साहित्य महासंघ युके पश्चिमा शाखाको अधिवेशनबाट गोमा राना सर्वसम्मत, तीन कृति विमोचित

स्विन्डन (बेलायत), ५ सेप्टेम्बर २०२६। बेलायतको स्विन्डनस्थित द रनर रेस्टुरेन्टमा शनिबार साहित्य गोष्ठी, तीन कृतिको सामूहिक विमोचन तथा संस्थाको अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष लाल सुन्दर राईको अध्यक्षतामा सम्पन्न पहिलो सत्रमा प्रमुख अतिथि डा. मुलिबीर राई, विशेष अतिथि विश्वासदीप तिगेला तथा संरक्षक डा. सुमाया राईको उपस्थिति रहेको थियो। अतिथि तथा सहभागीहरूको स्वागत, दिवंगत व्यक्तिहरूप्रति मौनधारण तथा वरिष्ठ उपाध्यक्ष गोमा रानाको स्वागत मन्तव्यसँगै कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो।

कार्यक्रममा डा. सुमाया राईको ‘जिन्दगी फूल सम्झे फूलै हो’, शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ तथा सेमन्त सेमन्त राईको ‘अँधेरीमा जून’ गरी तीन कृतिको सामूहिक विमोचन गरिएको थियो।
विमोचित कृतिमध्ये डा. सुमाया राईको पुस्तकमाथि नरेश कामबाङ राई, शान्ति लिम्बुको पुस्तकमाथि विश्वासदीप तिगेला तथा सेमन्त सेमन्त राईको कृतिमाथि मुकेश राईले समीक्षा प्रस्तुत गरेका थिए। समीक्षापछि तीनै लेखकले आ–आफ्ना कृतिबारे मन्तव्य राखेका थिए।
पहिलो सत्रमा कार्यसमितिको कार्यप्रगति तथा निर्णयहरूको समीक्षा गर्नुका साथै वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल र अनुमोदन गरिएको थियो।
समय उपलब्ध भएपछि केही सहभागीहरूले आफ्ना साहित्यिक रचना पनि वाचन गरेका थिए। कार्यक्रम सञ्चालन सचिव जीत बुढाथोकी र गंगा भण्डारीले गरेका थिए। प्रमुख अतिथिको मन्तव्य तथा सभाध्यक्षको समापन सम्बोधनसँगै पहिलो सत्र सम्पन्न भएको थियो।
दोस्रो सत्रअन्तर्गत संस्थाको अधिवेशन तथा निर्वाचन प्रक्रिया सञ्चालन गरिएको थियो। निर्वाचन प्रमुख विश्वासदीप तिगेलाको अध्यक्षतामा आयोजित निर्वाचन कार्यक्रम सचिव मुकेश राईले सञ्चालन गरेका थिए। निर्वाचन समितिले आवश्यक प्रक्रिया पूरा गरी नयाँ कार्यसमितिको घोषणा गरेको थियो।
अधिवेशनबाट गोमा राना सर्वसम्मत अध्यक्ष चयन भएकी छन्। नवनिर्वाचित कार्यसमितिमा शान्ति लिम्बु वरिष्ठ उपाध्यक्ष, जीत बुढाथोकी उपाध्यक्ष, गंगा भण्डारी सचिव र राजेन्द्र राई कोषाध्यक्ष चयन भएका छन्। त्यसैगरी हेम राई, कमला गुरुङ, रोजी राई, प्रिन्स राई, अन्जान किरात र होमा लिम्बू सदस्यमा चयन भएका छन्। संस्थाको संरक्षकमा डा. सुमाया राई रहनुभएको छ।
शपथ ग्रहणपछि नवनिर्वाचित पदाधिकारीहरूले संस्थाका साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई अझ सशक्त बनाउँदै बेलायतमा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। धन्यवाद ज्ञापनसँगै अधिवेशन समापन भएको घोषणा गरिएको थियो।
कार्यक्रममा मगर संघ युकेका उपाध्यक्ष विष्णु श्रीस मगर, किरात राई यायोक्खा स्विन्डन शाखाका अध्यक्ष कल्पना राई, रघु भण्डारी, होम किरात सुनुवार, सुनीता राई, तयाहाङ्ना राई, सीमा राई, झेलम राई, मनु पाईजा, रुद्र पाईजा, रिता राई, भोला विक्रम राईलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्यकार तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।




