भौगोलिक टाढा, मानसिक रूपमा नजिक मेरो विचार


लण्डन १० जुन। भौगोलिक दूरीले टाढा भए पनि भावना, विचार र मनका हिसाबले वेल्सका महानुभावहरूसँग निकै नजिक भएको अनुभूति भयो। वेल्स जाने दिन अलिक अध्यारो थियो घामको दर्शन कम नै थियो। विस्वास भाई प्रमिला बहिनी र म मिठो कुराकनी गर्दै बाटो काटियो। पछाडी बसेर मनको भाव कोर्दै:
”पानी पर्यो झरि पर्यो बाटो नै अध्यारो भयो
प्रकृतिको नियम मान्छेले के नै छेक्थ्यो र
घामको प्रतिक्षामा मिठो आस गर्दा गर्दै
पानी बस्यो, झरी रोक्यो, प्रकृति संग मनै उज्यालो भयो।”
क्या.क्रिउ विस्व भाईलाई धेरै धेरै साधुबाद।
४ जुन २०२६, शनिबारका दिन बेलायतको वेल्सस्थित कुम्ब्रानमा ‘नेपाली समुदाय र पत्रकारबीच समन्वयात्मक सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवी महानुभावहरू तथा विभिन्न क्षेत्रका सहभागी साथीहरूसँग भेटघाट गर्ने सुअवसर प्राप्त भयो। यो भेट केवल औपचारिक परिचयमा सीमित रहेन। आपसी मैत्री सम्बन्ध अझ प्रगाढ, सुमधुर र बलियो बनाउने अवसरका रूपमा परिणत भयो। विचार आदान–प्रदान, अनुभव साझेदारी र भविष्यमा सहकार्यका सम्भावनाबारे खुला छलफल भयो। यद्यपि, यसलाई संगठनात्मक वा व्यक्तिगत रूपमा कति निरन्तरता दिन सकिन्छ भन्ने कुरा भविष्यले नै देखाउनेछ। तर आधुनिक डिजिटल माध्यमले यस सम्बन्धलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास छ।
‘नेपाली समुदाय र पत्रकारबीच समन्वयात्मक सम्बन्ध’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर पत्रकार महासंघले एउटा ऐतिहासिक प्रयास गरेको अनुभूति भएको छ। भर्चुअल माध्यमबाट सम्बन्ध स्थापित गर्नु र प्रत्यक्ष भेटघाटबाट सम्बन्धलाई अझ मजबुत बनाउनु बिच ठूलो अन्तर हुँदो रहेछ। प्रत्यक्ष भेटले आत्मीयता, विश्वास र समझदारीलाई अझ गहिरो र विस्वासिलो बनाउँछ भन्ने कुरा यस कार्यक्रममा सहभागी हुँदा महसुस गर्न पाइयो।

कार्यक्रमको पहिलो दिन औपचारिक कार्यक्रम अघि नै मिठो भोजन गर्दै अनौपचारिक कुराकानी गर्ने अवसर मिल्यो। ब्यस्तताको बाबजुद मिठो भोजन तयार गरिदिनु भएकोमा धन थोक्लिहाङ र परिवारलाई मुरीमुरी धन्यबाद छ।
कार्यक्रम पस्चात ‘नेपाली भिलेज’ ब्रेकन तर्फ प्रस्थान गर्यौं। नेपाली भिलेज यूके’का प्रबन्ध निर्देशक मेजर खुशीमान गुरुङ (एमभीओ) अनि मन्जु दिदीले हाम्रो टिमलाई स्वागत गर्न प्रतिक्षा गरिरहनु भएको थियो। नेपाल, आफ्नो प्राकृतिक सौन्दर्य, गौतम बुद्धको जन्मभूमि, सर्वोच्च शिखर सगरमाथा र वीर गोर्खालीहरूको वीरगाथाले विश्वभरि एक विशिष्ट पहिचान बनाएको मुलुक भएकोले, यही मौलिक नेपाली पहिचान, संस्कृति र परम्परालाई बेलायतको वेल्समा जीवन्त राख्ने उद्देश्यका साथ ‘नेपाली भिलेज यूके’को परिकल्पना गरिएको थियो। ‘नेपाली भिलेज यूके’का प्रबन्ध निर्देशक मेजर गुरुङका अनुसार यो कुनै एक व्यक्ति, संस्था, जात, धर्म वा क्षेत्रविशेषको परियोजना नभई सम्पूर्ण नेपालीहरूको साझा सपना हो भन्नु भएको छ।
त्यहांको दृश्य अवलोकन पस्चात प्रकाश भाई-बहिनीको सुन्दर घरमा रात्रि भोजको अवसरले एक अर्कालाई नजिकबाट चिन्ने, विचार साटासाट गर्ने र आत्मीय सम्बन्ध निर्माण गर्ने वातावरण सिर्जना भयो। संजोग त प्रकाश भाईको जन्म दिन परेको रहेछ। शुभकामना दिने अवसर पनि मिल्यो। दिउंसोको खाना प्रबन्ध र बेलुकि खानाको बन्दोबस्त गर्नु हुने दुबैको जन्म दिन केक खान जुरेको रहेछ। खै किन हो कुन्नि म जहां गए पनि खाना खान जुरेको हुन्छ, वास्तवमै भन्ने हो भने कहिले काहिं त निकै अप्ठ्यारो लाग्छ। आफुहरुले खाने बेलामा टुपलुक्क पुगेपछि बांड्नु परिहाल्यो नि? जे होस् भाग्यमानी नै ठान्दछु। स्वादिष्ट खानापान संग प्रकाश भाईको हसाउने कला नेवार दाईको बोल्ने शैलीलाई हुबहु नक्कल गरेर सबैजनालाई पेट मिचि मिचि हसाउन सफल हुनु भएको थियो। मलाई भने कता कता मलाई नै जिस्क्याएको पो हो कि जस्तो पनि लाग्यो कारण मेरो जिव्रोमा मगर र नेवारी भाषाको लय गडि सकेको छ। तर त्यो त हाम्रो बिषेशता पहिचान भएकोले सहज रुप लिनुपर्छ। प्रकाश बहिनी र नानीहरुलाई धेरै धेरै धन्यबाद।
रात पनि निकै छिप्पी सकेकोले रमाईलो माहोललाई बिदा गरि हामी कार्डीफ् तिर लाग्यौं जहां हामी एक रातको लागि हाम्रो घर जिवनभरको लागि स्मरणीय स्थल बनाएका थियौं। कुरा गर्दा गर्दै बिहानको झन्डै ४ बजेतिर आ-आफ्नो कोठातिर लाग्यौं।
भोलिपल्ट बिहान सबेरै उठ्ने बानी भएका साथीहरुले जो बिहान अबेला सुति राख्नेलाई आराम दिने कुरै भएन। आखिर हामीहरुको आ-आफ्नै बानी हुन्छ। पहिले पहिले बुहारी चांडै उठेर घर लिपपोत गर्नु पर्थ्यो अहिले त आफ्नै अनुहार लिपपोत गरे भयो।
चिया नास्ता पछि कार्डिफ् शहर घुम्न निस्क्यौं। शहर आफैमा सुन्दर र अतुलनिय मनोरम। शहरका सर मेडमहरुसंग भेट भएर भलाकुसारी गर्दै डा.विकास रानाभाट ज्युले हामीलाई त्यो शहर, कार्डिफ् बे साथै अन्य महत्वपुर्ण ऐतिहासिक रोचक जानकारी दिनु भए पछि त्यहांका मुख्य मुख्य ठाउंहरुमा घुम्दै मनोरम दृश्यहरु क्यामरामा कैद गर्दै खाना खान तर्फ लाग्यौं।
हामी नेपालीहरु नेपालमा मात्र सिमित छैनौं। संसारको बिभिन्न शहरमा बसोबास, ब्यपार ब्यबसाय, काम गरेर राम्रोसंग स्थापित भई सकेका छौ र यो खुशीको बिषय हो।
कार्डिफ् 29 Park Pl मा बेस क्याम ईन्डियन किचन (Base Camp Indian Kitchen) रेष्टुरेन्ट खोलेर मुक्ति रामज्युले अत्यन्तै स्तरिय ढंगले सन्चालन गर्नु भएकोले प्रशंसनिय रहेछ। खाना असाध्यै स्वदिष्ट मुखमै झुन्डिने थियो। त्यहांको आलु तरकारी खानु त त्यहिं नै जानुपर्छ। उहां र टिमलाई नै बधाई तथा शुभकमना छ।
यसरी दुई दिने कार्यक्रम, समय बितेको पत्तै भएन। भनिन्छ नि सुखका दिन छोटो हुन्छ त्यस्तै नै भयो। त्यहां बिभिन्न पृष्ठभूमिबाट आएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको आत्मीय व्यवहार र सहयोगी भावना साँच्चिकै प्रशंसनीय लाग्यो।
पत्रकार महासंघ बेलायत शाखा र वेल्सका नेपाली समुदाय बिच समन्वयात्मक अन्तरकृया कार्यक्रममा पत्रकारिता, समुदायका समस्या, अवसर तथा प्रवासमा नेपाली पहिचान जोगाउने विषयमा गहन छलफल भएको थियो। सहभागीहरूको सक्रियता र सकारात्मक सोचले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो। वेल्समा रहेका नेपाली समुदायको एकता, सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको माया देख्दा गर्वको अनुभूति भयो।
पत्रकार महासंघ बेलायत शाखाकी अध्यक्ष बिमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत र वहांको धरम पत्नी विनिता बहिनी, उपाध्यक्ष प्रमिला लाबुङ राई, महासचिव खेमराज रानाभाट, संस्थापक अध्यक्ष नविन पोखरेल, सचिव विस्वासदिप तिगेला, फोनिज (आदिवासी जनजाति पत्रकार महासंघ) का अध्यक्ष बम थापा सर्यबंशी र निबर्तमान अध्यक्ष गोमा राना सहित ९ जनाको टोली गएका थियौं।
वेल्सको कार्यक्रम समाप्तिपछि भौगोलिक रूपमा आ–आफ्नो गन्तव्यतर्फ फर्किए पनि मन, भावना र सम्झनाले भने सबैलाई नजिकै राखेको छ। छोटो भेटघाटले लामो समयसम्म स्मरणीय रहने सम्बन्धको आधार तयार गरेको महसुस भएको छ।
अन्त्यमा, कार्यक्रम सफल बनाउन योगदान पुर्याउने आयोजक संस्था, सहभागी महानुभावहरू तथा सम्पूर्ण सहयोगीहरूलाई हार्दिक धन्यवाद । भौगोलिक दूरी जति टाढा भए पनि मन र भावनाको दूरी भने कहिल्यै टाढा नहोस् । अवस्य पनि सामाजिक सन्जाल मार्फत नियमित भेट हुनेछ। भविस्यमा प्रत्यक्ष भेट होस् भन्ने कामना पनि गर्दछु।
Photo credit: Narendra Basnet



