फिचर न्यूज

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि जीविका चलाइरहनुभएको थियो । छोराछोरीको पढाइमा लाग्ने सबै खर्च पात बेचेरै जुटाउने गर्नुहुन्थ्यो ।

आफ्नो जमिनमा फलेको अन्नले छ महिना पनि खान पुग्दैन । धेरै वर्षदेखि सालको पात टिप्ने गरेको देउले, भालासिरुवानी, दियाले चउर तथा चन्द्रमान राई सामुदायिक वनमा डढेलो लागेपछि उहाँ चिन्तित हुनुहुन्छ ।

नरकुमारीको ११ वर्षीया छोरी भावना कक्षा सात, आठ वर्षका छोरा सोनाम कक्षा पाँच र पाँच वर्षीया छोरा विवेक कक्षा दुईमा पढछन् । भावना र सोनाम सोही नगरपालिकाको वडा नं ५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय बाँसबोटे र विवेक खाल्लेकै डाँडाखर्कस्थित राष्ट्रिय प्रजातन्त्र आधारभूत विद्यालयमा अध्ययनरत छन् ।

पाँच वर्षदेखि सालको पात टिप्दै आएको जङ्गलमा डढेलो लागेपछि दैनिक गुजाराको माध्यम नै तत्कालका लागि आगोले सखाप पारेको नरकुमारीले बताउनुभयो । “एक दिनमा २० मुठासम्म सालको पात टिपिन्थ्यो । दिक्तेल बजारमा सालको पात प्रतिमुठा रु ५० मा बिक्री हुन्छ । अहिले डढेलोले जङ्गल सखाप पा-यो”, उहाँले भन्नुभयो, “सालको पातले दैनिक घर खर्च र छोराछोरीको पढाइ खर्च धान्ने गरेकी थिएँ । डढेलोले जङ्गल सखाप भएपछि कसरी घर खर्च जुटाउने भन्ने चिन्ता छ । गरिबलाई प्रकृतिले पनि ठग्दो रहेछ ।”

त्यसो त रावाबेँसी गाउँपालिका-३ लामीडाँडास्थित तिर्पाबाट १३ वर्षअघि विवाह गरेर खाल्ले आउनुभएकी नरकुमारीको परिवारमा एकपछि अर्को समस्यामा पर्दै आएको छ । कान्छा छोरा विवेक जन्मिँदै मुटु रोगी जन्मिए । विसं २०७५ भदौ १८ गते जन्मिएका विवेक अहिले पनि बिरामी छन् ।

गङ्गालाल हृदय रोग केन्द्र काठमाडौँमा उपचार गराइरहेका कान्छा छोरा चिकित्सकको निगरानीमा राखिएको छ । छोराको स्वास्थ्य अहिले सामान्य बन्दै गएको छ ।

सुरुमा छोरालाई ग्रिनसिटी अस्पताल काठमाडौँ भर्ना गरिएको थियो । उपचारमा अस्पतालले रु सात लाख ५० हजार लियो । “जन्मिएको दुई दिनमा रु दुई सय लिएर जिल्ला अस्पताल खोटाङ लगेकी थिएँ । अस्पतालले यहाँ ठीक हुँदैन भनेपछि रु ५० हजारमा नन्दको सुन धितो राखेर काठमाडौँ लग्यौँ, उपचारमा रु १६ लाख सकियो,” उहाँले भन्नुभयो, “काठमाडौँको तीन÷चारवटा अस्पताल डुलाउँदा रु १६ लाख सकियो । घरमा एक रुपैयाँ थिएन । सबै ऋण काढेर उपचार ग¥यौँ, छोरा अलि ठीक भएपछि घर फर्कायौँ ।”

छोराको उपचारमा खर्च भएको ऋण तिर्न नसकेपछि साहुले घरको पशुचौपाय लग्यो । ऋण तिर्न विदेश जानुभएका श्रीमान् दुर्घटनामा परी उतै घाइते हुनुभयो । घरमूली नै विदेशमा घाइते भएपछि परिवारको बिल्लीबाठ भएको छ ।

नरकुमारीको श्रीमान् दानबहादुर खत्री पाँच वर्षदेखि साउदी अरबस्थित एउटा घरको कोठामा अशक्त अवस्थामा हुनुहुन्छ । ‘स्काफोल्डिङ’को काममा विसं २०७६ माघ ७ गते साउदी अरब पुग्नुभएका दानबहादुर सात महिना नबित्दै लडेर घाइते हुनुभएको हो । काम गर्ने क्रममा लडेर ढाड भाँचिएपछि साउदी अरबमै उपचाररत दानबहादुरको स्वास्थ्यमा सामान्य सुधार आएको बताइएको छ । तीन वर्षसम्म अस्पताल बसेर उपचार गराउनुभएका दानबहादुरले अहिले सामान्य हिँड्डुल गर्न सक्ने भएको फोनमा कुराकानी हुँदा बताउने गरेको नरकुमारीको भनाइ छ ।

“कमाउन विदेश जानुभएका श्रीमान् बिरामी हुनुहुन्छ । कलकलाउँदा उमेरका तीन छोराछोरी छन् । अहिले त सानो बाबु पनि ठीक हुँदैछ”, गहभरी आँसु पार्दै उहाँले भन्नुभयो, “बनीबुतो गरेको पैसाले दैनिक हातमुख जोड्न धौ-धौ छ । सालको पात टिपेर बेच्दै थिएँ त्यो पनि डढेलोले केही महिनालाई नपाइने भयो ।”

छोराछोरीको पठनपाठन कसरी गराउने भन्ने चिन्ताले उहाँलाई रातभर निन्द्रा लाग्दैन । कसैले सहयोग गरे पढाउन सकिन्थ्यो कि भन्ने आशा छ । कमजोर आर्थिक अवस्थाका खत्री परिवारलाई वैदेशिक रोजगारसम्बन्धी कार्यक्रम गर्दै आएको सामी परियोजनाले रु ५० हजार आर्थिक सहयोग गरेको छ । – रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button