आदिवासीसमाचार

प्रदेश नम्बर एक पुनः नामाङ्कन सङ्घर्ष समितिको बैठक सुरु

आन्दोलनको स्वरूप बदल्ने सङ्केत

१० जनवरी, विजयपुर । ‘काेशी’ नामकरणविरूद्ध प्रदेश नम्बर एक पुनः नामाङ्कन संयुक्त संघर्ष समितिकाे बैठक धरानमा सुरु भएको छ । विगतको आन्दोलनको समीक्षासँगै स्वरुप परिवर्तन गर्ने विषयमा समेत छलफल सुरु भएको छ ।

बिहीबार र शुक्रबार धरानको चुम्लुङ हिममा हुने बैठकले १० महिने आन्दोलनको समीक्षा र सुझाव संकलन गर्नेछ । साथै, फागुन २७ मा निर्मित आचारसंहिता, असार २ र ३ मा प्रस्तुत अवधारणा पत्र, प्रतिबद्धता पत्र र रणनीतिक याेजनाबारे छलफल हुनेछ ।

आन्दोलनको स्वरूप परिवर्तन गर्ने सवालमा घटकहरूबीच सघन छलफल भइरहेको जनता समाजवादी पार्टीका नेता जेन्टल लाओतीले बताए । उनले जिल्ला तथा पालिकास्तरमा जनजागरण अभियान, प्रशिक्षण ब्रुसर लेखन प्रकाशन, सङ्गठन निर्माण सञ्चालन हुने बताए । त्यस्तै, १४ जिल्लामा ‘काेशी’ नाम हटाउने, मेटाउने, लेटरप्याड र छाप चलाउन राेक लगाउने अभियान जारी रहनेछ ।

त्यसैगरी, आगामी फागुन १७ गतेलाई कालाे दिन घाेषणा गरेर विभिन्न कार्यक्रमहरू तय गर्ने समेत सङ्घर्ष समितिले जनाएको छ । समितिमा किरात याक्थुङ चुम्लुङ, किरात राई यायाेक्खा, नेपाल शेर्पा सङ्घ, नेपाल आदिवासी जनजाति महासङ्घ, पहिचानसहितको प्रदेश नम्बर एक पुनः नामाङ्कन अभियान समितिहरू घटक रहेका छन् । आन्दोलनमा विभिन्न राजनीतिक दलहरूकाेे समेत सहभागिता रहेको छ ।

गत २०७९ फागुन १७ गते प्रदेश नम्बर एककाे संसदले बहुमतकाे हवाला दिँदै ८२ सांसदकाे समर्थनमा ‘काेशी’ नामकरण गरेको थियो । प्रदेशमा ९३ सांसद छन् । आन्दोलनका क्रममा चैत ५ गते प्रदेश राजधानी विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका लिम्बुवान भाेलेन्टियर्सका उपकमान्डर पदम लिम्बु ‘लाजेहाङ’ काे चैत १० गते निधन भएको थियोे । उनलाई पछि नेपाल सरकारकाे मन्त्रिपरिषदले राष्ट्रिय सहिद घाेषणा गरेको थियोे । हालसम्म अढाई सय बढी घाइते तथा पक्राउ परेको सङ्घर्ष समितिले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button