
३ मे, विजयपुर । लामाे समय सुस्त रहेको लिम्बु पत्रकार सङ्घ पुनः सक्रिय हुन थालेको छ । आफ्नो तेस्रो महाधिवेशन सकिएलगत्तै सङ्घले पहिलो पूर्ण बैठक राख्दै सङ्गठनलाई चलायमान बनाउने निर्णयहरू गरेको छ ।
गत चैत २२ गते तेह्रथुमको लालीगुराँस नगरपालिकाकाे वसन्तपुरमा भएको तेस्रो महाधिवेशनबाट निर्वाचित कार्य समितिले अग्रज पत्रकार, सल्लाहकार र शुभेच्छुकहरूकाे उपस्थितिमा विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसर पारेर शनिबार बैठक राखेको थियोे । लिम्बुवानकालीन ऐतिहासिक राजधानी मानिने विजयपुर दरबार परिसरकाे काखमा बैठक राखेर पहिचानको पक्षमा सङ्गठनले साङ्केतिक रूपमा आफ्नो उपस्थिति जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष सन्देश इङ्वाकाे अध्यक्षतामा बसेकाे बैठकलाई सम्बाेधन गर्दै वरिष्ठ पत्रकार एवम् संस्थापक सल्लाहकार हर्ष सुब्बाले सङ्गठनलाई चुस्त दुरुस्त बनाउनुपर्ने उल्लेख गरे । उनले पहिचान र परिवर्तनको मुद्दामा सामुदायिक पत्रकार सङ्गठनहरूकाे महत्त्वपूर्ण भूमिका रहेको जनाए ।
त्यस्तै, अर्का पत्रकार एवम् लेखक प्रदीप मेन्याङ्वाेले सङ्घले याक्थुङ लिम्बु समुदायको प्रतिनिधित्व गर्ने हुनाले साँस्कृतिक मुद्दा र विषयवस्तुमा साक्षर हुनुपर्ने जिकिर गरे । उनले मुन्धुमी मूल्यमान्यतालाई समेत ख्याल गर्नुपर्ने सुझाए । त्यस्तै, रेडियो एवम् टेलिभिजनकर्मी एवम् फाेनिजका संस्थापक भैरव आङ्लाले सङ्घले आफ्नो उपस्थिति बलियो बनाउनुपर्ने बताउँदै विगतमा भएका कमजोरीबाट पाठ सिक्नुपर्ने धारणा राखे ।
पूर्वाञ्चल सञ्चारिका समूहकी पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घ पूर्व केन्द्रीय सदस्य निलिफा सुब्बाले समावेशीकरणकाे मुद्दाकाे उठानसँगै सङ्गठनभित्रै कार्यान्वयन समेत गर्नुपर्ने बताइन् । कियाचु सुनसरी अध्यक्ष माेहन हुक्पा चाेङवाङले सङ्घकाे केन्द्रीय कार्यालय व्यवस्थापनका लागि आफूले सक्दाे सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सुनसरी समितिले व्यवस्थापन गरेको बैठकमा लिम्बु पत्रकार सङ्घ यूके संयाेजक अमित थेबे, साग खेलकुदमा सहभागिता जनाएकी निक्की नेम्वाङ, पूर्व केन्द्रीय सदस्य याम माबाेहाङ, पूर्व सुनसरी अध्यक्ष स्वर्णिमहाङ फाेम्वाे, केन्द्रीय उपाध्यक्ष सुजता निङ्लेकू, सचिव ज्ञानु केदेम, सुनसरी अध्यक्ष कुशल कुरुम्भङ लगायतको उपस्थिति रहेको थियोे । सङ्घका महासचिव जीवन याेङहाङ लिम्बुले सञ्चालन गरेको बैठकले दश बुँदा निर्णयहरू समेत पारित गरेको छ ।
बैठकमा सङ्घकाे जिल्ला र उपत्यका समितिहरूकाे अधिवेशन जेठ १५ गते र प्रदेश अधिवेशन जेठ मसान्तसम्म सक्ने निर्णय भएको छ । यसैगरी, सङ्घकाे स्थापना र संस्थापकबारे केही अन्याैलता देखिएकाेले तीन महिनाभित्र खाेजबिन गरी प्रतिवेदन बुझाउन वरिष्ठ पत्रकार हर्ष सुब्बाको संयाेजकत्वमा एक कार्यदल समेत गठन भएको छ । कार्यदल सदस्यहरूमा प्रदीप मेन्याङ्वाे, निलिफा सुब्बा, देवेन्द्र खापुङ र विजयबाेध लाओेती छन् । त्यस्तै, एक महिनाभित्र नवीकरण र लेखा परीक्षण सक्ने निर्णय भएको छ ।
सङ्घले सल्लाहकारसरह रहने गरी १७ सदस्यीय तुम्याहाङ परिषद गठन गरेको छ । परिषद सदस्यहरूमा हर्ष सुब्बा(सुनसरी), काैशल चेम्जोङ(उदयपुर), अमर तुम्याङ(उपत्यका), डीबी आङबुङ(उपत्यका), राम मादेन(उपत्यका), राजकुमार दिक्पाल(प्रवास), विश्वासदीप तिगेला(प्रवास), माेहन हुक्पा चाेङवाङ(सुनसरी), देवेन्द्र खापुङ(उपत्यका), चन्द्र पङ्धाक(ताप्लेजुङ), विजयबाेध लाओेती(पान्थर), सटेन्द्र जवेगू(इलाम), सेसेमी से नाल्वाे(झापा), फिपराज बेघा(माेरङ), निलिफा सुब्बा(सुनसरी), विष्णु सिङ्गक(धनकुटा) र भगीश्वर तेयुङ(तेह्रथुम) रहेका छन् ।
सङ्घले नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फाेनिज) काे सङ्घीय सदस्यमा लिपसं निवर्तमान सचिव दिनेश मिभक सुब्बालाई पठाउने निर्णय गरेको छ । यस्तै, क्यान्सर राेगपीडित पत्रकार कविन्द्र शेर्माकाे सहयोगार्थ पत्रकार निलिफा सुब्बाको संयाेजकत्वमा सहयोग सङ्कलन समिति गठन गरेको छ । समितिमा सङ्घका सङ्घीय पदाधिकारी सदस्यहरू समेत रहनेछन् ।
२०६१ मा अइन्द्रसुन्दर नेम्वाङकाे संयाेजकत्वमा स्थापना भएको लिम्बु पत्रकार सङ्घकाे पहिलो महाधिवेशन ०६९ मा धरानमा भएको थियोे । तर, २४ घण्टा नबित्दै तत्कालीन अध्यक्ष स्व. युवराज फागाे चाेङवाङकाे असामयिक निधन भएको थियोे । ०७३ मा काठमाडौंमा भएको दाेस्राे महाधिवेशनले देवेन्द्र खापुङकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्याे । तर, राजनीतिक उथलपुथल, काेराेना महामारी र साङ्गठनिक चुस्तता नहुन सक्दा चलायमान नभएको सङ्घकाे आठ वर्षपछि महाधिवेशन भएको थियोे । सङ्घकाे यूकेमा सन् २०१८ मा खापुङकै उपस्थितिमा पहिलो प्रवास समिति समेत निर्माण भएको थियोे । सन् १९९९ मा तत्कालीन अनिज (अहिले फाेनिज) गठन गर्नमा लिम्बु पत्रकार सङ्घकाे समेत महत्त्वपूर्ण र निर्णायक भूमिका रहेको थियोे ।
तीन बुँदे घाेषणापत्र पनि जारी
लिम्बु पत्रकार संघको पूर्ण बैठक तथा अन्तरक्रिया समेत आयोजना गर्दै तीन बुँदे विजयपुर घोषणापत्र जारी गरेको छ । बैठक तथा अन्तरक्रियाले घोषणापत्रमा ‘मिडियामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चितताका लागि सञ्चारमाध्यम, सञ्चार गृह र राज्यको ऐन, कानूनहरु आदिवासी जनजाति, अल्पसंख्यक र सिमान्तकृत समुदाय, वर्ग र भूगोलमैत्री बनाउन माग’, ‘ताप्लेजुङमा अवस्थित प्रशिद्ध मुन्धुमीस्थल मुक्कुम्लुङमा निर्माण गर्न लागिरहेको केबुलकार परियोजना आदिवासी याक्थुङ (लिम्बू) समुदायको आदिम मूल्यमान्यता, रैथाने दर्शन, पर्यावरण, परम्परा, प्रथाविपरीत रहेको ठहर गर्दै सशक्त रुपमा बौद्धिक र प्राज्ञिक हिसाबले सञ्चारमाध्यमहरुमा प्रतिरोध गर्ने र जारी नो केबुलकार अभियानमा ऐक्यबद्धता प्रकट गर्ने’ जनाइएको छ ।

त्यस्तै, विजयपुर दरबार परिसरमा रहेका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वको संरचनाहरुको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारका लागि राज्यका तीनै तहका सरकारहरु समक्ष सम्पदाका रुपमा सूचीकरण गर्न माग गर्ने घोषणापत्रमार्फत सार्वजनिक गरिएको छ ।