स्थानीय

तरकारीखेतीमा रमाएका दीपबहादुर

नारायणगढ (चितवन), ४ माघ : जिन्दगीको पचास वसन्त पार गर्दासम्म रत्ननगर–११ जिरौना चितवनका दीपबहादुर थापामगरलाई तरकारीखेती गरेर आम्दानी गर्न सकिन्छ भन्नेमा ध्यान गएको थिएन । आफ्नो ऊर्जाशील समय परम्परागत शैलीमा खेती गर्दै जीवन निर्वाह गर्नुभएका मगरले आम्दानी गर्नका लागि धेरै काम गरे पनि यसअघि सन्तुष्टी नमिलेको बताउनुभयो ।

विसं २०३६ मा धादिङबाट चितवन झरेको मगरको परिवार यहाँ आएर धान र मकैखेती थाल्नुभएको थियो । परम्परागत खेतीबाट वर्षभरि खान र जसोतसो घरखर्च मात्र चल्ने गरेको मगरको भनाइ थियो । “छोराछोरी बढ्दै जान थालेपछि खर्च पनि बढ्न थाल्यो । परम्परागत खेतीबाट जीविकोपार्जन गर्न नसकिने लागेपछि घर वरपरका मानिसले व्यावसायिक तरकारीखेती गरेको देखेर आफू पनि यसप्रति आकर्षित भएको थिएँ”, उहाँले भन्नुभयो ।

विगत पाँच वर्षयता मगरले दुई बिघा क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । आफ्नो १० कठ्ठा र भाडाको डेढ बिघा जमिनमा उहाँले तरकारीखेती गर्नुभएको हो । उहाँले भन्नुभयो, “दुई बिघा क्षेत्रफलमा टमाटर सिमी, काँक्रो, करेला र लौकाको खेती गर्दै आएको छु । गाउँका अरु दाजुभाइ र तराईका जिल्लाबाट पनि यहाँ आएर भाडामा तरकारीखेती गरेको देखेर मैले पनि सुरु गरेको हो ।”

व्यावसायिकरूपमा तरकारीखेती गर्नका लागि कुनै तालिम नलिएको मगरको भनाइ छ । “भाटा बाँध्न, जाल बुन्न, डोरी बाँध्न, सिँचाइ गर्न, दबाई हाल्न, ड्याङ बनाउन अरुको हेरेर मैलै सिकेको हो । मैलै कुनै तालिम लिएको छैन आफँैले हेरेर सिकेको हो”, उहाँले भन्नुभयो ।

भाडाको जग्गामा उहाँले वार्षिक प्रतिकठ्ठा रू चारु हजार तिर्नुहुन्छ । पाँच वर्षको अवधिमा उहाँले कुनै समय निकै राम्रो आम्दानी गर्नुभयो भने कुनै समय बराबरमा चित्त बुझाउनुपरेको बताउनुभयो । उहाँले थप्नुभयो, “परार सालमा राम्रो भाथ्यो लगभग डेढ बिघामा लगाएको तरकारीले रू१७ लाख आम्दानी भएको थियो ।”

यस वर्ष मगरले सिमी र टमाटरमा रू छ लाख लगानी गरेको बताउनुभयो । भनेजस्तो भाउ पाएमा रू छ लाखको लगानीबाट रू १५ लाखनभन्दा बढी आम्दानी गर्न सकिने उहाँले जानकारी दिनुभयो । भाउमा एकरुपता नुहँदा आम्दानी निश्चित नुहने उहाँले गुनासो गर्नुभयो । “तरकारीको भाउ निश्चित हुँदैन, दर घट्ने बढ्ने भइरहन्छ । कहिले ह्वात्तै घट्छ, कहिले बढ्छ । परार सालमा राम्रो भाउ परेको थियो र त्यही आम्दानीले घर बनाएँ ।”

तरकारीखेतीको आम्दानीले घर बनाउनेदेखि छोराछोरीको विवाह गर्ने र विदेश पठाउने काम गरेको मगरले बताउनुभयो । “छोरा र छोरीको बिहे भयो । छोरा, बुहारी र ज्वाइँ विदेशमा छन् । छोरी पनि उतै जाने प्रक्रियामा छन्”, उहाँले भन्नुभयो, “छोरालाई यही केही गरौँ भनेको मानेन बाहिर गयो । हामी बूढाबूढी यही कुटो–कोदालो गरेर बसेका छौँ ।” तरकारीखेती गरेर सन्तुष्ट भइरहँदा छोराछोरीलाई यही रोक्न नसकेकामा मगरलाई त्यती खुसी मिलेको छैन ।

उहाँलाई तरकारीखेती गर्न कामदारको अभाव छैन । नियमितजस्तै पाँच–छ जनालाई उहाँले रोजगारी दिनुभएको छ । निकै मेहनत गरेर उब्जाएको तरकारी बिक्री गर्ने बेलामा भाउ घट्दा मन खिन्न हुने मगरको भनाइ थियो । उहाँले भन्नुभयो, “राम्रो उत्पादन हुन्छ, दुःख गरेर उब्जाएको तरकारीको मूल्य नपाएर फाल्नुपर्दा साह्रै नमज्जा लाग्छ ।”

एक बिघा क्षेत्रफलमा टमाटरखेती गर्दा रू आठ लाखजति लगानी हुने र खर्च कटाएर रू १० लाखभन्दा बढी आम्दानी गर्न सकिने कृषक मगरले जानकारी दिनुभयो । क्रेटको रू पाँच सयमात्रै भाउ भएमा टमाटरमा घाटा नपर्ने उहाँको भनाइ थियो ।

Related Articles

Leave a Reply

Back to top button