बेलायतमा श्रीमतीको ज्यान लिनखोज्दा पूर्व गोर्खा पुगे जेल

लण्डन । आफ्नै पत्नीको ज्यान मार्न खोजेको आरोपमा एक भूपू गोर्खा सैनिकलाई बेलायती अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ। बेलायतको स्वीन्डनमा बस्ने विकास गुरुङले पत्नी कामना गुरुङमाथि गत डिसेम्बरमा खुकुरी प्रहार गरी ज्यान लिन खोजेका थिए।

पूर्व गोर्खा सैनिक विकास गुरुङ र कामना गुरुङले २० वर्षको दाम्पत्य जीवन बिताइसकेका थिए। दुई नाबालक सन्तानका बाबुआमासमेत रहेका उनीहरुको सम्बन्ध ठिकठाक चलिरहेकै थियो।

पतिपत्नी दुवैको अन्य व्यक्तिसँग ‘अफेयर’ का कारण उनीहरुको दाम्पत्य सम्बन्धमा दरार उत्पन्न भएको थियो। आफ्नो श्रीमानको अर्कै महिलासँगको निकटता थाहा पाएकी कामना पनि अर्को पुरुषसँग इन्टरनेटमार्फत् सम्बन्धमा जोडिएको बताइएको छ।

कामनालाई आशंका र अविश्वास बढिरहँदा सम्बन्ध धेरै लम्ब्याउनु उपयुक्त हुँदैन भन्ने लाग्न थाल्यो। निक्कै समयको सोचविचारपछि कामना आफ्नो २० वर्षे दाम्पत्य जीवन टुंग्याउने निष्कर्षमा पुगिन्। १७ वर्षैमा विवाह गरेकी कामनाले ३७ वर्षको उमेरमा पतिबाट सम्बन्ध विच्छेद गर्न चाहिन्।

गत २९ डिसेम्बरका दिन उनी विकासलाई सम्बन्ध अन्त्य गर्ने प्रस्ताव राख्न तयार भएर बसेकी थिइन्। उनीहरुका दुईजना बच्चा स्कुल गएका थिए। जब उनले प्रस्ताव राखिन्, विकास आक्रोशित भए। विकासले कामनाको मोबाइल खोसेर ‘चेक’ गर्न थाले। उनी त्यतिमा मात्र रोकिएनन्, कामनामाथि हातपात गर्न थाले। एकाएक ‘डिभोर्स’ को प्रस्ताव सुनेर रन्थनिएका उनले पत्नीमाथि अन्धाधुन्ध मुक्का प्रहार गरे। विकासको मुक्काले कामनाकोे नाकमा चोट लाग्यो।

विकास त्यसदिन पत्नीमाथि निर्दयतापूर्वक खनिएका थिए। कामनाले पनि आफ्नो बचाउमा कुनै कसर राखिनन्। तर उनको केही जोर चलेन। विकासको रौद्र रुप देखेर कामनाले अन्ततः बेलायतको आपतकालीन प्रहरी सेवा ९९९ मा फोन गरिन्।

फोनमा कामनाको चित्कार गुन्जिएको थियो। उनले फोन अपरेटरसँग आफूलाई पतिले मरणासन्न हुनेगरी कुटपिट गरेको बताइन्। जब विकासले प्रहरीलाई फोन गरेको थाहा पाए, पहिला त उनी अचम्भित भए। त्यसपछि धम्क्याउन थाले। फेरि कुटपिटको श्रृङ्खला सुरु भइसकेको थियो।

कामना विकासको पञ्जाबाट उम्किएर भागिन्। तर उनलाई हातमा खुकुरी बोकेर लखेट्दै आएका विकासले खुकुरी प्रहार गरिरहेका थिए। विकासले अनेकौँ पटक प्रहार गरेको खुकुरीका चोटका कारण उनी भुइँतलामा पुगेर अचेत अवस्थामा रगतको आहालमा ढलिन्।

कामना रक्तमुछेल भएर ढलेपछि विकासले प्रहरीको सोही नम्बरमा फोन गरेर आफूले ‘श्रीमतीको हत्या गरेको’ बताएको बेलायतको डेली मेल पत्रिकाले लेखेको छ।

केहीबेरमै प्रहरी आइपुग्यो। सुरुमा अचेत ढलेकी कामनालाई देखेर ‘स्पेसल कन्स्टेबल’ ले उनको मृत्यु भइसकेको ठानेका थिए। तर सँगैका अर्का प्रहरीले उनी जीवित रहेको भनेपछि तत्काल स्वास्थ्यकर्मीको सहायताले उनलाई अस्पताल लगियो। रगतमा डुबेको आमाको शरीरलाई आठ वर्षीय छोराले समेत देखेका थिए। उनको गर्धन र मुखभरी चोट लागेको थियो। शरीरभरी खुकुरीको चोटैचोट थियो। खुकुरी छेकेका उनका हात छियाछिया थिए।

यो २९ डिसेम्बर २०१६ को घटना थियो। कामना दुई महिना अस्पताल बसेकी थिइन्। घटनाको दश महिनापछि पनि उनले आफू पूर्ण रुपमा स्वस्थ नभएको बताएकी छन्। अस्पतालले उनको हात पूर्ण रुपमा निको नहुने जानकारी दिइसकेको छ।

हालै बेलायती अदालतले ज्यान मार्ने उद्योगमा दोषी घोषित गर्दै विकासलाई १४ वर्षको जेल सजाय सुनाएको छ।

एक महिलासँग आफ्नो प्रेम सम्बन्ध रहेको विकासले अदालतमा पनि स्वीकारेका छन्। उनले अदालतमा आवेशमा आएर घटना घटेको बयान दिएका छन्।

कामनाले अप्रेटरलाई फोन गर्दाको दर्दनाक चित्कार अदालतमा सुनाइएको थियो।

भूपू गोर्खा ब्रिगेडियर ब्रुस ज्याकमनले अदालतमा बयान दिँदै विकासलाई आफूले सधैं पूर्ण इमानदार गोर्खाका रुपमा चिनेको बताएका थिए।

उनीप्रति आफ्नो सधैं सम्मान रहेको भन्दै ब्रुसले इमानदार र निष्ठावान व्यक्ति रहँदारहँदै पनि क्षणिक पागलपनका कारण विभत्स अपराध गरेको बताएका थिए।-नेपाल खबर

38total visits,2visits today