
१७ जुलाई, विजयपुर । विजयपुर दरबार परिसर क्षेत्रमा स्वागतद्वार निर्माण भएको छ । कियाचु धरान-१९ काे पहलमा दरबारकाे सेन्ट्री पाेष्ट (भग्नावशेष) छेउ सिलाम साक्मासहितकाे स्वागतद्वार निर्माण भएकाे हाे ।
याक्थुङ समुदायको विशेष पर्व सिसे:क्पा तङ्नामकाे अवसरमा बिहीबार लिम्बुवानकालीन एवम् सेनकालीन दरबार परिसर क्षेत्रमा सिलाम साक्मा जडित दश फिटकाे स्वागतद्वारकाे उद्घाटन भएको थियोे ।

पाैने एक लाखको लागतमा निर्माण भएको गेटकाे किरात याक्थुङ चुम्लुङका सङ्घीय उपमहासचिव डा. याेगेन्द्र पालुङ्वा, सङ्घीय सल्लाहकारहरू हर्ष सुब्बा, नरप्रसाद लुम्फुङ्वा, सुनसरी अध्यक्ष शिव इस्वाे, धरान उपमहानगर अध्यक्ष तिर्थ मादेम्बाहरूले सामूहिक रूपमा अनावरण गरेका थिए । माङयुक्नाछेउ पूजाआजासहित नाङ्लाे ठटाएर संक्रान्तिकाे स्वागत समेत गरिएको थियोे । साे कार्यक्रममा साम्बा मनकुमार लाबुङले पूजा अनुष्ठान सम्पन्न गरेका थिए । उक्त अवसरमा चुम्लुङका पदाधिकारी, समाजसेवी, राजनीतिज्ञ, सञ्चारकर्मीहरूकाे उल्लेख्य उपस्थिति रहेको थियाे ।

लिम्बुवान राज्यको ऐतिहासिकतालाई उजागर गर्न गेट निर्माण गरिएको कियाचु वडा नम्बर १९ अध्यक्ष पूर्ण इधिङ्गाेले जनाए । इधिङ्गाे र चुम्लुङकाे वडा समितिले संयुक्त रूपमा स्वागतद्वार निर्माणका लागि साैजन्य गरेका वडा सचिव वसन्ती थेबेले जानकारी दिइन् ।
इतिहासमा विजयपुर माेरङ, फेदाप(लिम्बुवान) र सेनवंशी सबैको राजधानी भएको उल्लेख छ । विजयनारान राय(१६४१-६६) ले वाराताप्पा र साँगुरी गढीकाे मध्य भागमा नयाँ सहर बसालेकाे चर्चा छ ।
बुढासुब्बा मन्दिर जुन विजयपुर राज्यका अन्तिम चाैतारिया बुद्धिकर्ण राय लिम्बु(१८२६-३०) काे चिहान मानिन्छ । विजयपुरका राजा कामदत्त सेनकाे हत्या आराेपमा गाेरखाली अफिसरले १८३४ मा बुद्धिकर्ण रायकाे निर्मम हत्या गरे । इतिहासकार ह्यामिल्टनका अनुसार उनको सास जान तीन दिन लागेको थियोे ।
चाैतारियाकाे दरबार क्षेत्र(गढी डाँडा) हान्नुअघि हाल विजयपुर उमावि/कलेजकाे टुँडिखेलछेउ रहेको ठाउँ छ । जसकाे केही दूरी मुनि रानी स्नान गर्ने कुवा रहेको विश्वास गरिन्छ । विजयपुरकी रानी थिन्दाेलुङ खाे?याहाङ (मेन्याङ्वाे, आङबुहाङ, फालेच्छुवा, खिम्दिङ, उसुक, खाे?याङ) की चेली थाङ्सामा हुन् । गढी डाँडादेखि करिब १५ मिनेटको पैदल यात्राकाे दूरीमा पुगिन्छ खलङ्गा क्षेत्र । जहाँ सात वर्षअघि एडीबीले खानेपानी ट्याङ्की बनाउन खाेज्दा विजयपुर बचाउ आन्दोलन चर्किएको थियोे ।
आजभन्दा १३ वर्षअघि लिम्बु विद्यार्थी मञ्चकाे नेतृत्वमा भग्नावशेषछेउ आठ फुटकाे ‘विजयपुर स्मारक’ निर्माण भएको थियोे । जसलाई आठ लिम्बुवानजन्य सङ्गठनका शीर्ष नेताहरूले सामूहिक रूपमा अनावरण गरेका थिए ।




