२७ डिसेम्बर, विजयपुर । पहिचानको आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन भन्दै चार सङ्गठनहरूले माेर्चाबन्दी गरेका छन् । ‘संयुक्त पहिचानवादी मोर्चा’ घाेषणा गर्दै चार राजनीतिक सङ्गठनहरूले आन्दोलनलाई अघि बढाउने भएका हुन् ।
शुक्रबार धरानमा एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रा.डा.. महेन्द्र लाओती संयोजक रहेको पहिचानवादी मोर्चा, केपी पालुङ्वा अध्यक्ष रहेको नेपाल जनमुक्ति पार्टी, डकेन्द्र सिंह थेगिम संयोजक रहेको प्रदेश नं. १ पुनःनामाङ्कन अभियान समिति र ज्ञानबहादुर गुरुङ सङ्घीय अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको प्रदेश नं १ समितिले माेर्चाबन्दी घाेषणा गरेका छन् ।
नवगठित मोर्चाले धरानमा गरेको घोषणामा भने वैकल्पिक राजनीतिक शक्ति बनेर देश विकासको जिम्मा लिने दाबी गरेको छ । माेर्चाले ०८४ काे चुनावमा आफ्नो बलियो दाबेदारी दिनेदेखि पहिचानको आन्दोलनमा निष्कर्षमा पुर्याउने सङ्कल्प लिएको छ । पहिचानवादीको संयुक्त मोर्चा बनाउन नेताहरू सात महिनादेखि कसरतमा थिए । यसबीच सात पटकसम्म छलफल, बैठक र अन्तक्रिया भएपछि पुस ११ गते डकेन्द्रसिंह थेगिम संयोजक, मधुराज केरुङ सदस्य सचिव र केदार धिमाल सदस्य रहेको ‘एकीकृत शक्ति निर्माण अन्तर संवाद समिति’ गठन भएको थियो ।
उक्त समितिको बैठकले नयाँ दल निर्माण नहुँदासम्म चक्रीय प्रणालीका आधारमा डकेन्द्रसिंह थेगिमको संयोजकत्वमा मोर्चाको चार सदस्यीय अध्यक्ष मण्डल गठन गरेको हो ।
संयुक्त पहिचावादी मोर्चाले नयाँ दलको विचारधारा, कार्यदिशा र सांगठनिक संचरनालगायतबारे छलफल गर्दै टुङ्गो लगाउन कार्यदल निर्माण गरेको जनाएको छ । देशैभर टोल तहसम्म एक संयोजक, सह–संयोजकहरू, एक सदस्य सचिव र विभिन्न विभाग सहितको संयुक्त पहिचानवादी मोर्चा गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले मोर्चाको तर्फबाट मुक्कुमलुङ आन्दोलन परिचालन समिति संयोजकमा रामभक्त कुरुम्बाङ, सहसंयोजकहरू सरु सिंघक र दिलेन्द्र कुरुम्बाङ, कोशी नामाकरणविरुद्ध आन्दोलनमा मोर्चाको तर्फबाट आन्दोलन परिचालन समिति संयोजक केपी पालुङ्वा, सह–संयोजकहरू जेन्टल लावती, केदार धिमाल, गजेन्द्र पालुङ्वा र धनबहादुर पन्धाक चयन गरेको छ ।
मोर्चाद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘नेपालमा विभिन्न जनसङ्घर्षहरूले राणा शासन, पञ्चायत र राजतन्त्रको अन्त्य गरे पनि कायमै रहेको एकल जातीय राज्यले भ्रष्टाचार, विभेद र असमानता व्यापक बनाएको र देशलाई समृद्ध हुनबाट अवरोध सृजना गरेको छ । नश्लवादी ठूला दलका नीतिगत भ्रष्टाचार र दलाल पुँजीवादी पोस्ने नीतिका कारण लाखौँ नेपाली युवाहरू विदेशिन बाध्य छन् ।’
चरणवद्ध रूपमा अन्य पहिचानवादी शक्तिहरूलाई पनि मोर्चामा आबद्ध गराउँदै लैजाने नीति खुला रहेको पनि मोर्चाले जनाएको छ ।
विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘सांस्कृतिक विविधताले भरिपूर्ण समाजमा बहुसांस्कृतिक, बहुराष्ट्रिय र बहुल राष्ट्रिय राज्य स्थापना गर्न, पहिचानमा आधारित न्यूनतम १०+१ सक्कली सङ्घीयता सुनिश्चित गर्न, भ्रष्टाचार नियन्त्रण तथा सुशासन स्थापना गर्न इमान्दार जनमुखी राष्ट्रिय राजनीतिक शक्तिको आवश्यकता भएकाले विस्तारित छरिएर रहेका पहिचानवादी संगठनलाई एक ठाउँमा ल्याउँदै पाँच महिनाभित्र देश जिम्मा लिन सक्षम राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले मोर्चा निर्माण गरिएको हो ।’
संयुक्त पहिचानवादी माेर्चाका अध्यक्ष मण्डल संयाेजक डकेन्द्रसिं थेगिमले पहिलो चरणमा चार शक्तिहरू एक ठाउँमा आएको बताउँदै भविष्यमा थप सङ्गठनहरू आबद्ध हुने गरी कसरत सुरु भइरहेको जनाए । प्रा.डा. लाओतीले नेपालमा हाल विद्यमान सात प्रदेशकाे संरचना ‘नक्कली सङ्घीयता’ भएको आराेप लाउँदै अधिकारसम्पन्न प्रदेश सरकार र विशेष संरचनाका रूपमा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र स्वशासित इलाकाहरू रहनुपर्ने धारणा राखे ।
प्रेस विज्ञप्ति
नेपालमा विभिन्न जनसंघर्षहरुले राणा शासन, पन्चायत र राजतन्त्र अन्त्य गरे पनि कायमै रहेको एकल जातिय राज्यले भ्रष्टाचार, विभेद र असमानता व्यापक बनाएको र देशलाई समृद्ध हुनबाट अवरोध सृजना गरेको छ । नश्लवादी ठुला दलका नितिगत भ्रष्टाचार र दलाल पुँजीपति पोश्ने नीतिका कारण लाखौ नेपाली युवाहरु विदेशिन बाध्य छन् । विशेष गरि ठुला दलको संरक्षणमा खुलेआम सहकारी काण्ड, मिटर ब्याज, लघु वित्त लगायत थुप्रै कान्डमा सर्वसाधरण नागरिकहरुको शोषण गर्ने गतिविधिहरु फस्टाएको छ। लाखौ नागरिकहरु पिडित भएपनि राज्य अमुक दर्शक मात्र बनेको छ । यस्ता विकृति र विसंगतिहरु बढाउन र निरन्तरता दिन नेपालका कथित ठुला दलहरुको उल्लेखनिय हात रहेको कुरा आम नागरिकहरु बिच दिनानुदिन छर्लङ्ग हुँदैछ र नागरिकहरु तिनका विरुद्ध उत्रन थाली सकेका छन् । ती भ्रष्ट नेता र दलहरुबाट देश समृद्ध नहुने घट्नाक्रम र इतिहासले प्रष्ट पारी सकेको छ।
सांस्कृचिक विविधताले भरिपुर्ण समाजमा बहुसांस्कृतिक, बहुराष्ट्रिय र बहुल राष्ट्रिय राज्य स्थापना गर्न, पहिचानमा आधारित न्युनतम १० प्लस १ सक्कली संघीयता सुनिस्चित गर्न, भ्रष्टाचार नियन्त्रण तथा शुसाशन स्थापना गर्न, देशमा समृद्धिको लहर ल्याउन र सर्वसाधरण नेपालीहरुको कल्याण गर्न एउटा इमानदार, जनमुखी राष्ट्रिय राजनीतिक शक्तिको आवश्यकता नागरिकहरुले महसुस गरेका छन् । त्यही टड्कारो आवश्यकता पूरा गर्नको लागि देशमा विस्तारित तर छरिएर रहेका पहिचानवादी संगठनहरु र अभियन्ताहरुलाई एक ठाउँमा ल्याउदै पाँच महिना भित्र देश जिम्मा लिन सक्षम राजनीतिक शक्ति निर्माणको शुरूवात गर्नको निमित्त पुष ११ गते धरानमा बसेको पहिचानवादी मोर्चा, नेपाल जनमुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रदेश नं. १ समिति र प्रदेश नं. १ पुन: नामङ्कन अभियान समितिको बैठकबाट संयुक्त पहिचानवादी मोर्चा गठन गर्ने निर्णय भयो। हाल चार संगठन बीच मोर्चा निर्माण भएको र पछी अन्य संगठनहरुलाई पनि समावेश गर्दै लागिने निर्णय भएको छ।
उक्त बैठक डकेन्द्र सिंह थेगिम संयोजक, मधुराज केरुङ सदस्य सचिब र केदार धिमाल सदस्य रहेको पहिचान पक्षधर राजनीतिक संगठनहरुको एकीकृत शक्ति निर्माण अन्तर संवाद समितिको सहजिकरणमा बसेको थियो।
बैठकले नयाँ दल निर्माणसम्मको लागि चक्रीय प्रणालीको आधरमा डकेन्द्र सिंह थेगिमको संयोजकत्वमा मोर्चाको ४ सदस्यीय अध्यक्ष मण्डल निर्माण गरेको छ। विचारधारा, कार्यदिशा, सांगठनिक संरचना आदि छलफल गर्दै टुंगो लगाउन कार्यदल पनि निर्माण गरेको छ । उक्त कार्यदलमा राष्ट्रिय मुक्ति पार्टीको पनि प्रनिनितिनिधित्व रहनेछ। साथै देशै भरी टोल तहसम्म एक संयोजक, सहसंयोजकहरु र एक सदस्य सचिब र विभिन्न विभागहरु सहितको संयुक्त पहिचानवादी मोर्चा गठन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले मोर्चाको तर्फबाट मुक्कुमलुङ आन्दोलन परिचालन समिति संयोजकमा रामभक्त कुरुम्बाङ साथै सहसंयोजकहरु सरु सिंघक र दिलेन्द्र कुरुम्बाङ, र कोशी नामकरण विरुद्ध आन्दोलनमा मोर्चाको तर्फबाट आन्दोलन परिचालन समिति संयोजक केपि पालुङवा साथै सहसंयोजकहरु जेन्टल लावती, केदार धिमाल, गजेन्द्र पालुङवा, धनबहादुर पन्धाक चयन गरिएको छ। संघर्षको जगमा देशभर चलिरहेका संघर्षहरुलाई जोड्दै मजबुत विकल्प सहितको जनविद्रोहको जग निर्माण गर्दै तेस्रो जनआन्दोलनको तयारी गर्दै मोर्चा अगाडि बढ्ने छ ।
असमानता र अन्याय विरुद्ध दलित/शिल्पी, मधेशी, आदिवासी जनजाति तथा मुलवासी, अल्पसंख्यक धर्मावलम्बी, महिला तथा अन्य लैङ्गिक समुदायहरु तथा मिटर ब्याज, सहकारी ठगी र लघु बित्त आदिबाट पिडित नागरिकहरुले देशको विभिन्न भागमा उठाइरहेका आन्दोलनहरुमा पनि संयुक्त पहिचानवादी मोर्चाले समर्थन र साथ दिने घोषणा गर्दछ।
नागरिक हितमा कार्यरत संगठनहरु, अभियन्ताहरु र स्वतन्त्र नागरिकहरु सबैलाई एकल जातिय राज्यको अन्त्य र अधिकार सम्पन्न पहिचान र ऐतिहासिक पृष्ठभूमिमा आधारित संघीयता, थोरै जनसंख्या भएका र छरिएर रहेका समुदायहरुको लागि विशेष स्वायत्त संरचनाहरु, जातीय, लैङ्गिक र वर्गिय जनसंख्याको आधारमा राज्यको सबै अंगमा समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्ष राज्य र गणतन्त्रको सुदृढीकरण र विधिको शासन स्थापित गर्दै नागरिक प्रती उत्तरदायी लोकतान्त्रिक राज्य स्थापना गर्दै प्रतिगमन विरुद्ध लड्न, भ्रस्टाचार नियन्त्रण गर्न र प्रतिस्पर्धात्मक निजि क्षेत्र, राज्य र नागरिकहरुको सक्रीय सहभागितामा देशमा द्रुत्ततर गतिमा समृद्धिको लहर ल्याउन यस महान ऐतिहासिक अभियानमा जोडिन हार्दिक आव्हान गर्दछौं ।
जय पहिचान !
प्रा. डा. महेन्द्र लावती
संघीय संयोजक, पहिचानवादी मोर्चा
केपि पालुङवा
अध्यक्ष, नेपाल जनमुक्ति पार्टी
डकेन्द्र सिंह थेगिम
संयोजक, प्रदेश नं. १ पुन: नामङ्कन अभियान समिति
ज्ञान बहादुर गुरुङ
संघीय अध्यक्ष, नागरिक उन्मुक्ति पार्टी, प्रदेश नं.१ समिति
२०८१ पुष १२,धरान