स्थानीय

घरभन्दा सुन्दर शौचालय बनेपछि दङ्ग छ लहानको दलित समुदाय

लहान (सिरहा), १८ चैतः सिरहाको लहान नगरपालिका–५ स्थित बालुवाटोलका दलित समुदायका शौचालय घरभन्दा सुन्दर बनेपछि सो समुदायका सदस्य दङ्ग छन् ।

गैरसरकारी संस्था वाटर एड नेपालको प्राविधिक सहयोग र लहान नगरपालिका, दलित जनकल्याण युवा क्लब लहान, नेपाल खानेपानी संस्थान लहान शाखाको संयुक्त साझेदारीमा सञ्चालित ‘विकन परियोजना’अन्तर्गत टोलमा चारवटा सामुदायिक शौचालय निर्माण भएका छन् । घर नजिकै शौचालय बनेपछि टोलका करिब डेढ सयभन्दा बढी दलित घरपरिवारका सदस्य दङ्ग छन् ।

खुट्टीखोलाको वारि र पारि दुवै किनारमा मुसहर समुदायको बसोवास छ । त्यहाँ सुविधासम्पन्न अपाङ्गतामैत्री शौचालय बनेको छ । दलितबस्तीका सदस्य विजय सदाय “घरभन्दा राम्रो शौचालय बन्छ भनेर हामीले कल्पाना पनि गरेका थिएनौँ । चर्पी बनेसँगै खुट्टीखोलाको वरिपरि जताततै दिसा–पिसाब गर्ने कार्य रोकिएको छ । यसले वरिपरिको वातावरणमा समेत सुधार आउँदा हामी टोलवासी निकै खुसी छौँ”, भन्नुहुन्छ ।

शौचालय र खोपानीको अभाव देखेपछि आफ्नो क्लबले विकन परियोजनाअन्तर्गत लहानका विभिन्न वडामा रहेका दलित समुदाय र विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता अभियान सञ्चालन गरी समतामूलक समाज निर्माण गर्ने उद्देश्यले गतिविधि सञ्चालन गरिएको दलित जनकल्याण युवा क्लब लहानका अध्यक्ष उमेश विसुङ्केले जानकारी दिनुभयो । उहाँका अनुसार हाल क्लबले २७ वटा विद्यालय र पाँचवटा दलित समुदायमा वडाको समन्वयमा शौचालय मर्मत तथा निर्माण गरिएको छ ।

शौचालय निर्माणपछि सरसफाइ र स्वच्छतासम्बन्धी समुदाय तथा बालबालिकामा परिवर्तन देखापरेको परियोजनाका निर्देशक महेश ढुङ्गानाले बताउनुभयो । स्वच्छ खानेपानी र उचित सरसफाइ व्यक्ति वा वर्गविशेषका लागि मात्र नभई सबैलाई नभई अपरिहार्य भएको भन्दै निर्देशक ढुङ्गानाले लहान नगरपालिकाको २७ वटा सामुदायिक विद्यालयमा चार वर्षमा नौ हजार आठ सय ९९ विद्यार्थी र दुई सय आठ जना शिक्षक शिक्षिका यस परियोजनाबाट लाभान्वित भएका जानकारी दिनुभयो ।

नगरपालिकासँग समन्वय गरी विभिन्न वडाका दलित बस्ती तथा विद्यालयमा खानेपानी र शौचालय निर्माण गरेर विकन परियोजनाले प्रशंसनीय काम गरेको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । उहाँले नगरपालिकाका तर्फबाट उक्त आयोजनाको व्यवस्थापनमा ध्यान दिई दिगोपनाका लागि जोड दिने प्रतिबद्धत व्यक्त गर्नुभयो ।
–––

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button