समाचार

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो ।

एमाले उम्मेदवार नेम्वाङले २७ हजार सात सय ७२ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले ११ हजार चार सय ५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गर्नुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गर्नुभएको छ ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

उपनिर्वाचनः इलाम–२ मा १६ जना उम्मेदवारको जमानत जफत

फिक्कल (इलाम), १८ वैशाखः प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो ।

निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत छ हजार आठ सय ४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र छ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको हो । चौथो स्थानमा रहेका रास्वपाका लिम्बूले पाँच हजार ५० मतमात्र पाउनुभएको थियो ।

जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली हुनुहुन्छ । यसैगरी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा “निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ”, भनिएको छ ।

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ
फिक्कल (इलाम), १८ वैशाख : इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले मतदाताको शिर झुक्ने कुनै पनि काम नगर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेम्बाङले मतदाताको मतलाई शिरोपर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा सांसद नेम्बाङले इलामेली मतदातालाई कुनै प्रकारको सङ्कोच नुहुने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

“म मेरो बुबा (सुवासचन्द्र नेम्बाङ) को अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इलामे जनतालाई कुनै सङ्कोच नहुने गरी काम गर्नेछु,” उहाँले भन्नुभयो, “मलाई निर्वाचित गराउनुभएकामा सम्पूर्ण मतदातामा धन्यवाद ज्ञापन गर्दछु ।”

कार्यक्रममा सांसद नेम्बाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा सांसद महेश बस्नेत, कोशी प्रदेशसभा सदस्य रामबहादुर मगर राना, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button