समाचार

एनआरएनएलाई नेपाली नागरिकताले नेपालसँग नजिक ल्याउन मद्दत गर्छ : राष्ट्रपति

काठमाडौँ, ३० असोज : राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था भएबाट उहाँहरुलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को विश्व सम्मेलन तथा ११औँ महाधिवेशनको आज यहाँ उद्घाटन गनुहुँदै राष्ट्रपति पौडेलले नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट एनआरएनको माग सम्बोधन भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “नेपाल सरकारले विभिन्न नीतिगत तथा कानुनी व्यवस्थाको तर्जुमा गरेको छ । संविधान बमोजिम एनआरएनले नेपाली नागरिकता पाउने व्यवस्थाले तपार्इंहरुलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्नेछ भन्ने मेरो विश्वास छ ।”

उहाँले नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने कार्यमा ठोस् योगदान गर्न र विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकताबद्ध गर्न एनआरएनएले विगतदेखि नै भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा समेत नेपालको समग्र विकासमा यसले थप भूमिका निर्वाह गर्नेछ भन्नुभयो ।

“विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली नै हो”, राष्ट्रपति पौडेलले भन्नुभयो, “शान्त, समृद्ध र समुन्नत नेपाल हेर्न र अनुभूत गर्न चाहनुहुन्छ भन्ने तपार्इंहरूको व्यवहार र अभिव्यक्तिले स्पष्ट पारेको छ । यही आत्मियताले देशभित्र र बाहिर बस्ने नेपालीलाई एकताबद्ध गरेको छ भन्ने पनि मलाई लाग्छ । यही पृष्ठभूमिमा आयोजित यो सम्मेलनमा तपाईंहरूद्वारा प्रस्तावित छलफलका विषय र उद्देश्यहरू हामी सबैका लागि सान्दर्भिक ठानेको छु ।”

उहाँले राजनीतिक परिवर्तन पश्चात देश आर्थिक विकासको चरणमा प्रवेश गरेको तर, सङ्क्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौती पनि देखा परेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले राज्यको प्रशासनिक पुनःसंरचना त ग¥यौँ, तर, राज्यको चरित्र र जीवन पद्दतिको पुनःसंरचना अझै हुन बाँकी छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता, सिद्धान्त र दर्शन छन् । जबसम्म ती मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई हामी आत्मसात गर्न सक्दैनौँ तबसम्म ती चुनौतीहरूको सामना गर्न सक्दैनौ ।”

राष्ट्रपति पौडेलले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाको दृष्टिकोणबाट पनि वैभवशाली मुलुक भएको र यहाँको जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, जैविक विविधता विश्वकै लागि अनुपम छन् भन्दै प्रकृति र संस्कृतिको यो अनुपम सगमलाई जोगाउँदै देश र जनताको हित प्रवद्र्धन गर्दै विश्व समुदायमा नेपाल र नेपालीको विशिष्ट पहिचान गराउनु हामी सबैको राष्ट्रिय कर्तव्य भएको बताउनुभयो ।

उहाँले नेपाल बाहिर रहेर जीवनयापन गर्दैगर्दा आफ्ना सन्तानहरूले आफ्नो भाषा, संस्कृति भूल्ने सम्भावना रहने हुँदा त्यसप्रति सचेत हुन एनआरएनलाई आग्रह गर्नुभयो ।

नेपालप्रतिको अपनत्व अभिवृद्धि गर्न र समाजसित अटुट निकटता राख्न नयाँ पुस्तालाई समय समयमा नेपाल ल्याउने र यहाँको संस्कृति, सामाजिक परिवेश तथा भूगोलसँग परिचित गराइराख्न पनि उहाँले एनआरएनएलाई अनुरोध गर्नुभयो । “नेपालमा विश्वप्रसिद्ध सगरमाथालगायत अग्ला र रमणीय पहाड मात्रै छैनन्, एकातिर यहाँ दुर्लभ जैविक विविधता पाइन्छ भने अर्कोतर्फ हिउँले भरिएको पहाड खानेपानीको मुहानको रुपमा परिचित छन् । तर, दुर्भाग्यवस विश्वव्यापी जलवायु परिवर्तनको दुष्प्रभावले गर्दा मूल्यवान् प्राकृतिक स्रोतहरु सङ्कटमा पर्न थालेको छन्”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले आजको चुनौती कसरी जैविक विविधतालाई सुरक्षित राख्न सकिन्छ भन्ने रहेको उल्लेख गर्दै यी क्षेत्रमा पनि गैर आवासीय नेपालीले आफ्नो योगदान कसरी पु¥याउन सक्छ त्यो मेरो पनि चासोको विषय भएका बताउनुभयो । उहाँले नेपालका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल एवम् नेपाली राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रुपमा विकसित गर्ने एउटा योजनातर्फ पनि एनआरएनएको ध्यान आकर्षित गराउनुभयो ।

राष्ट्रपति पौडेलले गैरआवासीय नेपाली विश्वसम्मेलन, ज्ञान सम्मेलन र युवा तथा महिला सम्मेलनले एनआरएनएको एकता र सहकार्यलाई थप सुदृढ र मजबुत बनाउनुको साथै नेपालसँगको सम्बन्ध अझ विस्तार गर्नेमा उहाँको विश्वास छ । उहाँले नेपालको विकास र समृद्धिको बाटोमा एनआरएनएको रणनीतिक साझेदारीलाई थप स्पष्ट र विस्तारित गराउन सम्मेलन उपलब्धिपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button