
✍️ कृष्णकुमार हेम्ब्या
उनी जन्मिँदा नेपालमा श्री ३ जुद्ध शमशेरकाे शासन र यता याक्थुङ लाजेमा परम्परागत सुभाङ्गी प्रथा दुबैअन्तिम सास फेर्दै थियो । धेरै सुब्बा सुभाङगीमध्ये पान्थर पौवा सारतापका डबल सुब्बा खड्कबहहादुरका काइँला छोरा जन्म वि.सं. १९९६ मा जन्मे, र उनको ‘नुमिङ’ ओझाहाङ/बाझाहअङ याङदेम्बा रहन गएछ । स्कूलका पण्डितले तिलविक्रम नेम्वाङ दर्ता गरेछन् । जान्ने बुझ्ने भएपछि पाएको ‘फुङमिङ’ चाही ‘वैरागी काइँला’ । (नुमिङ र फुमिङ, याक्थुङ नामकरणका सिद्धान्तकार हितराम तिलिङ हुन् ।)
काइँलाले किशोर टीनएज २०१७ देखि ९० उक्लन लाग्दासम्म अवनरत नेपाली साहित्य र याक्थुङ मुन्धुममा अतुलनीय योगदानको कदरस्वरुप नेपाली प्रतिभा प्रतिभा प्रतिष्ठान, वेलायतले उनलाई ४ चैत २०७९ का दिन पूर्वको सुन्दर नगरी धरानमा बृहत नागरिक अभिनन्दन गरियो । ग्रन्थमा यो अभिनन्दन व्यक्तिको नभई, एक युगको सम्मान भएको झल्को दिन्छ । काइँलाले गरेका कर्म, खासगरी याक्थुङ समुदायका भावी पुस्ताले आफ्नो मौलिक संस्कृति, भाषा र परम्परालाई बुझ्नका लागि उनका लेख, संकलन र सम्पादन अमूल्य दस्तावेजहरु पढुन सकुन भन्ने उद्धेश्यले “वैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ” को जन्म भयो ।
काइँला याक्थुङ सांस्कृतिक पहिचानका संवाहक भएको धेरथोर हामीले बुझेकै हो । उनका कृति र अनुसन्धानले याक्थुङ मुन्धुम, इतिहास र समाजमा धेरै पछिसम्म गहिरो छाप पार्दछ । उनको जीवन र कृतिले याक्थुङ समाजमा सांस्कृतिक चेतना र पहिचानप्रति गर्व गर्न सिकाएको छ । वैरागी काइँलाको जीवन र योगदानले सिंगो याक्थुङ समुदायको इतिहास लेख्ने काम गरेको छ । त्यसैले उनलाई गरेको नागरिक अभिनन्दन वास्तवमै नेपाली साहित्य र याक्थुङ संस्कृति दुवैको गौरव हो ।
ग्रन्थको मूल्याङ्कन
काइँलाको साहित्यिक योगदानलाई संस्थागत रूपमा प्रस्तुत गर्नका लागि सम्पादक मिजास तेम्बे, देवेन्द्र खरेश र प्रदीप मेयाङ्बोले तयार पारेको ग्रन्थ उल्लेखनीय कृति होनै । ग्रन्थमा काइँलाको जीवन, विचार र कृतिहरूलाई चार खण्डमा वर्गीकृत गरी विश्लेषण गरिएको छ ।
१. वैरागी काइँला नागरिक अभिनन्दन, २. मुन्धुम र वैरागी काइँला, ३. काइँला र तेस्रो आयाम, र ४. वैरागी काइँला संवाद । यस ग्रन्थमा उनकै आफन्त, हितैसी साथीभाइ उनलाई देख्ने जान्ने कवि लेखक, समिक्षकदेखि मुन्धुम अध्यताहरुको ठूलै ग्याङ मिसिएका छन् ।
पहिलो खण्डस् वैरागी काइँला नागरिक अभिनन्दन
ग्रन्थको पहिलो खण्डमा गणेश राई, पर्शुराम खापुङ, प्रा.डा. गोविन्दराज भट्टराई, टंक अनेम, देवेन्द्र खरेश, रक्ष राई, शशि लुमुम्बु, चन्द्र घिमिरे र स्वयं वैरागी काइँलाका लेखहरू समावेश छन् ।
यस खण्डमा काइँलालाई नागरिक अभिनन्दन गर्नुपर्नुको औचित्य र त्यसको पृष्ठभूमिबारे विभिन्न दृष्टिकोण प्रस्तुत गरिएको छ ।
अभिनन्दन कार्यक्रम काइँलाको जन्मस्थान पौवासारताप वा झापा, काडमाण्डौंमा नभई धरानमा आयोजना गरिएको थियो । यसको कारण स्पष्ट रूपमा लेखिएको नभए पनि, धरानलाई बौद्धिक तथा सांस्कृतिक केन्द्रको रूपमा सम्मानजनक स्थान मानिएको अनुमान गर्न सकिन्छ । कि त यस समारोहका हर्ताकर्ता धराने स्रष्टाको बहुमत भएरपनि होलासम्म भन्छु ।
काइँलाको अभिनन्दन समारोह फेदाङबाट शुभारम्भ भएकोले विशेष र ऐतिहासिक रह्यो । समारोहमा रथ, हवाईजहाज, कारगाडी, च्याब्रुङ, दमाह, सिलाम–सक्मा, रिवन, खादा, दियोबत्ती तथा प्रहरी स्कटिङले अझ भव्य बनाइएको थियो । यसले काइँलाप्रतिको जनसम्पर्क र सम्मानको गहिरो अभिव्यक्ति झल्काउँछ ।
दोस्रो खण्डः मुन्धुम र वैरागी काइँला
यो खण्डमा काइँलाको याक्थुङ मुन्धुम सम्बन्धी अध्ययन र अनुसन्धानमाथि १२ लेखकहरूले विचार प्रस्तुत गरेका छन । यसमा वैरागी काइँला, येहाङ लौती, मधुराज केरुङ, राजकुमार यक्सो, दिलेन्द्र कुरुम्बाङ, अमर तुम्याहाङ, हिताराम तिलिङ, आइत खजुम, भिमा खजुम, प्रदीप मेन्याङ्बो, अमित थेवे र सन्ध्या सुब्बा सबै लेखक याक्थुङ समुदायका प्रतिनिधि भएकाले, यस खण्डमा मुन्धुमीय दर्शन, संस्कृति र चिन्तनसँग वैरागी काइँलाको सम्बन्ध प्रस्ट रूपमा उजागर गर्न प्रयास गरिएको छ ।
काइँलाले मुन्धुमलाई केवल धार्मिक दस्तावेज नभई दार्शनिक, सांस्कृतिक र भाषिक सम्पदाको रूपमा अध्ययन गर्नुभएको देखिन्छ । यस दृष्टिले यो खण्ड काइँलाको अनुसन्धानात्मक योगदानको गहिरो मूल्याङकन भएकोमा सन्देह रहेन ।

तेस्रो खण्डः काइँला र तेस्रो आयाम
तेस्रो खण्डमा धर्मेन्द्र विक्रम नेम्वाङ, वैरागी काइँला स्वयं, प्रा. अभि सुवेदी, डा. रामजी तिम्सिना, डा. तुलसी गौतम, विमला तुम्खेवा, प्रकाश थाम्सुहाङ, प्रा.गोविन्द तुम्बाहाङ र देवेन्द्र खापुङका लेखहरू समावेश छन् ।
यस खण्डमा नेपाली साहित्यमा “तेस्रो आयाम” नामक साहित्यिक आन्दोलन र त्यसमा वैरागी काइँलाको भूमिका विशेष रूपमा केन्द्रीय रहेको देखाइएको छ ।
तेस्रो आयामले नेपाली कवितालाई परम्परागत भाववाद र यथार्थवादको सीमाबाट निकालेर चेतनाको नयाँ उचाइमा पुर्यापएको आन्दोलनको नाम हो । काइँलाले यसमा बौद्धिक गहिराइ, भाषा प्रयोगको नवीनता र सांस्कृतिक सन्दर्भको प्रसङ्गिकता जोडेका छन् ।
चौथो खण्डः वैरागी काइँला संवाद
अन्तिम खण्डमा सनमान चेम्जङ, सुशान्त गुरुङ, प्रदीप मेयाङ्बो, सिता मादेम्वा र वैरागी काइँलाका संवादहरू समावेश छन् ।
यो खण्ड अन्य खण्डभन्दा फरक ढाँचामा छ, किनभने यहाँ प्रश्न–उत्तर र संवादमार्फत काइँलाको विचार, दर्शन र अनुभवहरू प्रत्यक्ष रूपमा अभिव्यक्त भएका छन । काइँलाको बोलीमा रहेको गम्भीरता, व्यङ्ग्य र आत्मचिन्तन यस खण्डमा जीवन्त रूपमा देखिन्छ ।
नभएको खण्ड र माङगेना चेलीहरू
याक्थुङ मुन्धुम सृष्टिदेखि मानव सभ्यता सावा सेत्हाङ महिला पात्रहरूको उपस्थिति अत्यन्त प्रभावशाली छ । याक्थुङ सम्यताको विश्व दृश्टिकोणमा महिलाहरुको भूमिकालाई हेर्दा, एउटा फाल्टै खण्ड बनाएको भए पनि हुने थियो ।
यद्यपि सन्ध्या सिङजाङ्गाे, भीमा खजुम, विमला तुम्खेवा र सीता मादेम्वाजस्ता प्रतिभाशाली माङगेना चेलीहरूको उपस्थिति उल्लेखनीय छ । उनीहरूले प्रस्तुत गरेका लेखहरूले वैरागी काइँलाको चिन्तनमा नारी दृष्टिकोण र सांस्कृतिक पहिचानको महत्वलाई स्पष्ट रूपमा उभ्याएका छन् । यति भएपनि हाम्रो माङगेना उठेकै माने भो । हामी सबै चोत्लुङ पुग्यौं ।
प्रतिष्ठानको ऐतिहासिक पहल
समग्रमा, यो ग्रन्थ वैरागी काइँलाको व्यक्तित्व र कृतित्वको बहुआयामिक अध्ययन हो ।
नेपाली प्रतिभा प्रतिष्ठान, वेलायतले “वैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ” प्रकाशन गरेर एक ऐतिहासिक कार्य गरेको रहेछ । साधारणतया व्यक्तिको नश्वर चोला ढलेपछि मात्रै स्मृति–ग्रन्थ निकाल्ने र त्यसैमा गोहीको आँसु बगाउने परम्परा रहँदै आएको छ । तर, प्रतिष्ठानले जीवित अवस्थामा नै एक स्रष्टाको सम्मान गर्दै नागरिक अभिनन्दनको ग्रन्थ प्रकाशित गरेर त्यो परम्परालाई तोड्दै नयाँ उदाहरण स्थापित गरेको छ । यो कार्यले स्रष्टा वैरागी काइँलामात्र होइन, सम्पूर्ण याक्थुङ समुदायलाई गौरवान्वित बनाएको छ ।
यस ग्रन्थमा सावा येत्हाङ, सुसुवेङ लालावेन, सुसाङलिमा र तुसाङलिना जस्ता शब्दहरू फरक–फरक रूपमा लेखिएका छन् । एकरूप लेखाइमा ध्यान दिन सकेको भए ग्रन्थ अझ सुसंगत र भाषिक दृष्टिले सशक्त बन्न सक्थ्यो ।
ग्रन्थको पृष्ठ २३१ मा उल्लेख गरिएअनुसार गोपाल शम्शेर पहिलो आइजीपी भएको दाबी ऐतिहासिक तथ्यसँग मेल खाँदैन । ऐतिहासिक अभिलेख अनुसार, ज्ञानबहादुर याक्थुङबा प्रहरी प्रमुख बनेपछि मात्र गोपाल शम्शेरले त्यस पद सम्हालेका हुन् । राणा शासन अन्त्यपछि, राणाकै सैन्य अधिकृत नर शम्शेरले प्रहरी नेतृत्व गर्न खोज्दा पनि उनलाई तल्लो तहका प्रहरी (रेङ्क एण्ड फाइल) ले मान्यता नदिएपछि जनताबाटै पहिलो आइजीपीको रूपमा याक्थुङवा नियुक्त भएका थिए ।
निष्कर्ष
वैरागी काइँलाका याक्थुङ टोन, दार्जिलिङगे लवाज र खाँटी नेपाली जिब्रोलाई प्रदीप र अमितले जस्ताको तस्तै अक्षरमा उतारेका छन । त्यसले स्रष्टाको जीवित आवाजलाई अक्षरमार्फत अमर बनाउने काम गरेको छ । काइँलाको रचना र भाषिक प्रयोगले उनीलाई मात्र होइन, नेपाली साहित्यलाई समेत दीर्घजीवी बनाएको छ । “वैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ” केवल एउटा सम्मान–ग्रन्थ होइन, यो नेपाली साहित्य र याक्थुङ सांस्कृतिक चेतनाको साझा महा उत्सव हो । जीवित स्रष्टाप्रतिको सम्मानको यो संस्कार अन्य साहित्यिक संस्थाहरूका लागि पनि प्रेरणाको स्रोत बन्नेछ ।
साहित्य, संस्कृति र दर्शनका दृष्टिले काइँलाले पुर्याकएको योगदानको गहिरो मूल्याङ्कन यस ग्रन्थमार्फत गरिएको छ । सम्पादकहरूको प्रयास र विभिन्न लेखकहरूको योगदानले यो कृति केवल सम्मानको प्रतीक होइन, वैरागी काइँलाको बौद्धिक यात्राको दस्तावेजका रूपमा पनि स्थापित भएको छ ।
यसले नेपाली साहित्यमा वैरागी काइँलाको स्थानलाई स्थायी र ऐतिहासिक बनाएको छ ।
कुवाकुजा




