर्नैपर्छ । यस संवत्को चर्चाबिना उहाँको इतिहास लेख्न सकिएला तर यो पाठकलाई भ्रमित पार्ने काममात्र हुने देखिन्छ । अहिले पनि केही मिथिलावासीले लक्ष्मण संवत्लाई जीवित राख्ने प्रयास गरिरहे पनि जनजिब्रोमा विद्यापतिको जत्तिकै चर्चा पटक्कै छैन । मिथिलामा प्रचलित अधिकांश पञ्चाङ्गमा लक्ष्मण संवत्् राख्ने गरिएको छ । यसलाई मिथिला संवत्कै रुपमा पनि धेरैले चर्चा गर्ने गरेका छन् ।

बङ्गालको सेनवंशीय शासक बल्लाल सेनको मातहतमा मिथिला क्षेत्रका राजाहरुले कर चुक्ता गरी यस क्षेत्रमा शासनसत्ता सञ्चालन गर्ने गरेका थिए । बल्लाल सेनको शासनकाल सन् ११६० देखि ११७८ सम्म रहेको मानिन्छ । उहाँका पुत्र लक्ष्मण सेन सत्तामा आएपछि सेनशासनकै अधिनमा रही मिथिलामा नरसिंह देवले शासन सञ्चालन गरिरहेको मुगल राजा अकबरका समकालीन मुल्ला तकियाको वयाज (डायरी)मा उल्लेख छ ।

लक्ष्मण संवत्् बल्लाल सेनले सञ्चालनमा ल्याएको देखिन्छ किनभने राजा लक्ष्मण सेनको जन्म सन् १११८ मा भएको हो । उहाँको पहिलो जन्मोत्सवबाट अर्थात् सन् १११९ बाट नै लक्ष्मण संवत्को सुरुआत भएको देखिन्छ । लक्ष्मण सेनले सन् ११७८ मा ६० को वर्ष उमेरमा राजा भई सन् १२०६ सम्म सत्ता सञ्चालन गरेका थिए । त्यसपछि पनि विश्वरुप सेन, केशव सेनसहितका बङ्गालका सेनवंशीहरुले शासन व्यवस्था सञ्चालन गरे पनि लक्ष्मण सेनले कब्जा गरेका केही भूभागहरु मुस्लिम शासकहरुको हातमा पुगिसकेको थियो । पछिसम्म पनि राजा नरसिंह देवले कर तिरेर दिल्लीका मुस्लिम शासक र बङ्गालसँग सम्बन्ध बनाएका थिए ।

शिव सिंहको जन्म हुनुभन्दा अगाडिसम्म रामसिंह देव, भक्तिसिंह देव, भूपालसिंह देव र हरिसिंह देवले यस क्षेत्रमा राज्य सञ्चालन गरेका थिए । यस क्षेत्रमा पटकपटक विदेशी शासकहरुले आक्रमण गरे पनि सत्ता यी राजाहरुकै हातमा थियो । गयासुद्दीन तुगलकको आक्रमणबाट हार खाएका राजा हरिसिंह देव उत्तर पहाडतर्फ पलायन भएका थिए । काठमाडौँ उपत्यकामा राज्य सञ्चालन गरेका प्रताप मल्लको अभिलेखमा समेत यस कर्णटबंशी राजाहरुको नाम उल्लेख छ ।

सिमरौनगढको राज्यको अस्तित्व मेटाएर यस क्षेत्रलाई तुगलकाबाद प्रान्तको रुपमा तिरहुतको प्रशासन दरभङ्गाबाट सञ्चालन गर्दै केही समयपछि पुनः ओइनवार वंशको जिम्मा लगाइएको थियो । यो राज्यका शासकले दिल्लीका बादशाहलाई कर तिर्नुपर्दथ्यो । हरिसिंह देव सन् १३२५ सिमरौनगढबाट पलायन भएको तथा दरभङ्गामा ओइनवार वंशको राज्य व्यवस्था सन् १३५२ देखि सुरु भएको मानिन्छ ।

मिथिलाको हरेक भाषिक, सांस्कृति एवं सामाजिक पक्षमा निरन्तर अनुसन्धान एवं लेखनी गर्ने डा रामदयाल राकेशले कर्णाटवंशीय राजा शिव सिंहले लक्ष्मण संवत् २९३ मा महाकवि विद्यापतिलाई आश्रयका लागि तामपत्र दिएको उल्लेख गर्दै नेपाल सरकारले नेपाल संवत्जस्तै लक्ष्मण संवत्लाई मान्यता दिनुपर्ने धारणा राख्नुहुन्छ । उमेरमा महाकवि विद्यापति राजा शिव सिंहभन्दा दुई वर्ष जेठो हुनुहुन्थ्यो । लक्ष्मण संवत्् २४१ मा विद्यापति तथा २४३ मा शिव सिंहको जन्म भएको कुरामा अधिकांश इतिहासकार एकमत देखिएका छन् । हुनतः कुनै पनि रचनामा उहाँको आफ्नो जन्मकाल उल्लेख छैन । इतिहासकारहरुले ‘कीर्तिलता’ बाट राजा गणेश्वरको हत्या लक्ष्मण संवत् २५२ मा भएको आधारमा दुबैको जन्म तिथि अङ्कित गरेका हुन् ।

भीमनाथ झाको ‘परिचायिका’ कृतिमा अवहट्ट गीतको जगमा लक्ष्मण संवत् २४१ मा महाकवि विद्यापतिको जन्म भएको दाबी गरिएको छ । यसलाई केहीले सन् १३५० तथा केहीले सन् १३६० मा विद्यापतिको जन्म भएको मत दिने गरेका छन् । लक्ष्मणााब्द २९३ शक १३२४ को चैत्र महिनाको कृष्ण षष्ठी ज्येष्ठा नक्षत्र देव सिंहको मृत्यु भएकै दिन राजा शिव सिंहलाई सिंहासन जिम्मा लगाइएको थियो । पटकपटक युद्ध भइरहेको थियो । तीन वर्षपछि यवन सेनासँग असुरक्षित भएपछि रानी लखिमालाई महाकवि विद्यापतिको साथ लगाएर आफ्ना मित्र द्रोणवार वंशी राजा पुरादित्य–गिरी नारायणको आश्रयमा पठाइएको थियो । यो राज बनौली सप्तरी, सिरहा तथा महोत्तरीवासीले आ–आफ्नो जिल्लामा रहेको दाबी गर्दै आएका छन् । तथापि पुरातत्व हिसाबले यसका अवशेषहरु महोत्तरीको बनौली गाउँमा अझै रहेको देखिन्छ । यहाँ रहको पोखरीको किनार तथा नजिकको खेतबाट पुराना इँटा भेटिन्छ । यस किसिमको इँटा खेतधनीले लुकाउने गरेको पुराना पत्रकार बैधनाथ चौधरी बताउनुहुन्छ । विद्यापति डिह भनेर चिनिने यस गाउँमा विद्यापति प्रवेशद्वार समेत बनाइएको छ । त्यही प्रदेश सरकारले डिह नजिक रहेको पोखरीलाई सौन्दर्यकरण गरिरहेको छ ।

बनारस विश्वविद्यालय हिन्दी विभागका शिवप्रसाद सिंहले सन् १९५७ मा प्रकाशन गरेको विद्यापति विशेषमा मैथिली इतिहास एवं विद्यापति साहित्य कालको बारेमा अध्ययन गरेका कीलहार्न तथा जयसवालले सन् १११९ बाट लक्ष्मण संवत् प्रचलनमा आएकोमा एकमत रहेको लेखेका छन् । कीलहार्नले छ वटा तथा जयसवालले डेढ दर्जन प्राचीन मैथिली पाण्डुलिपिको आधारमा अध्ययन गरी कर्णाट, ओइनीवार वंशमा लक्ष्मण संवत्् उल्लेख दस्तावेज एवं रचनाहरुमा १११९ जोडेर काल निर्णय गर्न सकिने दाबी गरेका छन् । त्यही सन् १५३० पछिका दस्तावेज तथा रचनाहरुमा ११०९ जोड्दा मात्र वर्ष गणना गर्न सकिने उहाँहरुकै दाबी छ ।

प्रेम बहादुर खत्रीले २०४४ चैत्र महिनाको गरिमा वर्ष ६ अङ्क ४ मा प्रकाशन गराउनु भएको सिम्रौन गढ–एक विलुप्त नगरको चर्चामा उपत्यकाका मल्ल राजाहरु आफूलाई पनि कर्णाटबंशीय भनेर गौरव गर्ने गरेको उल्लेख छ । राज बनौलीमा १२ वर्ष निर्वासन बसेका बेला महाकवि विद्यापतिले लक्ष्मण संवत् २९९ मा संस्कृत भाषामा लिखनावली तथा ३०९ मा श्रीमद्भागवत पुराणको पदावली स्थानीय भाषामा रुपान्तरण गर्दै रानी लखिमादेवीलाई सुनाएका थिए । निर्वासनबाट आफ्नै गाउँ मिथिलाको विसफी फर्केका उहाँको २० वर्षपछि निधन भएको तर्क इतिहासहरुले गर्ने गरेका छन् । यसलाई अधिकांशले लक्ष्मण संवत्् ३४१ अर्थात सय वर्षको उमेरमा महाकवि विद्यापतिको निधन भएको बताउने गरिएको छ ।

यस क्षेत्रमा ‘विद्यापतिक आयु अवसान कार्तिक धवल त्रयोदशी जान’ भाष्य जनजिब्रोमा भएकोले हरेक वर्ष यस तिथिलाई आधार मानेर स्मृति दिवस मनाउने गरिएको छ । यो दिवसलाई आधार मानेर विभिन्न ठाउँमा हप्ता दिनसम्मको कार्यक्रम समेत गर्ने गरिन्छ । नेपालमा प्रचलित विभिन्न संवत््हरूबारे अध्ययन गर्नुभएका शङ्करमान राजवंशीले ‘विभिन्न संवत््हरूमध्ये लक्ष्मण संवत्् र तिनको सम्बन्ध’ विषयक अनुसन्धानपत्रमार्फत् नेपालसंवत््, विक्रमसंवत्् र शक संवत््बीचको वर्ष अन्तरबारेको जानकारी सार्वजनिक गर्नभएको छ । राजवंशीको अनुसन्धानपत्रमा नेपाल संवत््सँग ३५३–५४, शक संवत््सँग ११५४–५५ तथा विक्रम संवत््सँग १२८९–९० बर्षको फरकमा लक्ष्मण संवत्् रहेको उल्लेख छ ।

महोत्तरी चकवा निवासी पण्डित कृष्णदेव मिश्रका अनुसार अङ्ग्रेजी वर्षबाट ११०९ घटाएर लक्ष्मण संवत्् प्रयोगमा ल्याउने गरिएको छ । लक्ष्मण संवत््को नयाँ वर्ष प्रायः माघेसङ्क्रान्तिको अगाडि नै मनाउने गरिन्छ । महाकवि विद्यापतिले आफ्नो जीवनकालमा भूपरिक्रमा, विभाग सागर, दान वाक्यावली, पुरुष परीक्षा, शैवसर्वस्वसार, शैवसर्वस्यसार प्रमाणभूत पुराण सङ्ग्रह, गङ्गावाक्यावली, दुर्गाभक्ति तरंगणी, मणिमञ्जरी, खिनावली, गयापत्तलक, लर्षकृत्य तथा व्याडिभक्ति तरङ्गणी संस्कृत, कीर्तिलता तथा कीर्तिपताका अवहट्टमा एवं गोरक्ष विजय नाटक संस्कृतमा रचना गर्नुभएको हो । साथै, संस्कृत, अवहट्ट तथा मैथिली भाषाका सयौं पदावली रचना गरिएको हो । नेपालको पुस्तकालयमा समेत महाकवि विद्यापति लिखित पदावली सुरक्षित छ । नेपालमा मैथिली भाषाका महाकवि विद्यापतिलाई राष्ट्रिय विभूतिको मान्यतासँगै लक्ष्मण संवत््लाई नेपालको अन्य संवत्् जस्तै मान्यता दिइए अन्तरराष्ट्रिय स्तरमा प्रशंसा हुने देखिन्छ । (लेखक पत्रकार हुनुहुन्छ)

Related Articles

Leave a Reply

Back to top button