समाचार

अमर नेम्बाङ स्मृति सम्मान बिमला तुम्खेवा र गिरिराज बाँस्कोटालाई

२८ जनवरी, (फेदेन)पान्थर । राजनीतिज्ञ, साहित्यकार एवम् समाजसेवी स्व.अमरकुमार नेम्बाङको नाममा स्थापित संस्था ‘अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठान’ले यस वर्षको साहित्य सम्मान पुरस्कार संयुक्त रुपमा कवि बिमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बाँस्कोटालाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङले संस्थाको आधिकारिक विज्ञप्तिमार्फत यसको जानकारी गराएका छन् ।

 

कवि तुम्खेवा ।

अमर नेम्बाङको पाँचौं स्मृति दिवसमा प्रदान गर्न लागिएको सम्मान पुरस्कारसँगै एकजना जेहेन्दार विद्यार्थीलाई छात्रवृति र आगलागी तथा पहिरोपीडितलाई राहत पनि वितरण गरिने भएको छ । छात्रवृत्तितर्फ श्री ज्योति सेकेण्डरी स्कुल, फाल्गुनन्द-७ बाट दस कक्षामा अध्ययनरत विद्यार्थी प्रेमा लावतीलाई छनौट गरिएको छ ।

पत्रकार बाँस्कोटा ।

गतवर्ष यस पुरस्कारबाट साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा पुरस्कृत भएका थिए । २०७८ मा शारदा सुब्बा र बिना थिङ, २०७७ मा डा.गोविन्दराज भट्टराई र वीर नेम्बाङ, २०७६ मा डा.देवी क्षेत्री दुलाल र मुनाराज शेर्मालाई यो पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रम यही माघ २६ गते, शुक्रबार फिदिम-१ स्थित होटल मनश्वी, बुद्धमार्गमा दिउँसो एक बजे आयोजना हुने जानकारी प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङले दिएका छन् ।

को हुन् अमर नेम्बाङ ?

अमर नेम्बाङ नेपाली साहित्यका एक विशिष्ट स्रष्टा हुन् । उनी पर्यावरणीय लेखनका अभियन्ता थिए । उनको संस्मरणात्मक निबन्धहरूको सँगालो ‘सम्झनाका तरेलीहरू’मा यस लेखनको उत्कृष्ट प्रयोग पाइन्छ ।

उनको सम्झनाको तरेलीसँगै ‘अमेरिका भ्रमणका केही सम्झनाहरू’ (संस्मरण) र ‘एउटा साँझको अवसान’ कविता कृति प्रकाशित छन् । उनका दर्जनौँ लेख, संस्मरण, निबन्ध र कविता अप्रकाशित अवस्थामा छन् । नेम्बाङले पाश्चात्य साहित्यको गहिरो अध्ययन गरेका थिए ।

नेम्बाङको जन्म वि.सं.१९९८ साल श्रावण २३ गते पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवामा बाबु नयेन्द्रराज (नरवीर) नेम्बाङ र आमा श्रीहाङ्मा (थाम्सुहाङ) नेम्बाङको कोखबाट माइला छोराको रूपमा भएको थियो ।

आफ्नै गाउँको सारताप स्कुलबाट अध्ययन सुरु गरेका नेम्बाङले सन्त रोबर्टस उच्चमावि दार्जिलिङबाट १९६१ मा हाइस्कुल पास गरेका थिए र सन्त जोसेफ कलेज नर्थप्वाइन्ट दार्जिलिङबाट १९६६ मा बिए सकेका थिए । १९६९ सालमा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका नेम्बाङ पाँचथरमा लिम्बू समुदायबाट स्नातकोत्तर गर्ने पहिलो व्यक्ति हुन् ।

२०३३ सालमा जनपक्षीय उम्मेदवार भएर चिलिङदेन गाउँको नेतृत्व सम्हालेका नेम्बाङ पटकपटक तत्कालीन पौवासारतापमा नेकाको तर्फबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

नेम्बाङले स्थानीय तहबाट देशभरमा पहिलो पटक मातृभाषा शिक्षा पठनपाठनलाई आधारभूत तथा माध्यमिक विद्यालयमा सञ्चालन गरेका थिए ।

गाँउपालिकाको वडा नं ५ ले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा २०७५ साल माघ २६ गते नेम्बाङको निधन भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button