‘कुइख्याङ’ बहस सम्पन्न: प्रतिरोधको विम्ब रोल्पा

१५ फेब्रुअरी, काठमाडौं । रोल्पा कला-साहित्य प्रतिष्ठानको आयोजनामा ‘कुइख्याङ’ विमर्श कार्यक्रम कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न भएको छ । रोल्पाबारे एकाउन्न कविले लेखेका एकाउन्न कविताहरु सङ्ग्रहित ‘कुइख्याङ’लाई युग सर्वनामले सङ्कलन र सम्पादन गरेका हुन् भने कृतिको प्रकाशन रोल्पा कला-साहित्य प्रतिष्ठानले गरेको हो ।
कवितासङ्ग्रहको विमर्शमा जनसांस्कृतिक महासंघका अध्यक्ष भिम कुमाखी, लेखक बन्दना ढकाल र अनुसन्धाता तथा लेखक नवीन विभास वक्ता थिए ।
जनसांस्कृतिक महासंघका अध्यक्ष भिम कुमाखीले शोषितपीडित वर्गको आवाजलाई कवितासङ्ग्रहले सशक्त बनाएको बताए । जनयुद्धको उद्गमस्थल रोल्पाका नागरिकहरुमा अझै पनि उत्तिकै प्रखर विद्रोहात्मक चेत रहेको उनको जिकिर थियो । उनका अनुसार सङ्ग्रहले इतिहासका गहन प्रश्नहरुको निरुपण गर्नुका साथै सांस्कृतिक पक्षहरुबारे पनि बहसको उठान गरेको छ । जनयुद्धबारे लेखिएका कविताहरुमा जनयुद्धताका र त्यसपछिको समाजमा परेको सांस्कृतिक प्रभावको सचित्र वर्णन रहेको उनले बताए ।
कुमाखीले भने, ‘जनयुद्धमा सक्रिय रुपमा सहभागी भएको हैसियतले रोल्पा र जनयुद्धको इतिहासप्रति हामीलाई सदैव गर्व महसुस हुनेछ ।’
लेखक बन्दना ढकालले राजनीतिक संवेदनशीलताको दृष्टिकोणबाट हेर्दा सङ्ग्रहका कविताहरुले जनयुद्धबारे आम जनमानसलाई बुझाउन अहम् भूमिका खेल्ने बताइन् । सङ्ग्रहका कवितामा रोल्पावासीको विद्रोह र संघर्षबारे पढ्दा पाठकहरु उद्वेलित हुने र यस्तो उद्वेलन स्वाभाविक रहेको बताइन् । रोल्पावासीले राज्य उत्पीडनका विरुद्ध सधैं विद्रोह रोजेको उनले जिकिर गरिन् । यही विद्रोहात्मक चेत नै रोल्पावासीको पहिचान भएको उनको भनाइ थियो । उनका अनुसार सङ्ग्रहका कविताले विभिन्न समयमा भएका युद्धहरुबारे राज्यनिर्मित गौरवगाथामाथि आलोचनात्मक मत राख्न मद्दत गर्नेछन् ।
ढकालले भनिन्, ‘यो सङ्ग्रहमार्फत इतिहासलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गर्न सहयोग पुग्नेछ ।’
अनुसन्धाता तथा लेखक नवीन विभासले सङ्ग्रहका कविताहरु जनयुद्धको संस्मरणमात्रै नभएर न्यायप्राप्तिको यात्रामा यस्तो साहित्यले ठोस भूमिका खेल्ने बताए । सङ्ग्रहले समकालीन राजनीतिक परिस्थितिमा नयाँ संघर्षको लागि वैचारिक मार्गप्रशस्त गर्ने जिकिर गरे । सङ्ग्रहले जनयुद्धलाई दार्शनिक र सांस्कृतिक दृष्टिकोणबाट चित्रण गरेको उनको भनाइ थियो । युद्धको स्वरुप आफैंमा भयानक र बीभत्स भएता पनि सङ्ग्रहले यसको रचनात्मक प्रतिबिम्ब देखाउन सफल भएको उनले बताए ।
विभासले भने, ‘सङ्ग्रहको नामले नै रोल्पा र जनयुद्धको सांस्कृतिक पहिचानमाथि अपनत्व महसुस गराउँछ ।’
सम्पादक युग सर्वनामका अनुसार कुइख्याङ शब्द मगर खाम भाषाबाट लिइएको हो । जसको अर्थ, कोसेली दिनु, कोसेली चढाउनु भन्ने हुन्छ । रोल्पा मगर खामभाषीहरुको बाहुल्य भएको जिल्ला हो ।
रोल्पा कला-साहित्य प्रतिष्ठानका अध्यक्ष जीवनप्रवेश रोकामगरको अध्यक्षतामा सम्पन्न विमर्शको सहजीकरण बच्चु हिमांशुले गरेका थिए । सङ्ग्रहको विमोचन भने गत बिहिबार जनयुद्ध दिवसको अवसर पारेर पेरिसडाँडामा गरिएको थियो ।