समाचार

चासाेक थिसाेक तङ्नामकाे तयारी हुँदै

युमा साम्याेले मङ्सिर एक गते मनाउने

१५ नाेभेम्बर, विजयपुर । याक्थुङ समुदाय महान् पर्व एवम् नेपालको राष्ट्रिय पर्व चासाेक थिसाेक तङ्नामकाे अवसर पारेर युमा साम्याे महासभा नेपालकाे आयोजनामा मङ्सिर एक गते (१६ नाेभेम्बर तारिख)का दिन साँस्कृतिक अनुष्ठान सम्पन्न गर्ने भएको छ । धरान-५ कागुनेस्थित सावा येत्हाङ पाङ्भे निर्माणस्थलमा हुन गइरहेको साँस्कृतिक कार्यक्रमकाे अन्तिम तयारी सम्पन्न भएको छ ।

तङ्नामलाई लक्षित गरेर महासभाले स्टेज, अतिथि गृह, स्वागतद्वार, स्टलहरू निर्माण भइरहेको कार्यक्रम संयोजक एवम् महासभाका साँस्कृतिक विभाग प्रमुख गाेपीलाल फेम्साेङ लिवाङले बताए । उनले तङ्नामकाे दिन बिहानै ७ बजेदेखि माैलिक विधिअनुसार पूजा आराधना गरिने बताए । ‘बिहानै फेदाङ्मा, साम्बाहरूकाे उपस्थितिमा युमामाङ लगायत साम्माङहरूकाे पूजा हुनेछ । त्यस्तै, आराधना सकेपछि दिउँसो याक्थुङ सँस्कृति झल्काउने या?लाङ, के:लाङ, येबालाङकाे प्रस्तुति हुनेछ,’ लिवाङले भने । युमा साम्याे महासभाले विगत तीन वर्षदेखि एकरुपता कायम गर्न तिथिमा नभएर मितिका रूपमा प्रत्येक सालकाे मङ्सिर एक गते देश विदेशभर चासाेक पर्व मनाउँदै आएको छ ।

कागुनेमा निर्माणाधीन सावायेत्हाङ पाङ्भेमा गाडिएको चाे?लुङ ।

यसैगरी, कार्यक्रम धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाकाे प्रमुख आतिथ्यमा हुने महासभाका सचिव भीम केदेमले जनाए । उनले सहभागीहरूकाे सुविधाका लागि सदन माविकाे छेउबाट सुलभ दरमा यात्रु बसकाे सुविधा समेत रहेको बताए । ‘बजारबाट चढ्न सहज हाेस् र तुलनात्मक अन्य सवारीभन्दा सुलभ मूल्यमा स्थलसम्म पुर्‍याउने व्यवस्था गरेका छाैँ,’ सचिव केदेमले भने । उनले ५ नम्बर वडा समितिकाे समन्वयमा पाङ्भे जाने बाटोकाे समेत सम्याइएकाे बताए ।सवारी साधन लिँदा धरान बजार(घण्टाघर चाेक)देखि करिब १५-१८ मिनेटको दूरीमा रहेको पाङ्भेमा यतिबेला याक्थुङ हिम निर्माण भइरहेको छ ।

निर्माण भइरहेको याक्थुङ हिम् (घर) ।

महासभाकाे अगुवाइमा र करिब सवा एक कराेड बढीको लगानीमा निर्माण भइरहेको पाङ्भेले याक्थुङ समुदायको मा‌ैलिक सनातनी धर्म, सँस्कृति, रीतिरिवाज, मुन्धुमी अभ्यासकाे प्रदर्शन हुने महासभाले जनाएको छ । जसका लागि सङ्घीय सरकार, देशी विदेशी सहयोगी, शुभेच्छुकहरूबाट आर्थिक सहयोग सङ्कलन भएको छ ।

याक्थुङ समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।

याक्थुङ समुदायकाे जीवनपद्धति अनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।याक्थुङ मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनुअघि आदिम पुर्खा सावा येत्हाङले कन्दमुल काँचै खाएर जीवनयापन गर्दथे । जसले गर्दा उनीहरु कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे ।

यी समस्या समधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभुमाङ/युमामाङसँग प्रार्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरूले पेना माङदःक (कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउबिजन युमामाङले उपलब्ध गराइदिए ।

यसरी धान र अन्नका बीउबिजन पाएपछि याक्थुङ जातिको आदिम पुर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर बीउबिजन रोपी छरी अन्न फलाइन् । यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरु (देवीदेवता)लाई चडाउने प्रचलन बसाले, यसैलाई चासोक (न्वागी) पूजा भनियो ।

मनुष्यलाई खेतीपाती सिकाउने देवीका रुपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू जातिले मान्दछन् । यीनै कथनअनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको पाइन्छ ।

Related Articles

Back to top button