समाचार

सुनसरी घटनाः सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

काठमाडौैँ, १५ साउनः सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा सरकारबीच सातबुँदे सम्झौता भएको छ ।

सम्झौताअनुसार सरकारले मृतकद्वयलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रतिपरिवार रु १० लाख राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिने छ । देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियतका सम्बन्धमा तत्काल छानबिन थालिने भएको छ ।

सम्झौताअनुसार दुवै मृतकका परिवारका योग्य एक–एक जना सदस्यलाई रोजगारीको व्यवस्था गरिने छ भने छानबिन समितिको सुझावका आधारमा मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति उद्यान निर्माण गरिने छ ।

सम्झौतापत्रमा मृतकका परिवारका प्रतिनिधि र सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गर्नुभएको छ । सरकारले गरेका प्रतिबद्धता समयमै कार्यान्वयन गर्ने विश्वास पीडित परिवारले व्यक्त गरेका छन् भने सरकारका तर्फबाट सम्झौतामा उल्लिखित सबै बुँदा चरणबद्ध रूपमा कार्यान्वयन गरिने जनाइएको छ । मेहताद्वयको आजै अन्त्येष्टि गरिनेछ ।

Related Articles

Back to top button