उँधौली चासोक् तथा साकेला एक धानमेला – डी.बी. आङ्बुङ लिम्बू

– डी.बी. आङ्बुङ लिम्बू

किरात चाडहरू उँधौली साकेला, चासुवा, फोलष्याँदर र चासोक तङ्नाम् प्रकृतिमा सेताम्मै पैयु“फुल्ने याममा पर्दछन् । धान पाकेर आउने उँभौली चाड साझा धानपर्व पनि हो । यो चाडलाई मौलिक मान्ने आदिवासी लिम्बू, राई, याक्खा र सुनुवारको त मुख्य चाड हो नै । धानको खेती र धानबाट जीवीका चलाउने सबै कृषक तथा मानव सुमुदायको पनि साझा चाड हो ।

सबै आदिवासीहरूको कुनै कुनै अन्न वा फलफूलसँग विशेष सम्बन्ध हुन्छ । उनीहरूको धार्मिक तथा सांस्कृतिक मुल्य-मान्यताहरू ती अन्न र फलफूलसँग गाँसिएका हुन्छन् । त्यसले कालान्तरमा एक चाड वा उत्सवको रुप पनि लिएको हुन्छ ।

यस उँभौली यामलाई सबै किरातहरू लिम्बू, राई, याक्खा र सुनुवार लगायतले आ-आफ्नै धार्मिक तथ सांस्कृति मुल्य -मान्यता अनुसार मनाउँदै आएका छन् । यसमा लिम्बू जातिको चासोक् तङ्नाम र धानसँगको सम्बन्धलाई जोड्दै यस चाडको महत्त्वलाई उजागर गरिने छ । आदिवासी लिम्बूहरूको संस्कार र संस्कृतिसंग यो धान र धानपर्व ‘चासोक् तङ्नाम्’ को सांस्कृतिक सम्बन्ध विशेष अर्थ र महत्त्वको छ । यस अर्थ र महत्त्वको सम्बन्धलाई राम्ररी पर्गेल्न सक्दा यो सवाल सिङ्गो किरात, आदिवासी तथा नेपाली जाति र मानव समुदायकै प्रतिष्ठा र गौरवको विषय बन्न सक्दछ ।

लिम्बूजाति र धानको सम्बन्ध:

धान र धानखेतीको सम्बन्धमा विद्वान गुर्देव एस्. खुश लगायतले यसको भाषा वैज्ञानिक अध्ययन गरेका छन् । भाषावैज्ञानिक आधारले एसिया क्षेत्रमा सबैभन्दा पहिले धानको घरेलुखेती सुरुवात भएको हो । यहाँका धेरै स्थानीय भाषाहरूमा प्रयोग हुने व्यावहारिक शब्दहरू धान, खाना र खेतीकार्यसंग पयार्य छन् ।

अनेक किरात भाषामध्ये लिम्बूभाषाका आधारमा यस्ता शब्दहरूलाई हेर्दा ‘धान’ लाई ‘या?’ भनिन्छ । जुनसुकै अन्नलाई ढिकीमा कुट्नुपरे पनि ‘या?हाक्मा’ धानकुट्नु नै भनिन्छ । चाहे जुनसुकै अन्नलाई जा“तोमा पिस्नु परे पनि ‘या?युःप्मा’ धानपिस्नु नै भनिन्छ । जुनै अन्न बालीमा लाउँदा वा जाँड पकाउन कोदो नै भिजाएर कुट्नलाई ढिकीमा लाउँदा पनि ‘याक्वाकेःप्मा’ धान लाउनु नै भनिन्छ । साथै, अन्न भुट्ने पुरानो माटोको भाँडो (हाँडी) लाई पनि ‘खेःक्या?’ धानभुट्ने नै भनिन्छ । लिम्बूका अनेक संस्कृति धानसंग सम्बन्धित छन् । खेतला बोलाउँदा ‘या?लिक्’ धानको काम गर्न नै बोलाइन्छ, चाहे जेसुकै काम गर्न परोस् । ‘या?नाम्’ बिस्कुन धानकै हुन्छ चाहे त्यो मकै, कोदोकै किन नहोस् । ‘याःन्धा’ मेलापात खेती गर्ने, ‘याःम्बक्’ गर्ने काम, जेसुकै भए पनि ‘या?’ धाननै उपसर्ग भएर जोडिन्छ । धानको दाइ“ गर्ने ‘या?लाःक्’ बाटै लिम्बूको प्रसिद्ध संस्कृति ‘या?लाःङ्’ धाननाच विकसित भएको हो । यसबाट सुदूर अतीतमा धानको खेतीसंगै तिनको संस्कृति निर्माण प्रारम्भ भएको आभाष हुन्छ ।

यसरी नै धानसंग लिम्बूजातिको संस्कार-संस्कृतिको सम्बन्धलाई हेर्दा पनि अन्योन्याश्रित छ । जब कुनै लिम्बू किशोर किशोरी यौवनावस्थामा पुग्छन्, उनीहरूको शीर उठाउनी अनुष्ठान ‘माङ्गेन्ना’ गर्नुपर्दछ । यसको अर्थ अब तिमी जवान भयौ । जवानीसंगै अघि बढ्दा जीवनमा अनेक बाधा-व्यवधानहरू आउन सक्छन् । आँखीडाही लाग्न सक्छ र उचो रहिरहनु पर्ने शीर ढल्न पनि सक्छ । यस्तो नहोस् भन्नका लागि माङ्गेन्ना अनुष्ठान गर्दा एकमाना धानको चामल चाहिन्छ । त्यो शीर उठाउने अन्न हो । त्यो अन्न सो उपकारी व्यक्तिले नै पकाएर खानुपर्दछ । भविष्यको यात्रामा अघि बढ्दा आफ्नो इतिहास र पहिचान पनि थाहा हुनुपर्छ । यसका लागि माङ्गेन्ना अनुष्ठान गर्दा नीजको वंश वा परिवारको ऐतिहासिक गाथा नै सुनाइन्छ ।

उँधौली चासोक् चाड:

लिम्बूजातिले विशेष तीनवटा न्वागी(सोक्)हरू गर्दछन् । यसमा तक्सोक् (अन्न/खानाको न्वागी), थिसोक् (पानी/ जाँडको न्वागी) र फाक्सोक् (पशु/सुङ्गुरको न्वागी) पर्दछन् । यिनीहरू सबै खाने कुरासँगै सम्बद्ध हुने भएकाले समग्रमा यी सबैको न्वागीलाई नै ‘चासोक्’ भनिन्छ ।

चासोक् चाड प्रकृतिमा पैयुँ (उम्भुङ्) फुलेको बेला वा धान पाकेको याम्मा पर्दछ । पहिले, अहिलेको जस्तो तिथिमितिको गणना गर्ने आधार पात्रो थिएन । त्यतिखेर, पुर्खाहरूले यिनै प्रकृतिमा फुल्ने वा पाक्ने फलफूलका सङ्केतका आधारमा कुनै याम् आए-गएको थाहा पाउँदथे । जाडो-गर्मी वा पशुपंक्षीको क्रियाकलाप र आकाशमा देखिने जूनताराको गति तथा आकारको आधारमा समयको गणना वा निर्धारण गर्दथे । पहिले गाउँका स्थानीय परम्परागत सामाजिक संस्थाका विभिन्न नेतृत्व तथा सदस्यहरूको सामूहिक सल्लाहले यस्ता पर्वहरू मान्ने मिति र समयको निर्धारण हुन्थ्यो ।

यसर्थ, सबै गाउँठाउँमा एकैदिन र एकै समयमा यी चाड मान्ने दिनहरू नपर्न पनि सक्दथे । लेक-आउल, तराई-पहाड र हिमालको स्थानीय मौसम अनुसार यी पर्व मान्ने दिनहरू केही तलमाथि पनि हुने गर्दथ्यो । तर, अहिले राज्यको नीति तथा अन्य धेरै कुरा र कारणले यसमा केही बदलाब आएको छ । सम्बद्ध जाति वा समुदाय सबैले एकैदिन र अवसरमा यस्ता चाडबाडहरू मनाउँदा सामूहिकताको भावना विकास गर्नमा सहजता आएको छ । अहिले, चासोक चाडलाई उँधौली मङ्सिरे पूर्णिमाको अवसरमा मान्नुपर्ने आधुनिक संस्थागत निर्णय भएको छ । यस दिन नेपाल सरकारबाट एकदिनसम्म सार्वजनिक विदा पनि हुने गरेको छ ।

चासोक चाड तथा धानको मुन्धुम्:

मानवशास्त्रीय, पूरातात्त्विक तथा वैज्ञानिक अध्ययनको आधारमा पनि दक्षिणपूर्वी एसिया तथा दक्षिणपूर्वी चीन, जापान, थाइल्याण्ड, मलेशिया, भारत र नेपाल हिमालयको सेरोफेरोबाटै धानको पहिचान र खेती भई अन्य मुलुकमा प्रसार भएको पाइन्छ । विद्वानहरू डी. क्यू. फुलर लगायत (सन् २०१०) ले धानको पुरातात्त्विक इतिहासको बारेमा अध्ययन गरेका छन् ।

अध्ययन अनुसार प्रागइतिहासमा यसको खेती दक्षिणपूर्वी चीनको याङ्जे नदी क्षेत्रमा पा“चदेखि छहजार वर्ष पहिले भएको मानिन्छ । धानको प्रागऐतिहासिक उत्पत्ति तथा खेतीक्षेत्र र तिनका नामहरू पनि लिम्बूभाषामा धानलाई भनिने नाम ‘या?’ संगै मिल्दो पाइन्छन् ।

धान र यसको उत्पत्ति तथा उपयोगको बारेमा यस क्षेत्रका विभिन्न आदिवासीहरूमा आ-आफ्नै किसिममा मिथक
(मुन्धुम्)हरू छन् । यसमध्ये, सिचुआन चीनका आदिवासी मिआओ जातिको मिथक र लिम्बू जातिमा प्रचलित धानको बीउ चराले ल्याइदिएको एउटा मुन्धुम् मिल्दो छ । ती मियाउ जातिका पुर्खाहरूले आफ्नो खेतबारीमा छर्ने उचित बीउ नपाएपछि त्यसको खोजीमा एउटा हरियो चरालाई उडाई पठाए । त्यो चरा कुनै उच्च ठाउँमा भएको बीउहुने देवतासंग धानको बीउ मागी लिएर फर्क्यो ।

यता लिम्बूजातिको सन्दर्भमा इतिहासकार शिवकुमार श्रेष्ठले किराती लोककथा सङ्गालो (२०५१:१) मा पनि त्यस्तै मुन्धुम् उल्लेख गरेका छन् । लिम्बूजातिको पुर्खाहरूको दुःखलाई देखेर ‘फेल्येरे फेम्पुना’ नामक चराले धान पाकेपछि पहिले आफूहरूले खान पाउनुपर्ने सर्तगरी कतै उडिगएर घैया र ताक्मारे धानका बीउहरू लिएर आयो । त्यस चराले लिम्बू किरातहरूलाई ती बीउहरू जिम्मा दिएर खेतीपाती गर्ने तरिका पनि सिकाई राखे । पछि, धान पाक्यो । पहिलेको सर्तानुसार पाकेको धान सबै ती चराहरूले हुलका हुल आएर खाइदिन थाले । तीनै चरालाई हा…हा… भन्दै खेदाउन एकापसमा हात समाएर धान माड्दै सामूहिक रुपमा नाच्न थाले । यसैक्रम्मा धाननाच र पालाम (गीत)को सुरुवात भयो ।

चासोक् तङ्नामको मुन्धुम् अनुसार तिबक्को तिअन्लामाङ् का तीन छोरादेवहरू फयङ्गेहाङ, तङ्हाङ र पेनहाङ थिए । तिनलाई पृथ्वीतलमा गएर मानवजातिलाई अन्नको बीउबीजन झारी दिन पठाए । बिहान झुल्के घाममा पूर्वदिशातिर कुनै रुखमा अन्नका बीउका झुप्पाहरू झुण्डिएको देखे । त्यसलाई फेयङ्गेहाङले धनुकाँडको भाटाले हिर्काए । हिर्काउँदा बीउका झुप्पाहरू उच्छिट्टिएर आठभाग दक्षिण र नौ भाग उत्तरतिर गए । बीचमा साङ्घामा लिङ्घामा र ताक्मारु घैयाधान मात्र रह्यो । त्यसलाई बटुली तङ्हाङले सावायेत्हाङ पाङ्भे (याक्थुङ गाउँ) मा लिएर आए । सावा येत्हाङ्हरूका एउटी पाकी ढाड नुहिएकी चेली सिबेरा याक्थुङ्मा (एःक्थुक्किना ?) याभुङ्ग्रे:क्माले खोरिया फाँडेर आगो लगाई भस्मे माटो बनाई राखेकी थिइन् । अन्नका बीउहरू ती महिलालाई दिई ती देवताहरू तिबक्को तिअन्ला तेम्बे भन्ने ठाउँमै फर्केर गए ।

काठको अङ्कुसेको सिङ्काःङ् (कोदालो) बनाई ती महिलाले बीउ छरपोख गरिन् । उम्रेको बीउबाट फलेका अन्न आफ्ना माइतीहरू सबैलाई बाँडिदिइन् । अब सबैले भस्मे फाँडी सो अन्न उमार्न थाले । ती माइतीहरूले पनि आफूले उब्जाएको अन्न खानुअघि तिनै चेली सिबेरा याक्थुङ्मा याभुङ्ग्रेक्मालाई चढाए । बीउबीजन दिने देवता लगायत कुल देवताहरूलाई चढाएर मात्र खान थाले । तब सावा येत्हाङ् (याक्थुङ)का सन्तान् लिम्बू जातिमा चासोक् तङ्नाम चाडको थालनी यसरी भयो । यस्तै नै अरु किरात जातिका पनि उँधौली साकेला, फोलष्याँदर र चासुवा बारेमा आ-आफ्नै मुन्धुम् र मिथकहरू छन् ।

चासोकमा पुजिने देवताहरू:

चसोक् अनुष्ठान घरभित्र र बाहिर कुनै डा“डा पाखामा गरी दुई प्रकारले गर्ने गरिन्छ । यो अनुष्ठान येहाङ्को आठ मुन्धुम अनुसार गृहस्थीसम्बन्धी सेवा पूजाहरू गर्ने फेदाङ्माले सम्पन्न गर्दछन् । व्यवहारमा यो अनुष्ठान पहिले आफ्नो धानबाली पाकेको बेला पारिवारिक रुपमा घरमै गरिन्छ । अलिक पछि विशेष अवसर पारेर गाउँमा सामूहिक रुपमा पनि गर्ने गरिन्छ । सामूहिक रुपमा गर्ने चासोक् पूजा हाल आएर उँधौलीको याम्पारी मङ्सिरे पूर्णिमाको दिनमा देश-विदेशमा मान्ने मनाउने गरिन्छ ।

अहिले चासोक् अनुष्ठानको अवसरलाई एक औपचारिक चाडकै रुपमा मान्ने प्रचलन छ । यो अनुष्ठान गर्दा पुजिने देवताहरूमा ‘युमा साम्माङ’ तागेरा निङ्वाभुमाङ्को प्रतिनिधि मुख्य इष्टदेवी÷बुढीबोजु देवता हुन् । ‘थेबा साम्माङ्’ मुख्य इष्टदेव तथा बुढोबाजे देवता हुन् । ‘मिसेक् साम्माङ्’ आगो देवता तथा ‘कुइकुदाप्/ताप्फेःङ्/ताम्भुङ्ना’चाहिँ वनजङ्गलका देवताहरू हुन् । ‘तक्सङ्बा’ लेकको शिकारी देवता हो । ‘सिरिङ्मा वा मुदेन्हाङ्मा’ उत्तरबाट याक्थुङ गाउँमा प्रवेश गरेकी देवी हुन् । ‘तेन्छामा’ दक्षिणबाट याक्थुङ गाउँमा आएकी देवी हुन् । खन्ज?मा उत्तर-दक्षिण घुमिहिँड्ने देवी हुन् । ‘वज?मा’ एक शक्ति प्रदान गर्ने गुरुदेवी हुन् । ‘वरक्मा वा वारक्मा जलदेवता हुन् । ‘थुङ्दाङ्बा’ सूर्य देवताका प्रतीक हुन् । ‘कासिहाङ्मा’ उनै युमाकी सहयोगी देवी हुन् । र, ‘काप्पोबा हिम्साम्माङ’ घरको रक्षागर्ने बुढो देवता हुन् ।

यी सबै देवी देवताहरूलाई नयाँ अन्नबाली फलाउन सहयोग गरेकोमा उनीहरूको गुनलाई सम्झंदै र सम्मान गर्दै पहिले पाकेको अन्न उनीहरूलाई नै चढाउने अनुष्ठान चासोक् तङ्नाम हो । यिनका साथै, कृषि कार्यमा उपयोग गरिएका सबै सामग्रीहरू हलोजुवा, कुटेकोदालो, खुर्पा र हँसियालाई पनि नयाँ पाकेको अन्न धान चामलको भात टाँसेर वा पर्सेर चढाउने परम्परा छ । यसका साथै, घरको चुलाको आगो, मूलखम्बा र मूल ढोकामा पनि पाकेको अन्नको भात चढाउने गरिन्छ ।

चासोक् चाडको अवसरमा लिम्बूजातिले आफ्नो सामूहिक मिलोमतो वा एकताको अनुष्ठान तङ्सिङ् पनि गर्ने प्रचलन छ । साथै, एकापसमा भएका ननाम्रा कुरा सरापलाई पखालेर बगाई पठाउने मौलिक अनुष्ठान ‘माङ्हुप् माङ्दे’ वा ‘साक्मुरा लुङ्ही’ गालीश्राप बगाउने प्रचलन पनि छ ।

चासोक् चाड एक साझा धानपर्व:

यस उँधौली चासोक् चाडलाई सबै नेपालीहरूले साझा धानपर्वको रुपमा मान्नसके अझ सार्थक हुने देखिन्छ । यसलाई सबै नेपालीहरूले सामूहिक धानपर्वको रुपमा मान्ने वातावरण बनाउन राज्य र सम्बद्ध समुदायबाट पनि पहल हुन आवश्यक छ । नेपाल दिनप्रतिदिन धानखेतीबाट पनि आत्मनिर्भर हुन नसक्ने अवस्थामा पुग्दैछ । स्वदेशमै वेरोजगारीको अभावका कारण गाउँघरदेखि, शहरबजार सबै ठाउँबाट उर्जाशील युवायुवती शक्तिहरू विदेशिनु बाध्य छन् । यसप्रति राज्यले सही नीति तयगरी कदम चाल्न आवश्यक छ । धेरै कलकारखाना र उद्योग धन्दाहरूको विकास हुन नसकेको हाम्रो मुलुकमा कृषिबालीले पनि धान्न नसक्ने अवस्था हुनु धेरै चुनौतीपूर्ण सवाल हो । यो उँधौली चासोक् चाडले त्यसप्रति सम्बद्ध सबैपक्षको ध्यान खिच्नसके यसको सार्थकता रहनेछ ।

यो उँधौली चाड लिम्बू, राई, याक्खा र सुनुवार लगायत सबै किरात जातिको सन्दर्भमा भने धानपर्व पनि हो । धाननाच लिम्बू जातिको कृषिजीवनसंग सम्बद्ध गाथा हो । राई जातिको साकेला लगायत नाच र अनुष्ठानमा पनि धानको महिमा र नाच प्रदर्शन हुन्छ । आधुनिकताको प्रभावले यस्ता नाचहरू पनि लोपोउन्मुख हुँदैछन् ।

धाननाचमा प्रेमी र प्रेमिकाहरूले माया पिरतीको डोरोमा उनिएर सारा जीवन र जगतलाई परिभाषित गरी जीवनको एक सार्थक उचाई ‘चोःत्लुङ्मा’ पुग्न खोजिन्छ । यस किरात राईको उँधौली साकेला, सुनुवारको फोलष्याँदर, याक्खाको चासुवा र लिम्बू जातिको चासोक् तङ्नाम चाडलाई पनि सबै कोणबाट अथ्र्यागउँदै सिङ्गो नेपाली समाज र समुदायलाई नै सही मार्गदर्शन गराउने बाटोतर्फ उन्मुख गराउनु हाम्रो कर्तव्य हो ।

यसलाई सबै किरात, आदिवासी जनजाति, मधेशी तथा नेपालीहरूको साझा धानमेलाको रुपमा स्थापित गर्नसके यसको विशेष महत्त्व हुन्थ्यो । यसरी, कुनै पनि जाति वा समुदायको चाडमा सबै नेपालीहरू रम्न र रमाउन सक्ने वातावरण सिर्जना गर्नु हाम्रो धार्मिक तथा सांस्कृतिक सहिष्णुता र राष्ट्रिय एकताको द्योतक पनि हो ।