उद्धार र राहत पुर्याउने कार्य द्रुतगतिमा बढाओैँ
सम्पादकीय :
राजनीतिक उतारचढावले थिलथिलाे भएको मुलुक फेरि प्राकृतिक विपत्तिमा परेर संवेदनशील घडीमा गुज्रिरहेकाे छ । अविरल वर्षालेले अक्टोबर ४ रातिदेखि क्षति सुरु गरेको छ । आइतबारसम्म नेपालभर ४९ जनाले ज्यान गुमाएका छन् । दर्जन बेपत्ता भएका छन् । प्रदेश एक सबैभन्दा बढी प्रभावित भएको छ । इलाममा मात्रै ३७ जनाको बाढी पहिरोमा परेर दु:खद मृत्युु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको पहिरो र बाढी अनि चट्याङ्गमा परी नागरिकहरूले ज्यान गुमाएको बताएको छ । यसअघि, प्राधिकरणले अक्टोबर ४ देखि ६ तारिखसम्म हुने भारी र अविरल वर्षाले पुर्याउने सक्ने सम्भावित क्षतिका आधारमा १८ जिल्लालाई उच्च जाेखिम र १५ जिल्लालाई जाेखिमयुक्त भूगोलका रूपमा रहेको भन्दै सतर्कता अपनाउनका लागि सूचना जारी गरेको थियोे । तथापि, न्यून चापीय प्रणालीका कारण मनसुन बाहिर हुनुअघि भएको वर्षाले वितण्डा अपनाएको छ । यद्यपि, यसपटक जेन-जी आन्दोलनका बलमा स्थापित सरकारले भने केही तदारुकता देखाएको छ ।
प्राकृतिक प्रकाेप सुरु भएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी मृतकको सनाखत र घाइतेहरूकाे उद्धार गर्न परिचालित भएको छ । लाेकमार्गहरू विच्छेद भएर केही ठाउँमा गर्भवती महिला बिचल्लीमा परेको खबर पुग्नेबित्तिकै सेनाले हेलिकप्टर मार्फत उद्धार गरेको छ । सबैभन्दा बढी प्रभावित जिल्ला इलामका अधिकांश स्थलमार्गहरू विच्छेद भएको र प्रतिकूल माैसम कारण समस्या भइरहेको भएपनि साेमबार बिहानसम्म प्रयास जारी रहने सुरक्षा निकायले जनाएको छ ।
बाढी पहिरोले भाैतिक क्षति पनि पुर्याएकाे छ । केही ठाउँमा विद्युत र खानेपानी वितरण प्रणाली अवरुद्ध भएकाे छ । सयाैँ परिवारहरू विस्थापित भएका छन् । यस्तोमा मनसुनकाे बेला उद्धार गर्ने र राहत पुर्याउने कार्यमा ढिलाइ हुन नदिन सुरक्षा निकाय, स्थानीय प्रशासन, तीनै तहको सरकार र स्वयंसेवक टाेली पनि परिचालन हुनुपर्छ । विशेष, अपर्झट र आपतकालीन अवस्थाबाहेकका कामहरूमा नागरिकलाई हिँड्डुल गरेर जाेखिम नलिन आग्रह गरिरहनुपर्छ । बाढी, पहिराे र भूक्षय हुन सक्ने स्थलबाट मानव वस्तीलाई सुरक्षित स्थलमा लैजानुपर्छ । घाइतेहरूकाे उपचार नि:शुल्क रूपमा हुनुपर्छ । विपत्तिकाे घडी भएको कारण मानवीय संवेदना र भाइचारालाई ख्याल गर्दै नागरिकहरूले पनि अन्य कुरामा भन्दा पनि सही सूचना प्रवाह गर्न र आवश्यक परेमा सहयोग गर्न तत्पर रहनुपर्छ ।


