साहित्य सिर्जना

कवि आँसुकाे ‘नवयुगकी सुम्निमा’ कृतिकाे लाेकार्पण

२२ फेब्रुअरी, काठमाडौं ।  कवि शकुन आँसुको कविता सङ्ग्रह ‘नवयुगकी सुम्निमा’ काठमाडौंमा विमाेचन भएको छ । कृति विमाेचनसँगै परिचर्चा पनि सम्पन्न भएकाे छ ।

राष्ट्रिय नाचघर जमलमा शनिबार सम्पन्न एक कार्यक्रमबीच कविहरू श्रवण मुकारुङ, डा. केशव सिलवाल र विमला तुम्खेवा, जीवनसाथी चित्र बहादुर बाहिङहरूले संयुक्त रूपमा कृतिको विमाेचन गरेका थिए ।

कवि श्रवण मुकारुङ ।

कृतिउपर बाेल्दै कवि एवम् पूर्व प्राज्ञ श्रवण मुकारुङ राम्रो कविता पढ्न कठिन भइरहेको अवस्थामा कवि शकुन आँसुको कृति आएको र आफ्नो भाेक प्यास मेटिएकाे प्रतिक्रिया दिए । उनले अभिव्यक्तिकाे उपल्लो तहमा पुगेर कविले सिर्जना पस्किएकाे जनाए । कवि मुकारुङले पहिलो सङ्ग्रह स्मरणीय बनेको बताए ।

डा. केशव सिलवाल कृतिउपर बाेल्दै ।

डा. केशव सिलवालले साँस्कृतिक पहिचानसँगै आधुनिक सङ्घर्षका कथाहरू पनि कवि आँसुको कवितामा प्रकट भएको धारणा राखे ।

कवि विमला तुम्खेवा ।

त्यस्तै, कवि एवम् पत्रकार विमला तुम्खेवाले निर्धक्क ढंगले आफ्नो कुराहरू राख्न सकेको बताइन् । उनले समकालीन मात्रै नभएर पुरानो पुुस्ताका सर्जकहरूलाई पनि चुनाैती दिन सफल रहेको जनाइन् ।

पुर्ख्याैली घर खाेटाङ भएकी कवि शकुन आँसु दक्षिण काेरियामा एक दशक रहँदा र नेपाल हुँदा सिर्जना भएका कृतिमा ४२ कविताहरू छन् । जसमा ‘समय यात्रा’ खण्डमा २७ र ‘साकेला सिलीमा’ खण्डमा १५ कविताहरू रहेका छन् । कृतिलाई इतर अभियानले प्रकाशन गरेको हाे । कवि शकुन आँसुले पहिलो कृति भएकोले खुलेर आलोचना गर्न आग्रह गरिन् ।

कवि शकुन आँसु ।

सम्भव समूहका संस्थापक सदस्य एवम् कवि उत्तम तुम्सा लिम्बुले सञ्चालन गरेको विमाेचन कार्यक्रममा सर्जक एवम् सञ्चारकर्मीहरू चन्द्रवीर तुम्बापाे, हेमन यात्री, प्रगति राई, बीना थिङ, उमेश अकिञ्चन, अमरदीप सुनुवार, अमित थेबे, नवीन प्यासी राई, सुनिता राई कन्दङ्वा, सीता तुम्खेवा, सुरज राना, मिथाेच, लगायतको उपस्थिति रहेको थियोे ।

युग सर्वनामले ‘स्ट्रे’, स्वप्निल निरवले ‘ऊ भएको साँझ’, सुशीला निनामले ‘रेम्माखिम्’, कृष्ण कञ्चनले ‘फर्कि आउनेलाई’ कविता वाचन गरेका थिए ।

Related Articles

Back to top button