“योञ्जन एउटा सामान्य थर होइन, एउटा गौरवशाली इतिहास हो”

‘योञ्जन’ लेख्नु तामाङ सभ्यता र नेपाली संगीत–इतिहासप्रतिको सम्मान हो, र ‘योन्जन’ लेख्नु गोपाल योञ्जनजस्ता विभूतिको योगदानमाथिको अन्याय हो ।
– योञ्जन डी. चन्द्र
प्रस्तावना
थर केवल चिनारी होइन, त्यो मानिसको आत्मा हो, उसको इतिहासको आवाज हो । र उसको संस्कृतिको प्रतिबिम्ब हो । प्रत्येक थरमा कुनै न कुनै कथा लुकेको हुन्छ; त्यहाँ वंशको गौरव, परिश्रमको सुगन्ध र सभ्यताको धड्कन मिसिएको हुन्छ । त्यसैले कुनै पनि थरको लेखनमा हुने सानो गल्ती केवल अक्षरको त्रुटि मात्रै हुँदैन, हुनसक्दैन । त्यो एउटा जातीय थरको अस्तित्व र सांस्कृतिक गौरवमाथिको चोट पनि हो भन्ने ठम्याइ पङ्तिकारको हो । त्यसको एउटा संवेदनशील उदाहरण हो – ‘योञ्जन’ ।
केही संस्थागत अभिलेख, शैक्षिक निबन्ध वा सरकारी कागजातहरूमा यो थरलाई ‘योन्जन’ भनेर लेख्ने चलन फैलिँदै गएको छ, फैल्याउँदै लगिएको छ । सायद कसैले यसलाई सामान्य टङ्कणको विषय ठान्ला, तर भाषाको दृष्टिले यो सानो देखिने गल्ती तामाङ सभ्यताको गौरवशाली थरमाथिको अन्याय हो ।
‘योञ्जन’ भन्ने थर केवल केही अक्षरको समूह होइन; यो तामाङ समुदायको ऐतिहासिक अस्तित्व र आत्म–गौरवको परिचायक हो । यस थरका मानिसहरूले साहित्य, सङ्गीत, कला र ज्ञानका क्षेत्रमा दिएको योगदानले नेपाली पहिचानलाई सुदृढ बनाएको छ । खासगरी गोपाल योञ्जन जस्ता विभूतिको नामसँग जोडिँदा ‘योञ्जन’ शब्दको गहिरो अर्थ झन् विस्तृत हुन्छ । त्यो सिर्जनाको प्रतीक हो, नेपाली आत्माको स्वर हो, र तामाङ चेतनाको सुगन्ध हो ।
तर, जब त्यो गौरवशाली नामसँगै आउने या आएको थरलाई ‘योन्जन’ भनेर लेखिन्छ, त्यतिबेला केवल एउटा अक्षर हराउँदैन, त्यो नाममा निहित ऐतिहासिक पहिचान, सांस्कृतिक आत्मा र भाषिक सन्तुलन हराउँछ । ‘ञ्’ देवनागरी वर्णमालाको तालव्य पञ्चम वर्ण हो, जसको प्रयोग तब हुन्छ जब ‘ज्’ वा ‘ञ्’ को सह–ध्वनि आवश्यक हुन्छ । यसलाई हटाउँदा शब्दको मूल ध्वनि बिग्रन्छ, अर्थको गहिराइ हराउँछ, र तामाङ भाषिक संरचना अपूर्ण बन्छ ।
‘योञ्जन’ लेख्नु भनेको तामाङ मौलिकता, भाषिक सौन्दर्य र ध्वन्यात्मक नियमप्रतिको सम्मान हो तर ‘योन्जन’ लेख्नु भनेको त्यो मौलिकतालाई मिटाउने, एक अक्षरकै बहानामा शताब्दीय सभ्यता ओझेल पार्ने, र गोपाल योञ्जनजस्ता विभिन्न क्षेत्रमा योगदान गर्ने अन्य प्रतिभाको योगदानप्रति संवेदनहीन हुने कार्य हो ।
गोपाल योञ्जनले नेपाली गीतलाई केवल स्वर दिएनन्, उनले नेपाली माटो, नेपाली मन, र नेपाली आत्मालाई सङ्गीतमा रूपान्तरण गरे । उनले तामाङ माटोको सुगन्धलाई शहरी गीत-सङ्गीतको आत्मामा मिसाए । जब हामी उनको थरलाई नै बिगार्छौं, त्यो केवल ‘ञ्’ को ‘न्’ राख्ने साधारण गल्ती होइन, त्यो त उनले जगाएको पहिचान र संस्कृतिप्रतिको हाम्रो असावधानी हो ।
त्यसैले, यो प्रश्न केवल भाषिक होइन, आत्म–सम्मानको प्रश्न हो । हामी ‘योञ्जन’ लेख्छौं भने त्यो तामाङ सभ्यताको गौरव, नेपाली साङ्गीतिक इतिहासप्रतिको कृतज्ञता, र हाम्रो भाषिक चेतनाको इमान हो । तर ‘योन्जन’ लेख्ने अनि लेखाउन अनवरत मिहेनत गर्नेहरूलाई स्मरण रहोस्, सुन्दा सानो र सामान्य लाग्ने एउटा अर्ध वर्ण ‘ञ्’ हराउँदा केवल अक्षर हराउँदैन, एक वंशको गाथा, एक कलाकारको आत्मा, र एक समुदायको गर्व अर्थात् गौरव पनि हराउँछ ।
“योञ्जन एउटा सामान्य थर होइन, एउटा गौरवशाली इतिहास हो ।
त्यसैले ‘योञ्जन’ लेख्नु तामाङ सभ्यता र नेपाली संगीत–इतिहासप्रतिको सम्मान हो,
र ‘योन्जन’ लेख्नु गोपाल योञ्जनजस्ता विभूतिको योगदानमाथिको अन्याय हो ।”
व्याकरणीय प्रमाण (पञ्चम वर्णको नियम)
भाषा केवल बोल्ने माध्यम होइन, त्यो मानिसको आत्मा हो । हरेक अक्षर, हरेक ध्वनिभित्र एउटा बाँचिरहेको इतिहास हुन्छ । एउटा संस्कृतिको लय बाँचिरहेको हुन्छ, एउटा समुदायको सास अर्थात् जीवन त्यहीँ निहित हुन्छ । त्यसैले व्याकरण केवल नियम होइन; त्यो हाम्रो चेतनाको लय हो, जसले हामी को हौँ भन्ने बताउँछ ।
देवनागरी लिपिमा पाँच नासिक ध्वनिहरू छन्, तिनीहरू ङ, ञ, ण, न, म हुन् । यी पाँच अक्षरहरूलाई नै ‘पञ्चम वर्ण’ भनेर चिनिन्छन् । यी केवल ध्वनिका प्रतीक होइनन्, यी त मानव उच्चारणका नक्सा हुन्, जिब्रो, तालु, दाँत र ओठको मिलनबाट जन्मिएका स्वरहरू हुन् । प्रत्येकको आफ्नो घर छ, आफ्नै पहिचान छ ।
त्यसमध्ये ‘ञ्’ तालुमा जन्मिन्छ, त्यसैले जसलाई ‘तालव्य नासिक व्यञ्जन’ भनिन्छ । जब कुनै शब्दमा ‘ज’, ‘च’, ‘झ’ वा ‘छ’ जस्ता तालव्य ध्वनि आउँछन्, त्यसअघि ‘ञ्’ आउनै पर्छ । यो कुनै बनावटी नियम होइन, यो त ध्वनिको स्वभाव हो, जस्तै – सास र स्वर सँगै चल्यो भने मात्रै गीत बन्छ ।
त्यसका सुन्दर उदाहरणहरू यस प्रकार छन् – सञ्जय (San + Jay → सञ्जय), मञ्जरी (Man + Jari → मञ्जरी), गुञ्जन (Gun + Jan → गुञ्जन), र योञ्जन (Yon + Jan → योञ्जन) ।
यी सबैमा ‘ञ्’ ले शब्दलाई पूर्ण बनाएको छ । यो एउटा अक्षर मात्र होइन, यो शब्दको आत्मा हो । जसले उच्चारणलाई मधुर, अर्थलाई गहिरो, र भाषालाई शुद्ध बनाउँछ ।
त्यसैले,
✅ सही रूप: यो + ञ् + जन = योञ्जन
❌ गलत रूप: यो + न् + जन = योन्जन
‘न्’ र ‘ञ्’ बीचको भिन्नता सानो देखिएपनि त्यो ताल र भावबीचको अन्तरजस्तै गहिरो छ । ‘न्’ दाँतमा टेकेर कठोर र सपाट उच्चारण हुन्छ । तर ‘ञ्’ तालुमा सङ्गीतजस्तो नरम र गहन गुन्जिन्छ । त्यसैले ‘योन्जन’ लेख्दा त्यो नामको मधुरता हराउँछ, र तामाङ भाषिक सौन्दर्यको स्वर मेटिन्छ ।
यो अक्षर मात्र होइन, यो त एउटा जातीय स्मृति हो । गोपालजस्ता विभूतिहरूको थरमा रहेको ‘ञ्’ केवल ध्वनि होइन, त्यो त उनीहरूको आत्माको प्रतिध्वनि हो । त्यो स्वर जसले नेपाली गीतमा माटोको सुगन्ध मिसायो, जसले तामाङ पहिचानलाई स्वरमा बाँध्यो । त्यो ‘ञ्’ मेटिनु भनेको त्यो आवाजलाई मौन पार्नु हो ।
त्यसैले, ‘योञ्जन’ लेख्नु भनेको भाषा, इतिहास र पहिचानप्रतिको आदर हो, र ‘योन्जन’ लेख्नु भनेको तामाङ सभ्यता, व्याकरण र गोपाल योञ्जनको आत्माप्रतिको असावधानी हो ।
ध्वन्यात्मक तर्क (Phonological Argument)
भाषाको आत्मा नै ध्वनि हो, ध्वनि हरायो भने अर्थ र पहिचान दुबै ओझेलमा पर्छन् । एउटा तामाङ थर ‘योञ्जन’ को लेखनमा ‘ञ्’ ध्वनिको प्रयोग केवल अक्षरको विषय होइन, यो समुदायको उच्चारण, इतिहास र सभ्यताको ध्वन्यात्मक पहिचानसँग गाँसिएको कुरा हो ।
ध्वनिविज्ञानका दृष्टिले ‘ञ्’ एक palatal nasal sound हो, जसको उच्चारण गर्दा जिब्रोको पछिल्लो भाग तालुमा टेकिन्छ (IPA: [ɲ]) । यो ध्वनि कोमल, सुसंस्कृत र तामाङ भाषिक परिवेशमा स्वाभाविक रूपमा उत्पन्न हुन्छ । यसको विपरीत, ‘न्’ भने dental nasal sound हो (IPA: [n]) । जसको उच्चारण दाँतको टुप्पोमा टेकेर गरिन्छ । ध्वन्यात्मक हिसाबले यी दुई ध्वनिहरूबीचको सानो भिन्नताले पनि शब्दको अर्थ, लय र स्थानीय स्वादमा ठूलो परिवर्तन ल्याउँछ ।
उदाहरणका रूपमा:
• ✅ ‘Yoñjan’ → [joɲd͡ʒən]
यसमा ध्वनि तालुमा प्रतिध्वनित हुन्छ, जसले नामलाई कोमल र सन्तुलित बनाउँछ ।
• ❌ ‘Yonjan’ → [jond͡ʒən]
यहाँ ध्वनि दाँतको टुप्पोमा अड्किन्छ, जसले शब्दको मौलिकता बिगार्छ र अन्य भाषाको प्रभाव भएजस्तो सुनिन्छ । यसरी ‘ञ्’ हराउँदा तामाङ उच्चारणको आत्मा नै हराउँछ । ‘योञ्जन’ शब्दभित्र लुकेको तामाङ संस्कृतिको ध्वन्यात्मक गहिराइ, स्थानीय भाषिक सन्तुलन र परम्परागत उच्चारण सबै विकृत हुन्छन् । त्यसैले ‘योन्जन’ लेख्नु केवल व्याकरणीय गल्ती होइन, यो एक ध्वन्यात्मक अन्याय पनि हो, जसले तामाङ पहिचानको मूल स्वरलाई कमजोर बनाउँछ ।
भाषिक शुद्धताको दृष्टिले ‘योञ्जन’ मात्र तामाङ थरको मौलिक उच्चारण र सांस्कृतिक ध्वनिलयलाई प्रतिबिम्बित गर्ने सही रूप हो । यसको सही प्रयोग गर्नु तामाङ सभ्यता र नेपाली भाषिक विविधताप्रतिको सम्मान हो, जुन केवल अक्षर सुधार होइन, एक सांस्कृतिक जिम्मेवारी हो ।
व्युत्पत्तिक विश्लेषण (Etymological Integrity)
‘योञ्जन’ तामाङ जातीय थरको ऐतिहासिक र भाषिक दृष्टिले अत्यन्त गहिरो अर्थ बोकेको शब्द हो । यसको उत्पत्ति तामाङ भाषाको पुरानो बोधगम्य रूप ‘योञ्/Yoñ’ अर्थात् आत्मा, केन्द्र, मन, चेतनाको मूल स्थान र ‘जन्/Jan’ अर्थात् व्यक्ति, सृष्टि, उत्पत्तिबाट भएको मान्न सकिन्छ । यी दुई मूल शब्दहरूको संयोजनबाट बनेको ‘योञ्जन’ ले तामाङ दर्शनमा निहित आत्म–परिचय र मानवीय चेतनाको अर्थलाई प्रकट गर्छ । त्यसैले ‘योञ्जन’ को भावार्थ ‘आत्मिक जन’, ‘अन्तर्मनको व्यक्ति’ वा ‘आत्मा–उद्भवित मानव’ जस्ता गहिरा सांस्कृतिक बोधहरूसँग जोडिन्छ ।
तर जब यसलाई ‘योन्जन’ भनेर लेखिन्छ, त्यहाँ शब्दको मूल ध्वनि र अर्थ दुबै विकृत हुन्छन् । ‘योञ्जन’ को ‘ञ्’ हराउँदा वा हटाएर ‘न्’ लगाउँदा वा प्रयोग गर्दा यो शब्द सिधै ‘योन्जन’ मा परिणत हुन्छ, जुन संस्कृत–नेपाली शब्द ‘योनि’ सँग ध्वन्यात्मक रूपमा मिल्दोजुल्दो हुन पुग्छ, अहिले पनि गैर-तामाङ लबजमा ‘यौन्जन’ भनेको स्पष्ट सुनिन्छ तर अर्थका दृष्टिले पूर्णतः असम्बन्धित र तामाङ परिप्रेक्ष्यमा अनुचित हुन्छ । यसरी ‘ञ्’ हराउँदा नामको आध्यात्मिक–सांस्कृतिक सार गुम्छ र भाषिक सन्दर्भ नै गलत दिशामा मोडिन्छ ।
व्युत्पत्तिक दृष्टिले हेर्दा, ‘योञ्जन’ ले तामाङ भाषिक मूल र सभ्यताको साक्ष्य बोकेको छ । यो तामाङ जातिको प्राचीन भाषिक प्रणाली, ध्वनि–रचना र नामकरण परम्पराको प्रत्यक्ष साक्षी हो । यसको प्रत्येक अक्षरले एउटा पहिचान, एउटा कथा र तामाङ जातीय अस्तित्वको आत्मीय सूत्रलाई जोडेको छ ।
त्यसैले ‘योन्जन’ लेख्नु केवल एउटा अक्षरको गल्ती होइन । यो तामाङ इतिहास, भाषिक मौलिकता र सांस्कृतिक सन्तुलनमाथिको आघात हो । ‘योञ्जन’ लेख्नु भनेको आफ्नो भाषिक जरा र सांस्कृतिक आत्मालाई जोगाउने कर्म हो, जसले तामाङ सभ्यताको जीवित पहिचान र नेपाली समाजभित्रको भाषिक विविधतालाई सम्मान गर्छ ।
सांस्कृतिक र ऐतिहासिक सन्दर्भ
तामाङ समुदायको सामाजिक संरचना, धर्म, संगीत, भाषा र जीवनशैलीले प्रत्येक नाममा गहिरो अर्थ बोकेको हुन्छ । तामाङ जातीय थर ‘योञ्जन’ पनि केवल एक परिचय होइन, यो तामाङ सभ्यताको इतिहास, सांस्कृतिक चेतना र सङ्गीतात्मक आत्माको प्रतिनिधित्व हो । यो थरका मानिसहरू शताब्दीयौँदेखि कला, गीत, कविता र समाजसेवामा अग्रपङ्क्तिमा रहेर तामाङ मात्र होइन, सम्पूर्ण नेपाली समाजको सांस्कृतिक रचनामा योगदान गर्दै आएका छन् ।
गोपाल योञ्जन (१९४३–१९९७) त्यही गौरवशाली परम्पराको उज्यालो प्रतीक हुन् । उनी केवल एक गीतकार होइनन्, एक सङ्गीतकार होइनन्, एक युगका ध्वनि हुन् । नेपाली सङ्गीतको इतिहासमा गोपाल योञ्जनले माटो, आत्मा र जनताको आवाज बनेर एउटा सम्पूर्ण भाव–जगत् उज्यालो बनाएको छ । उनका गीतहरू “देशले रगत मागे”, “मेरो टोपी”, “हेर हिमालको शिर” केवल रचना होइनन्; ती तामाङ आत्माको स्वर, नेपाली मनको लय, र राष्ट्रिय एकताको गीत हुन् । उनी तामाङ संस्कृति र नेपाली सङ्गीतबीचको जीवित पुल बनेका छन् ।
गोपाल योञ्जनको नाम हरेक क्यासेट, एल्बम, सम्मानपत्र, र स्मारकमा “गोपाल योञ्जन” भनेर नै लेखिएको छ न कि “गोपाल योन्जन” । वहाँको जीवनी लगायतका धेरै पुस्तकहरूमा “गोपाल योञ्जन” नै लेखिएको छ, त्यो लेखन केवल अक्षरको शुद्धता होइन; त्यो उनको पहिचानप्रतिको सम्मान, उनको सांस्कृतिक जरा र भाषिक सत्यको स्वीकृति हो ।
मुलधारका पत्रपत्रिकाहरूले निरन्तर ‘योञ्जन’ लेखिरहेको अवस्थामा हालै नेपाल प्रज्ञा-प्रतिष्ठानले शब्दकोशमा ‘योन्जन’ छिराएको छ, त्यो आपत्तिजनक विषय हो । ‘योन्जन’ लेख्नु कुनै सामान्य टाइप त्रुटि होइन, यो तामाङ समुदायको इतिहासमाथिको असावधानीपूर्ण चोट हो, र गोपाल योञ्जनजस्ता विभूतिको योगदानमाथिको मौन अपमान हो । ‘योन्जन’ लेख्नु भनेको तामाङ सभ्यताको आवाज सुन्ने, गोपाल योञ्जनको आत्मालाई सम्मान गर्ने, र नेपाली संगीत–इतिहासप्रतिको श्रद्धा पुनः स्थापित गर्ने कार्य हो ।
संस्थागत जिम्मेवारी र भाषिक–संवेदनशीलता
राष्ट्रको भाषा केवल संवादको माध्यम होइन, त्यो हाम्रो सामूहिक आत्माको अभिव्यक्ति हो । त्यसैले भाषिक शुद्धता जोगाउने जिम्मेवारी व्यक्तिगत मात्र होइन, यो संस्थागत कर्तव्य पनि हो । विशेषतः नेपाल प्रज्ञा–प्रतिष्ठान, शैक्षिक परिषद्, र अन्य सांस्कृतिक संस्थानहरू जस्ता निकायहरूमा यो जिम्मेवारी अझै गम्भीर रूपमा रहन्छ किनभने तिनले राष्ट्रको भाषा, साहित्य र संस्कृतिको औपचारिक स्वरुप निर्धारण गर्छन् ।
तर जब यिनै संस्थागत दस्तावेजहरूमा ‘योञ्जन’ जस्तो ऐतिहासिक र भाषिक रूपमा प्रमाणित नाम अर्थात् थरलाई ‘योन्जन’ लेखिन्छ, त्यसले केवल एउटा अक्षरको गल्ती जनाउँदैन । त्यो संस्कृतिक असंवेदनशीलता, इतिहास–विकृति, र पहिचानमाथिको लापरवाहीको सङ्केत हो । नाममा ‘ञ्’ हराउँदा केवल ध्वनि गुम्दैन, त्यससँगै तामाङ समुदायको भाषिक गौरव, सांस्कृतिक निरन्तरता र राष्ट्रिय विविधताको सजीव प्रतीक पनि मेटिन्छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानजस्तो गरिमामय संस्थाबाट विभिन्न नेपाली भाषाको पवित्रता र यथार्थता जोगाउने सन्देश आउनु अपेक्षित छ, तर जब त्यही संस्थाबाट यस्ताखाले विकृति प्रस्तुत हुन्छ, त्यो सन्देश उल्टो अर्थ बोकेर आउँछ । यस्तो कार्यले केवल भाषिक अनुशासनमा आघात पुर्याउँदैन, तामाङ समुदायजस्ता सांस्कृतिक स्रोतहरूप्रति अपमानजनक सङ्केत पनि पठाउँछ ।
त्यसैले, प्रज्ञा–प्रतिष्ठान र सम्बन्धित निकायहरूले अब सचेत हुनुपर्छ । ‘योञ्जन’ लेख्नु तामाङ मात्र होइन, सम्पूर्ण नेपाली भाषिक गरिमाप्रतिको सम्मान हो । प्रज्ञा–प्रतिष्ठान लगायतका संस्था शब्दको प्रहरी हो; त्यसले पहिचान मेटाउने होइन, त्यसलाई जोगाउने काम गर्नुपर्छ । र जब हामी तामाङ थर ‘योञ्जन’ लाई सही रूपमै स्वीकार गर्छौँ, त्यो केवल अक्षर सुधार होइन, नेपालको सांस्कृतिक आत्मासँगको पुनः मिलन हो ।
तामाङ सभ्यता र भाषिक अस्मिता
तामाङ समुदाय नेपालका प्राचीन र मौलिक आदिवासीहरूमध्ये एक हो । जसले हिमाली भूभागदेखि काठमाडौं उपत्यकासम्मको सांस्कृतिक इतिहासमा अमिट छाप छोडेको छ । तामाङ सभ्यता केवल जातीय परिचय होइन; यो भाषा, सङ्गीत, धर्म, सामाजिक बन्धन र मौलिक जीवन–दर्शनको समृद्ध मिश्रण हो । प्रत्येक तामाङ नाम, वाक्य, लय र ध्वनिमा त्यस सभ्यताको आत्मा बाँचिरहेको हुन्छ ।
‘योञ्जन’ त्यही परम्पराको गर्विलो प्रतीक हो । यो थर तामाङ समुदायको साङ्गीतिक आत्मा, बौद्धिक परम्परा र सांस्कृतिक सौन्दर्यको मूर्त रूप हो । यस थरका व्यक्तिहरूले नेपाली समाजमा गीत, संगीत, कविता, साहित्य, नृत्य र सामाजिक चेतनाको क्षेत्रमा पुर्याएको योगदानले तामाङ समुदायको सृजनात्मक सामर्थ्य र सांस्कृतिक सजीवता प्रमाणित गर्छ । तर जब ‘योञ्जन’ बाट ‘ञ्’ हटाइन्छ र ‘योन्जन’ लेखिन्छ, त्यो केवल अक्षर गुमाउनु होइन, त्यो तामाङ सभ्यताको ध्वनि–संवेदना, आत्मपहिचान, र गौरवशाली स्मृति नै मेटिनु हो । ‘ञ्’ हराए वा हटाएसँगै तामाङ भाषाको आत्मिक स्वर हराउँछ, र त्यो नामले बोकेको सभ्यताको अर्थ कमजोर पर्छ ।
त्यसैले ‘योञ्जन’ लेख्नु केवल सही वर्तनीको प्रश्न होइन; यो तामाङ सभ्यताको प्रति सम्मानजनक व्यवहार, भाषिक अस्मिताको पुनःस्थापना, र सांस्कृतिक न्यायको प्रतिवद्धता हो । ‘योञ्जन’ लेख्दा हामी केवल अक्षर ठिक पार्दैनौँ । हामी तामाङ आत्माको स्वर पुनः स्थापित गर्छौँ, नेपालको बहुभाषिक–बहुसांस्कृतिक सौन्दर्यलाई जोगाउँछौँ ।
निष्कर्ष
भाषा, इतिहास र संस्कृति, यी तीनवटै दृष्टिबाट हेर्दा ‘योञ्जन’ शब्द तामाङ समुदायको गौरव, नेपाली सङ्गीतको आत्मा, र भाषिक सत्यको जीवित रूप हो । यसको प्रत्येक अक्षरमा एक जातीय चेतना, एक ऐतिहासिक सन्देश, र एक सांस्कृतिक सन्दर्भ बोलिरहेको छ । व्याकरणका दृष्टिले यो शुद्ध छ; ध्वन्यात्मक रूपमा सन्तुलित छ; र सांस्कृतिक दृष्टिले अत्यन्त सम्माननीय छ ।
त्यसको विपरीत, ‘योन्जन’ लेख्नु केवल एउटा अक्षरको गल्ती होइन, त्यो व्याकरणिक अशुद्धता, ध्वनिगत विकृति, र सांस्कृतिक अपमानको मिश्रण हो । जब ‘ञ्’ हराउँछ, त्यो तामाङ आत्माको स्वर हराउँछ, र गोपाल योञ्जनजस्ता विभूतिहरूको सृजनात्मक पहिचानमा चोट पुर्याउँछ । नाम वा थरको अक्षर सानो हुन सक्छ, तर त्यसको अर्थ र प्रभाव विशाल हुन्छ किनकि नाम नै पहिचानको पहिलो प्रतिध्वनि हो।
‘योञ्जन’ लेख्नु तामाङ सभ्यताको प्रति सम्मान हो, नेपाली भाषिक विविधताको प्रतीक हो, र गोपाल योञ्जनजस्ता कलाकारप्रतिको कृतज्ञता हो । त्यो लेखन केवल सही वर्तनी होइन, त्यो इतिहास, सङ्गीत, र आत्माको निरन्तरताको प्रमाण हो ।
अन्तत: “योञ्जन एउटा सामान्य थर होइन, यो एक ध्वनि, एक इतिहास, र एक पहिचान हो । जसरी गोपाल योञ्जनले आफ्नो सङ्गीतबाट नेपाली आत्मालाई अमर बनाए, त्यसरी नै हामीले ‘ञ्’ अक्षरमार्फत तामाङ आत्मालाई अमर राख्नुपर्छ किनभने जब अक्षरहरू सच्याइन्छन्, तब इतिहास बोल्न थाल्छ र जब ‘योञ्जन’ सही रूपमा लेखिन्छ, तब तामाङ सभ्यता फेरि गर्वका साथ गुनगुनाउँछ ।”
Email: yonjandc@gmail.com




