रूसमा सेना पठाउने उत्तर कोरियाली तयारीले सियोल र नेटो चिन्तित
सियोल, ६ असोज (रासस/क्यूएनए):
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटले उत्तर कोरियाले रूसमा सेना पठाउन गरेको तयारी बारे चिन्ता व्यक्त गरेका छन् । दक्षिण कोरियाको समाचार एजेन्सीका अनुसार प्योङयाङ र मस्को बिचको सैन्य सहयोग बारे संयुक्त प्रतिक्रियासहित छलफल गर्न नेटो महासचिव मार्क रुट र युन बीच फोन वार्ता भएको थियो ।
युक्रेनमा रूसको सैन्य कारबाही तथा रूस र उत्तर कोरियाबिचको मामला “इन्डो–प्यासिफिक क्षेत्र र एटलान्टिक क्षेत्रको सुरक्षासँग जोडिएको पुनः एकपटक पुष्टि हुने युनले वार्तामा बताउनु भएको छ ।
जसले अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पारी कोरियाली प्रायद्वीप र विश्वव्यापी शान्ति खतरामा पार्नेसमेत उहाँले उल्लेख गर्नु भएको छ ।
नेटो र यसका सदस्य राष्ट्रहरूसँगको सहकार्यमा यसको प्रतिक्रीया खोज्ने आशा व्यक्त गर्दै युनले दक्षिण कोरियाले प्योङयाङ र मस्कोबिचको सैन्य सहयोगको विरुद्ध सक्रिय रहि “चरणबद्ध उपायहरू“ अवलम्बन गर्ने बताउनु भयो ।
वार्ताका क्रममा रुटले उत्तर कोरियाले रूसमा सेना पठाउँने निश्चित गरेको “गम्भीर चिन्ता“ व्यक्त गर्दै, यो निर्णयले अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसङघीय सुरक्षा परिषद्का प्रस्तावहरूको खुल्लमखुल्ला उल्लङ्घन गरेको बताउनु भएको् छ ।
उहाँले रूस र उत्तर कोरियाबिचको सैन्य सहयोगको जवाफ दिन दक्षिण कोरियालाई सक्रिय रूपमा सहयोग गर्न नेटो तयार रहेको कुरामा जोड दिँदै दक्षिण कोरिया, युक्रेन र नेटोबीच रक्षा सहयोग र सुरक्षा संवादलाई सुदृढ पार्ने आशा व्यक्त गर्नु भएको छ ।
दुवै पक्षले प्रविधिको प्रयोगसहित रुस र उत्तर कोरियाबिचको सहकार्यको घटनाक्रमलाई नजिकबाट निगरानी गर्न र संयुक्त प्रतिक्रिया गर्न सहमत भएका छन् ।
दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसले शुक्रबार उत्तर कोरियाले युद्धमा रूसलाई सहयोग गर्न करिब १२ हजार सेना पठाउने निर्णय गरेको तथा एह हजार ५०० सय सेना रुसको सुदूर पूर्वमा पठाएको जनाएको थियो ।
– – –
रूसमा सेना नपठाएको उत्तर कोरियाको दाबी
उत्तर कोरियाले मस्कोलाई युक्रेनको विरुद्धमा लड्न सेना नपठाएको जनाउदै संयुक्त राष्ट्रसङ्घका लागि उत्तरकोरीयाली प्रतिनिधि किम सङले सियोलको दाबी “आधारहीन “ भएको दाबी गर्नु भएको छ ।
सियोलको जासुसी एजेन्सीले शुक्रबार प्योङयाङले रूसलाई सहयोग गर्ने सेना तैनाथ गरेको तथा एक हजार ५०० सेना रूसमा प्रशिक्षण गराइरहेको जनाएको थियो ।
उहाँले रुससँगको सैन्य सहयोगको आधारहीन विषयमा आफ्नो प्रतिनिधिमण्डलले प्रतिक्रीया दिन आवश्यक महसुस नगरेको संयुक्त राष्ट्रसङ्घीय महासभा समितिको बैठकमा बताउनु भएको छ ।
सियोलको दाबी “उत्तर कोरियाको छवि बिगार्ने तथा सार्वभौम राज्यहरू बिचको मैत्रीपूर्ण र सहयोगी सम्बन्धलाई कमजोर पार्ने उद्देश्यले गरिएकोसमेत उहाँले बैठकमा उल्लेख गर्नु भएको छ ।
विश्वयुद्धपछि उत्तर कोरियाको स्थापना भएदेखि नै प्योङयाङ र मस्को सहयोगी रहँदै आएको र सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि अझ नजिक भई लामो समय देखि किम जोङ–अनले रूसमा हतियार पठाउँदै आएको दाबी सियोल र वासिङ्टनले गर्दै आएका छन् ।
उत्तर कोरियाले भने उक्त सैन्य तैनाती बारे कुनै टिप्पणी गरेको छैन भने रूसले पनि सेना तैनाथ भएको पुष्टि गरेको छैन ।
यद्देपी नेटो र अमेरिकाले पनि सेना तैनातीको पुष्टि गरेका छेन्न, तर दुवैले यसलाई लामो समयदेखि चलिरहेको युक्रेन द्वन्द्वमा सम्भावित खतरा वृद्धिको रूपमा लिएका छन् ।
उत्तर कोरियाले सेना पठाउने तयारी गरिरहेको रिपोर्टहरू आफुले देखेको सुरक्षा परिषदलाई बताउदै यो विषय सत्य भएमा यसले चिन्ताजनक स्थितीको सङकेत गर्ने संयुक्त राष्ट्रसङघका लागि अमेरिकी दूत रोबर्ट वुडले बताउनु भयो ।
सेनालाई तत्काल फिर्ता बोलाउन आग्रह गर्दै दक्षिण कोरियाली सरकारले उत्तर कोरियाको निन्दासमेत गरेको छ ।
उत्तर कोरियाले युक्रेनमा रुसको अवैध आक्रमणका लागि सेना पठाउनु आफ्नो देशका लागि मात्र नभई अन्तर्राष्ट्रिय समुदायका लागिसमेत सुरक्षा खतरा भएको हो सुरक्षा परिषद्ले जनाएको छ ।
दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले सरकारी स्रोतलाई उद्धृत गर्दै सियोलले युक्रेनमा तैनाथ उत्तर कोरियाली सेनाको निगरानी गर्न कर्मचारीहको टोली पठाउने तयारी गरिरहेको जनाएको छ । योन्हापले रूस समर्थक टेलिग्राममा युक्रेनी भूमिमा रूसी र उत्तर कोरियाली झण्डा देखाउँदै फोटो पोस्ट गरेकोसमेत रिपोर्ट गरेको छ ।
– – –