फिचर न्यूज

मंजुल कुमार सिंह याक्थुम्बाको समाजमा योगदान

मंजुल कुमार सिंह याक्थुम्बाको आज मिति २०८० कार्तिक १२ गते आइतवार विहान ५ः०० बजे ८८ वर्षको उमेरमा पृतिस्थलतर्फ प्रस्थान गर्नु भएको छ । उहाँको आत्माले चीर शान्ति प्राप्त गरून भन्ने मनोकांक्षाका साथ उहाँको संक्षिप्त चिनारी यस आलेखमा प्रस्तुत् गरिएको छ ।

श्री मञ्जुल कुमार सिंह याक्थुम्बा निजामती सेवा तर्फ प्रमुख जिल्ला अधिकारी (उप–सचिव) बाट सेवा निवृत्त हुनु भएको हो । अवकास पछि किरात याक्थुङ चुम्लुङको केन्द्रीय अध्यक्ष, किरात समन्वय समितिको संयोजक तथा किरात इतिहास धर्म संस्कृतिको अध्ययन लेखन कार्यमा समय विताउनु भयो । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १४ तिखेदेवलमा पिता दुर्गाकर्ण फोम्बो याक्थुम्बा र माता शुभलक्ष्मी कुरुम्बाङ याक्थुम्बाको कोखबाट विक्रम संवत् १९९२ जेष्ठ २३ गते बुधवारका दिन जन्मनु भएको हो ।

तेह्रथुम जिल्लाको खाम्लालुङ खेसेरा माङ्गेÞन्ना यक पुख्र्यौली भूमि भएका श्री मञ्जुल कुमार सिंह याक्थुम्बाले जनपदसेवा पदक २०२७, शुभराज्याभिषेक पदक २०३१, प्रबल गोरखा दक्षिणवाहु २०३४, राष्ट्रिय जनमत सङ्ग्रह पदक २०३६, दीर्घसेवापट्ट पदक २०३७, सेवा पदक २०४० र विरेन्द्र–ऐश्वर्य पदक २०५८ जस्ता आधा दर्जनभन्दा बढी अलङ्कार तथा विभूषणहरू प्राप्त गर्नु भएको थियो । राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तर शैक्षिक योग्यता भएका याक्थुम्बा करिब ३८ वर्ष सरकारी सेवामा गरिएका मुख्य कामहरूको विवरण यस प्रकार रहेका छन् ।

(क) वि.स. २०१२ सालमा सरकारी सेवामा प्रवेश,
(ख) वि. स. २०२७ सालदेखि २०३५ सालसम्म नेपाल लोकसेवा आयोगको शाखाअधिकृतमा पदस्थापना,

ग) तत्कालीन कृषि खरिद विक्री संस्थानको राजपत्राङ्कित प्रथम श्रेणीको क्षेत्रीय प्रवन्धकमा १ वर्ष र जाँचबुझ केन्द्र राजदरवारको विशिष्ट श्रेणीको विशेष अधिकृत पदमा रही ३ वर्ष कार्य गर्नु भएको थियो ।

(घ) वि.सं. २०३९ सालदेखि तराईका विभिन्न जिल्लाहरूको प्रमुख जिल्ला अधिकारी भई २०४९ । ०७ । ३० मा सेवा निवृत हुनु भएको हो ।

किरात याकथुङ चुम्लुङ केन्द्रीय अध्यक्ष २०४९–२०६३ रहनु भयो । किरात याक्थुङ चुम्लुङको विशिष्ट संरक्षक सदस्य र वर्तमान केन्द्रीय÷सङ्घीय सल्लाहकार हुनुहुन्थ्यो । किरात याक्थुङ चुम्लुङको अध्यक्ष भई कार्य गरेको समयमा किरात याक्थुङ चुम्लुङले महत्वपूण निर्णयहरू गरेको थियो । जसमा २०४९ सालमा आदिवासी याक्थुङ (लिम्बू) हरूको धर्मको नाम ‘किरात’, २०५२ सालमा लिपीको नाम ‘किरात सिरिजङ्गा लिपी, आदिवासी याक्थुङ (लिम्बु) हरूको राष्ट्रिय पोसाक पुरूषका लागि तागा र महिलाका लागि मेख्ली, राष्ट्रिय बाज के (च्याब्रुङ), राष्ट्रिय फूल सेक्मुरी, राष्ट्रिय जनावर बाघ जस्ता महत्वपूर्ण निर्णयहरू भएका थिए । यति मात्र नभएर उहाँको कार्यकालको अन्तमा कियाचुको छैटौं राष्ट्रिय महाधिवेशन दमक झापामा “लिम्बुहरूको विकास सम्बन्धी एजेण्डा” पारित हुनका साथै सोको आधारमा लिम्बुवान स्वयत्त राज्यको माग अगाडि बढेको थियो । किरात याक्थुङ चुम्लुङको बलिहाङ पुरस्कार २०७८ बाट पुरस्कृत तथा सम्मानित हुनु भयो । उहाँ आवद्ध विभिन्न सामाजिक संस्थाहरू यस प्रकार रहेका छन् ।

(क) आजीवन सदस्य, कर्मचारी परिषद्,
(ख) आजीवन सदस्य, अर्बुद रोग निवारण संस्था,
(ग) सामुदायिक विकास केन्द्र ललितपुर महानगरपालिका वडा नं. १४ तिखेदेवल २०५६–२०६५ सम्म संस्थापक सभापति, सामुदायिक विकास केन्द्रको हाल प्रमुख सल्लाहकार हुनु हुन्थ्यो ।
(घ) संस्थापक, सानोहात्तीवन किरात माङहिम व्यवस्थापन समिति,
(ङ) संस्थापक संयोजक एवम् सल्लाहकार, किरात समन्वय समिति, यलम्बर फाउण्डेशन लगायत विभिन्न संघ संस्थामा आवद्ध रहनु भएको थियो ।
उहाँका प्रकाशित कृतिहरू देहाय बमोजिम रहेका छन् ।
(क) मौलिक किरात धर्म संस्कार (२०६२),
(ख) किरात तीर्थस्थल सानोहात्तीवन (२०६६),
(ग) मुन्धुम र मिथकहरू (२०७०),
(घ) को हुन् किरात र किरात लिम्बू ? के हो युमा धर्म (२०७५) प्रकाशित भएका छन् ।

उहाँको अभिरूची जातीय अस्थित्व संरक्षण एवम् सामाजिक सेवा गर्नु रहेकोे थियो ।

– डा. कमल तिगेलाबाट प्राप्त

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button