महत्वपूर्ण दस्तावेजस्थानीय

प्रदेश प्रहरीले आन्दोलनरत नेता, कार्यकर्ताहरूको गोप्य रूपमा फोटो सहितको विवरण सङ्कलन गर्न आदेश

ताप्लेजुङ, १ नम्बर प्रदेश प्रहरी कार्यालयले ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयलाई आन्दोलनरत संयुक्त सङ्घर्ष समितिको सङ्गठनका नेता, कार्यकर्ताहरूको गोप्य रूपमा फोटो सहितको विवरण सङ्कलन गरेर पठाउन आदेश गरेको सूचना प्राप्त भएको छ । सो आदेशको प्रतिवाद गर्दै सघर्ष समितिले एक विज्ञप्ति जारी गरेको छ । हेर्नुहोस जस्ताको तेस्तै

प्रेस विज्ञप्ति

ताप्लेजुङ प्रहरीले संयुक्त सङ्घर्ष समितिका नेताहरूको विवरण लिने कार्य तुरुन्त बन्द गर !

सुनसरीको इटहरीमा कात्तिक १८ गते तामाङ, मगर, गुरुङ, नेवार, थारु लगायतका समुदायको सामाजिक संस्थाहरूको आयोजनामा प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समितिले अघि बढाइरहेको प्रदेश नाम ‘कोशी’ खारेजी आन्दोलनमा संयुक्त ऐक्यबद्धता सभा भव्य रूपमा सम्पन्न भएको छ ।

आन्दोलन एकपछि अर्को गर्दै सशक्त बन्दै गएको बेला १ नम्बर प्रदेश प्रहरी कार्यालयले ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयलाई आन्दोलनरत संयुक्त सङ्घर्ष समितिको सङ्गठनका नेता, कार्यकर्ताहरूको गोप्य रूपमा फोटो सहितको विवरण सङ्कलन गरेर पठाउन आदेश गरेको सूचना प्राप्त भएको छ ।

प्रहरी प्रशासनको लिखित सञ्चार आदेश मार्फत आन्दोलनरत सङ्गठनहरूलाई युवा दस्ताहरू गठन गरेको, घरेलु हतियारसहित तालिम सञ्चालन गरेको, आन्दोलन हिंसापूर्ण हुनसक्ने भन्दै लगाइएको झुठा आरोपको जोडदार खण्डन गर्दछौँ ।

शान्तिपूर्ण आन्दोलनलाई दमन गर्ने, आन्दोलनरत पक्षलाई धम्क्याउने, आतङ्कित र कमजोर बनाउने प्रयासप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । यस्ता हर्कतबाट सचेत हुन नेतृत्व वर्गमा सूचित गर्दछौँ ।

एकपछि अर्को शक्ति थपिँदै गएका कारण हामी शान्तिपूर्ण आन्दोलनबाटै प्रदेश नाम ‘कोशी’ खारेजी हुनेमा विस्वस्त छौँ । कसैले हार्नु नपर्ने यो आन्दोलन हिंसात्मक हुनुपर्ने तत्काल कुनै कारण देखिँदैन ।

त्यसैले विभिन्न बहानामा जिल्ला, जिल्लामा आतङ्कित बनाउने काम तुरुन्त बन्द गर्न गृह प्रशासन र प्रहरी सङ्गठनलाई आग्रह गर्दछौँ । उक्त कार्य तत्काल बन्द नगरिए प्रदेशलाई अशान्ति र भिडन्तको दिशातिर धकेल्न स्वयम् गृह प्रशासन र प्रहरी सङ्गठन लागेको बुझिनेछ ।

प्रहरी सङ्गठनको यस्तो हर्कतबाट किञ्चित विचलित नभइ निर्णायक आन्दोलनको तयारीमा लाग्न आन्दोलनरत सङ्गठनहरू र आम प्रदेशवासीमा आव्हान गर्दछौँ । आन्दोलनको क्रममा ४२ वर्षीय युवा पदम कुमार लिम्बू ‘लाजेहाङ’को बलिदान भएको, इलाममा आशिष लिम्बू लगायतलाई झुठा आरोपमा जेल राखेको, प्रहरीको गोलीबाट गजेन्द्र फागो लगायत २ सय बढी घाइतेहरूको उपचार भइरहेको, विभिन्न स्थानमा २५ बढीलाई झुटो मुद्दामा फसाउने कोसिस भइरहेकाले यस्ता हर्कत तत्काल बन्द गर्न प्रशासनलाई आग्रह गर्दछौँ ।

प्रदेश नाम ‘कोशी’ – खारेज गर !
प्रदेश नाम ‘कोशी’ – मुर्दावाद !
सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’ – अमर रहून् ! पहिचानको आधारमा प्रदेश नं. १ को – पुन: नामकरण गर !

२०८० कात्तिक २० गते

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button